आयल निगममा सिण्डिकेट तोडियो, नयाँ पम्पको लाइसेन्स खोल्दै आयल निगम

nepal-oil-nigam-2-
लाेकपाटी न्यूज

काठमाडौं, १५ वैशाख । आयल निगमले पेट्रोल र डिजेल बिक्री गर्ने नयाँ पम्पको लाइसेन्स खुला गर्ने भएको छ । पेट्रोलपम्प सञ्चालनसम्बन्धी बिक्रेता विनियमावली संशोधन गरेर कर्णाली प्रदेश र नयाँ खुलेका राजमार्गलाई लक्षित गरी पम्प सञ्चालनको लाइसेन्स दिन लागिएको हो ।

हाल आयल निगमका देशभर १ हजार ४ सय ८० पम्प सञ्चालनमा छन् । निगमले पम्प लाइसेन्स वितरणलाई सहज पार्ने गरी विनियमावली संशोधन गरेको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतले तोकिएको मापदण्ड पूरा गरेर पम्प सञ्चालन गर्न खोज्ने सबैलाई लाइसेन्स दिन लागेको बताए । उनले १–२ दिनमै नयाँ पम्पको लाइसेन्सका लागि आवेदन खुलाने बताए।

पुरानो विनियमावलीमा देखिएको केही विकृत प्रावधान सुधार गरेर नयाँ ल्याइएको निगमले जनाएको छ । निगममा नयाँ नेतृत्व आएपछि पम्पको लाइसेन्स खुला गरेर मोटो रकम असुल्ने विकृति थियो । अब भने त्यसको अन्त्य हुने निगमको दाबी छ ।

निगममा नयाँ कार्यकारी निर्देशक सुरेन्द्र पौडेल आएपछि भने विनियमाली संशोधन गरेर लाइसेन्स वितरणमा दिगो विधि विकास गरिएको प्रवक्ता गोइतले जानकारी दिए । उनका अनुसार अबदेखि ३–३ वर्षमा लाइसेन्स खुला हुनेछ । उनले अब लाइसेन्स खुलाउने विषय व्यक्तिका रुचिमा निर्भर नहुने र ३–३ वर्षमा नयाँ लाइसेन्स खुलाउने विधिले पारदर्शिता बढ्ने बताए।

देशभर इन्धन उपलब्ध गराउने वितरण विभागका प्रमूख रहेका गोइतले नागरिकको समस्या बुझेर विनियमावलीमा धेरै सुधार गरिएको दाबी गरे । मुलुकभर पेट्रोलियम पदार्थको खपत बढ्दो छ । त्यसकारण पनि पम्प संख्या थप्नुपर्ने बाध्यता छ । हाल दैनिक १५ लाख लिटर पेट्रोल र ४८ लाख लिटर डिजेल खपत हुँदै आएको पेट्रोलियम व्यवसायीको तथ्यांक छ ।

सीमाक्षेत्रमा पम्प खोल्न रोक
नेपालमा तेल सस्तो भएका वेला भारतीय सवारीसाधनले नेपाली पम्पमा तेल भरेर लैजाने गरेका छन् । यसलाई न्यूनीकरण गर्न भारतीय सीमाक्षेत्रबाट कम्तीमा २ किलोमिटर टाढा मात्र पम्प सञ्चालन गर्न पाउने नयाँ व्यवस्था छ । त्यस्तै पूर्व–पश्चिम राजमार्गबाहेकका क्षेत्रमा बीचमा ३ सय मिटर टाढाको दूरीमा पम्प खोल्न दिने व्यवस्था छ । यो व्यवस्थाले पम्पको संख्या बढ्नेछ । यसअघि दुई पम्पबीचको दूरी कम्तीमा ५ सय मिटर हुनुपर्ने प्रावधान थियो । नमुना पम्पबीचको दूरी भने १० किलोमिटर हुनुपर्ने व्यवस्था छ ।

निगमले दुई वर्षअघिबाट परिकल्पना गरेको नमुना पम्पका लागि भने बाह्रै महिना आवेदन खुला गर्ने व्यवस्था गरेको बताएका छ । यस्तो पम्पका लागि तराई र भित्री मधेसका जिल्लाहरू उदयपुर, चितवन, मकवानपुर, सिन्धुली र दाङमा एक बिघा जग्गा र हिमाली–पहाडी क्षेत्रमा पाँच रोपनी जग्गा हुनुपर्ने मापदण्ड छ । राजमार्गबाट ५ मिटरभित्र पम्प खोल्ने भए १० मिटर चौडाइ भएको बाटोको पहुँच हुनुपर्ने बताइएको छ ।

यस्तो पम्प विद्युत्का भरमा मात्र सञ्चालन गर्न नपाइने व्यवस्था छ । सौर्य ऊर्जा वा ब्याट्री ब्याकअपसहित २४सैँ घन्टा खुला हुनुपर्नेछ । नमुना पम्पमा तेल भर्ने डिस्पेन्सिङ पम्प पुरानो जडान गर्न पाइँदैन । ४ वटा पेट्रोल र ४ वटा डिजेल दिने नयाँ डिस्पेन्सिङ पम्प हुनुपर्नेछ ।

पम्पको लाइसेन्समा सबैको पहुँच
विगतमा निगम व्यवस्थापनले निश्चित कोटामा पम्पको लाइसेन्स वितरण गर्ने सूचना प्रकाशित गथ्र्यो । यस्तो सूचनामा पुराना पम्प व्यवसायीले आवेदन हाल्ने र मोलमोलाइका आधारमा उनीहरूले मात्र सञ्चालनको अनुमति पाउने गरेका थिए । यसपटकदेखि सर्वसाधारण सबैले आवेदन दिन सक्ने व्यवस्था छ । विनियमावलीअनुसार लाइसेन्सका लागि आवेदन दिन सुरुमा तोकिएको पूर्वाधार देखाएर निगमलाई पत्र लेख्नुपर्छ । निगमले सबै पूर्वाधार हेरेर पम्प सञ्चालन हुन सक्ने ठहर गरेपछि मात्र कम्पनी दर्तालगायतको प्रक्रियामा जाने प्रावधान छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्