हुम्लामा महामारी : ९ जनाको गयो ज्यान

images_cms-image-000073312
लाेकपाटी न्यूज

काठमाडौं, १५ वैशाख । मौसमी रुघाखोकीका कारण ९ जनाको ज्यान गएको हुम्लाको ताजाकोटमा बल्ल विशेषज्ञसहितको चिकित्सक टोली पुगेको छ।

प्रभावित गाउँमा सुर्खेतबाट हेलिकोप्टरमा औषधीसहितको चिकित्सक टोली आइतबार बिहान पुगेको हो। हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हरि खड्काका अनुसार तीन डाक्टरसहितको टोली सेनाको हेलिकोप्टरबाट बिहान ताजाकोट ल्यान्ड गरेको हो।

उनका अनुसार प्रदेश सरकारको समन्वयमा चिकित्सक टोली प्रभावित स्थल पठाइएको हो। चैत २६ यता फैलिएको महामारीले ताजाकोटका विभिन्न वडामा गरी ९ जनाको मृत्यु भइसकेको छ भने २ सय ५० भन्दा बढी बिरामी छन्।

रुघाखोकीबाट स्थानीय ७५ वर्षीया कुसुकली रिठालको चैत २६ गते मृत्यु भएको थियो। त्यसयता ६० वर्षीय सुरजित खड्का, ५५ वर्षीय वीरबल रिठाल, ५५ वर्षीय रङ्गे काली, ५ वर्षीया सुनकेस्रा सुनार र ७० वर्षीया अम्मकली मल्लको मृत्यु भएको हो। यस्तै ५५ वर्षीय लक्ष्य सुनार, ७६ वर्षीय बज्जिरे सुनार, १० महिनाका सञ्जीव थापाको मृत्यु भएको हो । बिरामीमा टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने लक्षण देखिने र अन्त्यमा मृत्यु हुने गरेको छ।

रोग के हो भन्ने पहिचान भइसकेको छैन। अब चिकित्सक टोलीले अनुसन्धान गरेर पत्ता लगाउने हुम्लाका प्रमूख जिल्ला अधिकारी ढोलकराज ढकालले जानकारी दिए।

तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वाइन फ्लु फैलिएको अनुमान गरेको छ। तीन सातादेखि रुघाखोकीको महामारी फैलिए पनि बिरामीले औषधी उपचार पाएका थिएनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्