काठमाडौं । सन् २०१८ को एक सर्वेक्षण अनुसार नेपाल सबभन्दा कम सकारात्मक अनुभवहरू भएका मानिसहरू रहेका देशमध्ये छैटौँ नम्बरमा परेको छ ।
मानिसका भावनाहरुबारे खोज गर्ने गलअप ग्लोबल रिपोर्टका अनुसार नेपाल चिन्तित, असन्तुष्ट र रिसाहा अथवा कम सकारात्मक अनुभव भएका मानिसहरु रहेको छैटौं देशको रुपमा परेको हो ।
१४० भन्दा बढी देशहरुमा करिब १ लाख ५१ हजार मानिसहरुमाथि गरिएको साक्षात्कार अनुसार यो रिपोर्ट तयार पारिएको हो । इन्टरभ्युका क्रममा के तपाईंले हिजोको दिन सन्तुष्ट तरिकाले बिताउनु भयो ? तपाईंले हिजो कति चिन्ता लिनुभयो ? कति दुखी हुनुभयो ? जस्ता प्रश्नहरु सोधिएका थिए ।

सो क्रममा सबैभन्दा धेरै असन्तुष्ट रहेकामा अर्थात भावनात्मक रुपमा सबैभन्दा पीडित मानिस रहेको देशको रुपमा चाड रहेको छ । त्यसपछि दोस्रो नम्बरमा नाइजर, तेस्रोमा सिएरा लियोन, चौँथोमा इराक र पाचौँमा ईरान रहेको छ ।
उक्त सर्वेक्षण रिपोर्टका अनुसार सबैभन्दा सन्तुष्ट रहेका मानिसहरु रहेको देशका रुपमा पराग्वे पहिलो नम्बरमा रहेको छ । अर्थात पराग्वेका नागरिकहरु अन्य देशका नागरिहरुका तुलनामा भावनात्क रुपमा सन्तुष्ट छन् । दोस्रो नम्बरमा पानामा, तेस्रोमा ग्वाटेमाला र चौथोमा मेक्सिको रहेको छ ।

उच्च सन्तुष्ट मानिस रहेका देशका रुपमा संयुक्त राज्य अमेरिका ३८ औँ नम्बरमा रहेको छ भने युके ४६ औँ नम्बरमा रहेको छ । भारत ९३ नम्बमा रहेको छ ।
शोधकर्ताहरूले सर्वेक्षण गर्नुभन्दा अघिको दिनका अनुभवहरुबारे सोध गरेका थिए । जसमध्ये ७१ प्रतिशत मानिसहरुले हिजोको दिन उल्लेखनीय रुपमा सन्तुष्ट रहेको बताएका थिए ।

ल्याटिन अमेरिकी देशका मानिसहरु संसारकै खुसी मानिसका रुपमा बाँचिरहेको रिर्पोटले देखाएको छ । उनीहरुले अगाडिका प्रत्येक दिन सकारात्मक भावनाहरूका साथ बिताएको बताए ।
१० मध्ये ७ चाडियनहरूले भने विगतका केही वर्षहरुमा खानाको लागिसमेत निकै संघर्ष गरेको बताए । चाडमा ६१ प्रतिशत मानिसहरूले शारीरिक पीडा भोगेको बताएका छन्।
चाडका मानिसहरूको नकारात्मक अनुभव भए पनि अमेरिका र ग्रीसका मानिसहरू धेरै तनावग्रस्त भएको पाइएको छ। ५९ प्रतिशत नागरिकहरू तनावमा रहेको बताउँदा ग्रीस संसारकै सबैभन्दा तनावग्रस्त मुलुक बनेको छ। अमेरिकामा यस्तो भन्नेको प्रतिशत ५५ रहेको छ। (एजेन्सी)




लाेकपाटी न्यूज

