सुरक्षा चुनौतिसँग डटेर लडौं : महानिरीक्षक खनाल

Sarbendra khanal
लाेकपाटी न्यूज

मोरङ, १२ वैशाख । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमूख आतिथ्यमा मोरङको विराटनगरमा १ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप बुधबारदेखि उक्त गोष्ठी सुरु भएको हो ।

गोष्ठी समापनका अवसरमा गृहमन्त्री थापाले शान्ति सुरक्षा सम्बन्धि समीक्षाको दृष्टिकोणले गोष्ठी महत्वपूर्ण रहेको चर्चा गर्दै गोष्ठीका छलफल र निचोडले सुरक्षा सम्बन्धि आवश्यक नीति तय गर्न सहज हुने बताए। कानून सम्मत हुने कुरा तत्काल गरी सुरक्षा अवस्था अझै मजबुत बनाउन निर्देशन दिँदै गृहमन्त्री थापाले राम्रो कामका लागि सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न गृह मन्त्रालय सदैव तत्पर रहेको बताए।

उक्त अवसरमा गृहसचिव प्रेम कुमार राईले शान्ति सुरक्षा, विपद व्यवस्थापन लगायतका काम सन्तोषजनक भइरहेको उल्लेख गर्दै त्यसलाई अझ व्यवस्थित र मजबुत बनाउनुपर्ने बताए। शान्ति सुरक्षालाई आधारभूत रुपमा सुधार गर्न गोष्ठी फलदायी हुने विश्वास उनले व्यक्त गरे।

गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृह मन्त्रालयको निर्देशन अनुसार काम गर्न प्रहरी संगठन कटिबद्ध रहेको चर्चा गर्दै यसबाट शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा सफलता पाउन सहज भएको बताए। अपराध र अशोभनीय गतिविधिमा कमि आएको र शान्ति सुरक्षाको दृष्टिकोणले आवश्यक सुधारका कामहरु तीव्र रुपमा भएको महानिरीक्षक खनालले उल्लेख गरे।

अपराध नियन्त्रण गर्न प्रहरी संगठन सक्षम रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षा, अमनचयन कायम तथा अपराध अनुसन्धानमा आइपर्ने हरेक चुनौति सामना गर्न प्रहरी कर्मचारीहरु कटिबद्ध भई काम गरिरहेको बताए। सुरक्षाको समन्वयात्मक परिचालनबाट शान्ति सुरक्षा लगायत निर्दिष्ट लक्ष्य हासिल गर्न सकिनेमा जोड दिँदै उनले आउँदा दिनमा बिना सम्झौता सुरक्षा चुनौतिहरुसँग लड्न सुरक्षा निकायका जिल्ला प्रमूखहरुलाई निर्देशन समेत दिए।

गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो ।

गोष्ठीमा १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्की, १ नम्बर प्रदेशका मूख्य सचिव केदार न्यौपाने, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमूख गणेश अधिकारी, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमूख प्रहरी नायव महानिरीक्षक केदार रिजाल, १ नम्बर प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमूख जिल्ला अधिकारीहरु, नेपाली सेनाका प्रतिनिधिहरु, १ नम्बर प्रदेश स्तरीय सुरक्षा निकायका प्रमूखहरूको सहभागिता रहेको थियो ।

उक्त गोष्ठी पश्चात् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १ नम्बर प्रदेश अन्तर्गत १४ जिल्लाका प्रहरी प्रमूखहरुलाई समसामयिक विषयमा निर्देशन समेत दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्