प्रदेश २ मा आधुनिक प्रहरी भवन उद्घाटन

poliiiiice bhavan
लाेकपाटी न्यूज

सिराहा, १२ वैशाख । प्रदेश नम्बर २ मा नयाँ आधुनिक प्रहरी भवन बनेको छ। प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रमूख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालले सिराहा गोलबजार नगरपालिका–६ स्थित ईलाका प्रहरी कार्यालय गोलबजार, सिराहाको नवनिर्मित कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उदघाटन गरेका हुन्।

सो अवसरमा सोही कार्यालय परिसरमा नयाँ निर्माण हुने व्यारेक तथा भान्छाघरको समेत प्रहरी नायव महानिरीक्षक पालले शिलान्यास गरेका छन्। कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पालले भवन निर्माणको लागि जग्गा प्रदान गर्नुहुने समाजसेवी राम प्रसाद साह सुढीलाई सम्मानपत्र प्रदान तथा भवन निर्माण कार्यमा उल्लेख्य सहयोग र्पुयाउने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गरे।

प्रहरी नायव महानिरीक्षक पालले नयाँ सुविधा सम्पन्न भवनको निर्माणले प्रहरी कर्मचारीहरुलाई आवास सम्बन्धि सुबिधाहरु प्राप्त हुनुकासाथै कार्यालय संचालन एवं प्रहरी परिचालन गर्नमा सहज भई प्रहरीबाट प्रदान गरिने सेवाहरु प्रभावकारी रुपले समयमै सेवाग्राहीलाई प्रदान गर्न सकिने बताए। समाजमा अपराधको नियन्त्रण, रोकथाम एवं अपराध अनुसन्धान कार्यमा समुदाय तथा आम नागरिकहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै उनले प्रहरी कार्यसँग सम्बन्धित सूचना समयमै उपलव्ध गराई समुदाय–प्रहरी साझेदारी अभियानलाई सार्थक बनाउन आग्रह समेत गरे। महिला, बालबालिका र जेष्ठ नागरिक उपर हुने अपराधका घटनाहरुमा संवेदनशील हुन र सामाजिक विकृति विसंगतिको विरुद्ध एकजुट भई सहकार्य गर्न उनले जोड दिए।

नेपाल प्रहरीले सबै खाले अपराध र भ्रष्टाचारका विरुद्धमा शुन्य सहनशीलताको नीति अवलम्बन गर्दै आइरहेको हुँदा संगठनको नीति अनुरुप कार्य गर्न र सेवाग्राहीसँगको बोली व्यवहारमा आदर–सम्मान र शिष्टतापूर्वक प्रस्तुत भई कानूनी कठोरता अपनाउन उनले निर्देशन दिए।

वि.सं २०७२ सालमा स्थानीय समाजसेवी राम प्रसाद साह सुढीले प्रदान गरेको ९ कठ्ठा, १४ धुर जग्गामा नेपाल प्रहरीको नियमित बजेटबाट ईलाका प्रहरी कार्यालय गोलबजार, सिराहाको भवन निर्माण कार्य सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्