नेकपा सचिवालय बैठक सुरु : यसरी टुङ्गाे लाग्दैछ एकता

nekapa
लाेकपाटी न्यूज

काठमाडौं, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ। वैशाख ९ गते (भोलि) एकतालाई टुङ्ग्याउने नेकपाको कार्ययोजना अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सचिवालय बैठक सुरु भएको हो ।

पार्टी स्थापना दिवसकै दिन बैशाख ९ अर्थात भोलि एकताको बाँकी सबै काम टुंग्याउने घोषणा गरेका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सबै शीर्ष नेताहरुसँगको छलफलपछि निर्णय लिन सचिवालय बैठक बोलाएका हुन्।

पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डले एकता प्रक्रियाको बाँकी काम टुंगो लगाउन एक सातादेखि निरन्तर छलफल गरिरहेका थिए। बैठक अघि नै आज दिउँसो आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले एकताको काम टुंगो लागेको र भोलिको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा औपचारिक घोषणा हुने जानकारी दिइसकेका छन्।

नेकपाले भोलि बैशाख ९ गते प्रज्ञा भवन कमलादीमा स्थापना दिवस मनाउँदै छ । दिउँसो १२ बजे आयोजित सो कार्यक्रम अगावै एकता प्रक्रियाका बाँकी काम सकाउने गृहकार्यसहित अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सबै नेतासँग छलफल सकाएका छन्।सोही योजनाअनुसार अहिले सचिवालय बैठक बसिरहेको हो ।

नेताहरुको अन्तिम गृहकार्यसँगै ११ महिनादेखि अल्झिएको एकता प्रक्रियाका बाँकी काम टुंगोमा पुग्न लागेको हो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भए पनि तल्लो कमिटीहरुको एकीकरण प्रक्रिया बाँकी छन् ।

एकताको बिषयमा अध्यक्षद्वयले शुक्रबार र शनिबार वरिष्ठ नेता नेपाल र महासचिव पौडेलसँग छलफल गरेका थिए। सचिवालय बैठक अघि आज पनि नेताहरुले दिनभर एकताको गृहकार्यसहित छलफल गरेका थिए।

नेकपाको एकतालाई भोलि अन्तिम रुप दिने गरी बैठकमा छलफल गरिने सचिवालय स्रोतले जनाएको छ।