किभ, ८ वैशाख। युक्रेनमा राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान आइतबार बिहानैदेखि जारी छ। चुनावमा राष्ट्रपति पेट्रो पोरोशेन्को र हास्य कलाकार भोलोडिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
पछिल्ला जनमत सर्वेक्षणले हास्य कलाकार जेलेन्स्की निर्वाचित हुने सम्भावना रहेको देखाएका छन्। यसअघि सम्पन्न पहिलो चरणको चुनावमा वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध जेलेन्स्की र पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्कोले कडा चुनौती दिएका थिए।
कलाकार जेलेन्स्कीले राष्ट्रपति पेट्रो पोरोशेन्कोको भन्दा दोब्बर मत प्राप्त गरेका थिए तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गरेनन्।
युक्रेनी चुनाव आयोगका अनुसार जेलेन्स्कीले ३०.२ प्रतिशत र पोरोशेन्कोले १६.७ प्रतिशत मात्र मत प्राप्त गर्नुभएको थियो भने पूर्व प्रधानमन्त्री युलियाले १३.०८ प्रतिशत मत प्राप्त गरेका थिए। करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका थिए।



लाेकपाटी न्यूज

