दलित समुदायका निर्माणाधिन एघार सय घर अलपत्र

ghar pic
लाेकपाटी न्यूज

जाजरकोट, ८ वैशाख। जनता आवास कार्यक्रमबाट निर्माण हुन लागेका डोल्पाका एघार सय घर अलपत्र परेका छन्। त्रिपुरासुन्दरी नगरपलिका १ त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा निर्माण हुन लागेका जनता आवासका बस्ती पूर्ण रुपमा निर्माण हुन नसक्दा अलपत्र परेका हुन्।

पहिलो किस्ता रकम दिएर पाँच वर्षे योजना बनाइ जनता आवास कार्यक्रम सञ्चालन गरिएको थियो। तर दोस्रो किस्ता नदिँदा निर्माण भएका आधा घर भत्किएर अलपत्र परेका हुन् । निम्न वर्गका आयस्रोत कम भएका दलित समुदायको लागि बासस्थानको व्यवस्था गर्न सरकारले जनता आवासको कार्यक्रम सञ्चालन गरेको थियो।

डोल्पा जिल्लाका एघार सय जनता आवासअन्तर्गतका दलित समुदायका घर आधा बनेकाले धेरैले पहिलो पेश्की पाइसकेका छन्। कसैले पहिलो पेश्कीसमेत नपाएको गुनासो गरेका छन्। विगत दुई वर्षदेखि आवश्यक बजेट नपाउँदा घर अलपत्र परेको त्रिपुरासुन्दरी नगरपालिका२ रुमका टङ्क सुनारले बताए।

पहिलो पेश्कीमा ५० हजार रूपैयाँ उपलब्ध गराइएको थियो। सो रकम दिएको दुई वर्ष बिते पनि थप रकम नदिँदा घर जग नै अलपत्र भएको हो। सरकारले किस्तामा रकम उपलब्ध गराइ घर निर्माण गर्ने आस दिएको तर अहिलेसम्म वास्ता नगरेको स्थानीयले बताएका छन्।

सङ्घीय एकाइ कार्यालयका कर्मचारी गोपाल सार्कीले पहिला सहरी विकासअन्तर्गत रहेको यो कार्यक्रम समायोजन भएपछि भौतिक मन्त्रालयले जिम्मा लिएको बताए। सार्कीका अनुसार डोल्पाका नौ वटा गाविसमा यो कार्यक्रम लागू भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्