काठमाडौं, ०७ वैशाख । बाग्लुङमा आगलागीमा परी १ जनाको मृत्यु भएको छ भने सुनसरी, संखुवासभा, झापा, महोत्तरी, सप्तरी र धनुषाका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ५९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाग्लुङको निसिखोला गाउँपालिका–२ देवीस्थान बस्ने बिमल सुनारको ढुङ्गा माटोले बनेको घरमा खाना पकाउने चुलोको आगो खेलाउने क्रममा शनिबार बिहान आगलागी हुँदा आगोले जलेर उनको ३ वर्षीय छोरा विशाल सुनारको मृत्यु भएको छ ।
त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–५ डेरा गरी बस्ने ३२ वर्षीय दुर्गा बहादुर श्रेष्ठको कोठामा ग्याँस जोड्ने क्रममा शुक्रबार साँझ आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै आगलागीमा परी घाइते भएका श्रेष्ठको एपेक्स हस्पिटल इटहरीमा उपचार भइरहेको छ ।
यसैगरी सुनसरीकै कोशी गाउँपालिका–७ बस्ने सन्तोष कुसियतले गहुँको थ्रेसर लगाइरहेको अवस्थामा शनिबार दिउँसो आगलागी हुँदा सोही स्थान बस्ने प्रितम कुशियत लगायत ४ जनाका फुसको छानो भएका घर र गोठ जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै संखुवासभाको सभापोखरी गाउँपालिका–६ सिन्चुवा बस्ने चन्द्रमान दर्जीको कच्ची घरमा सोलारको तार सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी संखुवासभाकै पाँचखपन नगरपालिका–४ टिमुरे भञ्ज्याङ बस्ने गणेश तामाङको कच्ची घरमा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा उनको २ वटा घर पूर्णरूपमा जलेर करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै झापाको कचनकवल गाउँपालिका–१ घेराबारी बस्ने महबुव आलमको भान्सा घरमा शुक्रबार दिउँसो आगलागी भई उक्त आगो फैलिएर आलम समेत ४ जनाका ४ वटा घर पूर्णरूपमा जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका–५ स्थित एनसेलको टावरमा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै सप्तरीको बलान बिहुल गाउँपालिका–३ दुधेला टोल बस्ने राम नारायण गुप्ताको घरमा खाना पकाउने क्रममा शुक्रबार दिउँसो आगलागी भई उक्त आगलागी फैलिएर गुप्ता समेत ३ जनाका घर पूर्णरूपमा जलेर ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका–७ बसैयास्थित सोही उपमहानगरपालिका–२ बस्ने जयशंकर साहको सुबास चिरान मिलमा करेन्ट सर्ट भई शनिबार बिहान आगलागी हुँदा मिलमा रहेको मेशिन तथा काठपात पूर्णरूपमा जलेर करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।



लाेकपाटी न्यूज
