सुडान जाने प्रहरीको बिदाइ : को-को छन् टोलीमा ?

police- sudan prasthan
लाेकपाटी न्यूज

काठमाडौं, ०५ वैशाख । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसन १६औं समूहमा खटी जाने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाई गर्नुभयो ।

बिदाई समारोहमा प्रहरी महानिरीक्षक खनालले उक्त टोलीका कन्टिनजेन्ट कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुको साथै खटी जाने प्रहरी कर्मचारीहरुको निरीक्षणसमेत गरे।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले संयुक्त राष्ट्रसंघको तर्फबाट शान्तिदूतका रुपमा खटिने भएपनि मिसनमा खटिने प्रहरी कर्मचारीले देश र संगठनको समेत प्रतिनिधित्व गरेर जाने भएकाले राष्ट्रप्रतिको समर्पण भाव सँगसँगै युएनको म्यान्डेट अनुसार दिएको जिम्मेवारी उच्च व्यावसायिकताका साथ प्रदर्शन गरी सम्पन्न गर्न निर्देशन दिए।

आफ्नो जिम्मेवारी पुरा गर्ने क्रममा स्थानीय रीतिरिवाज, परम्परा र मौलिकताप्रति सदैव संवेदनशील रहन आग्रह गर्दै प्रहरी महानिरीक्षक खनालले मिसनमा रहँदा उच्च अनुशासनमा रहनुपर्ने उल्लेख गरे। आफ्नो ज्ञान, सीप एवम् कौशलको पूर्ण सदुपयोग गर्दै लगनशील भई आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोेड दिए।

समारोहमा मिसन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक विभूति राज पाण्डेले त्यसतर्फ खटी जाने टोलीमा प्रहरी वरिष्ठ उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ९, प्रहरी निरीक्षक ३, प्रहरी नायव निरीक्षक ३२, प्रहरी सहायक निरीक्षक ४८, प्रहरी हवल्दार ७६, प्रहरी जवान ५ र प्रहरी कार्यालय सहयोगी ६ जना गरी जम्मा १ सय ८० जना रहेको जानकारी दिए। उक्त मिसनमा खटिएका प्रहरी कर्मचारीहरु वैशाख ९ र १६ गते त्यसतर्फ प्रस्थान गर्ने उनले जानकारी दिए।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरुलगायत प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्