काठमाण्डौं, ५ बैशाख । नेत्रविक्रम चन्द विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ । तर, काठमाडौं उपत्यकामा भने बन्दको प्रभाव आंशिक रुपमा मात्र देखिन्छ ।
नेता तथा कार्यकर्ता पक्राउ परेको विरोधमा नेकपाले बिहीबार नेपाल बन्द आह्वान गरेको हो। बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई भने सास्ती भएको छ । परीक्षा दिन हिँडेका विद्यार्थी मर्कामा परेका छन् ।
बजार र कलकारखाना पनि खुलेका छैनन् । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको देशभरि नै आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले सुरक्षा दिइरहेकाले ढुक्क भएर गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।
यस्तै बन्दको प्रभाब देशै भरि परे संगै विभिन्न ठाउँमा बम भेटिएका छन्,बिहानै देखि देशका विभिन्न ठाउँबाट नेपाल प्रहरी नेपाली सेना बम डिस्पोज गरेका छन्।
आज बिहानै काभ्रेको पनौती नगरपालिका ७ मा शंकास्पद वस्तु भेटिएको थियो ।पनौती मल्पी खोपासी जाने चोकमा दुईवटा बोराभित्र खतरा लेखी राखिएको शंकास्पद वस्तुलाई नेपाली सेना र नेपाल प्रहरीले निष्कृय पारेका छन् ।
त्रिभुवन राजपथअन्तर्गत उत्तरी मकवानपुरको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा दुई वटा गाडी जलाइएको छ।
बिहानै थाहा नगरपालिका वडा नम्बर ४ पानोरोमा मोडमा तीनजनाको समुहमा आएका अपरिचित व्यक्तिहरुले ना २ च ९०९४ को कुखुरा बोक्ने गाडीमा आगजनी गरेका हुन्।
हेटौँडा उपमहानगरपालिका वडा नंबर ८ को वडा कार्यालय अघि भेटिएको प्रेसर कुकरलाई नेपाली सेनाले डिस्पोज गरेको छ। वडा कार्यालयको गेटमा प्रेसरकुकरमा बम लेखिएर छाडिएको प्रेसरकुकरलाई सेनाले डिस्पोज गरेको हो।
त्यस्तै हेटौँडा उपमहानगरपालिका वडा नंबर १९ तीनताप्केमा प्रेसर कुकरमा बम लेख्दै तार बाहिर निकालेर छाडिएको थियो ।
पूर्वी नवलपरासीका बजार क्षेत्रमा विभिन्न स्थानमा आगजनी, विष्फोट र शंकास्पद वस्तु राखेर त्रसित बनाउने घटना बढेको छ । पूर्वपश्चिम राजमार्गको गैंडाकोट नगरपालिकामा पर्ने वेल्डिया पुल र देवचुली नगरपालिकामा पर्ने दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र अगाडि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
डण्डामा एक भारतीय ट्रकमाथि पेट्रोल बम प्रहार गरिएको छ। गुजरातबाट काठमाण्डौंतर्फ प्लाईउड बोकेर जाँदै गरेको ट्रकलाई आगजनी गर्ने उद्देश्यले बम प्रहार गरेको हुन सक्ने आंशका छ। बम प्रहारबाट ट्रकको त्रिपाल र केही भागमा सामान्य क्षति पुगको छ। बन्दको पूर्वसन्ध्यामा हिजो साँझ चौधरी ग्रुपमा बम विष्फोट गराइएको थियो।
यता गण्डकी प्रदेश सभा भवन अगाडि भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक नायक घाइते भएका छन्।निस्क्रिय बनाउने क्रममा हातमै बारूद पड्किएर धर्म थापा घाइते भएका छन्। पोखरा महानगरपालिका २९ सैनिकबस्तीमा पनि सुतली बम फेला परेको छ। सुतली बमलाई सेनाले निस्क्रिय पारेको छ।
यस्तै कैलालीको लम्की चुहा नगरपालिका वडा न १ स्थित लम्की बसपार्कमा शंकास्पद वस्तु फेला परेको छ। बसपार्कमा रहेको कर्णाली यातायातको टिकट बुकिङ काउन्टरभित्र शंकास्पद वस्तु फेला परेको हो। रातो कपडाले बेरेको शंकास्पद वस्तु फेला परेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।



लाेकपाटी न्यूज
