३ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

nepal-police
लाेकपाटी न्यूज

मकवानपुर, ०४ वैशाख । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमूख आतिथ्यमा मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रमबीच ३ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप मंगलबारदेखि उक्त गोष्ठी सुरु भएको थियो ।

गोष्ठी समापनका अवसरमा गृहमन्त्री थापाले देश र नागरिकलाई समृद्धिको शिखरतर्फ पुर्याउने जनप्रतिनिधिहरुको जिम्मेवारी पूरा गर्न समाजमा शान्ति स्थापना, अमनचयन र स्थायित्व हुनुपर्ने बताए। विकास र समृद्धिका लागि आर्थिक एवम् औद्योगिक क्रान्ति आवश्यक रहेको चर्चा गर्दै उनले भने “राष्ट्रिय पूँजीको संरक्षण विकास र परिचालनबाट नै विकास सम्भव छ।”

भ्रष्टाचार, विकृति, विसंगतिलाई निर्मूल गरे मात्र शान्ति स्थापना गर्न सहज भई विकास सम्भव हुने उल्लेख गर्दै गृहमन्त्री थापाले शान्ति विरोधी विखण्डनकारीहरुलाई निस्तेज पार्न नागरिकलाई स्वायत्तता प्रदान गर्नुपर्नेमा जोड दिए। संघीयता कार्यान्वयनको प्रक्रियामा रहेको अवस्थामा केही अन्योलता आएको चर्चा गर्दै गृहमन्त्री थापाले सबै समस्या विस्तारै समाधान हुने विश्वास व्यक्त गरे। सुशासन, शान्ति सुरक्षा र सुरक्षा निकायमा राज्यले पर्याप्त लगानी गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए।

कार्यक्रममा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले समयसापेक्ष र समस्याको गहिराईबाट बुझ्न सके सुरक्षा चुनौतीको सामना गर्न सकिने चर्चा गर्दै आपसी समन्वयबाट नै शान्ति सुरक्षा कायम गर्न सकिने बताए। भौतिक संरचना, साधन स्रोत र जनशक्ति व्यवस्थापन गर्न प्रहरीलाई पर्याप्त बजेट व्यवस्थापन गरी संगठन बलियो बनाए मात्र प्रहरीले आफ्नो कार्य सहज र सरल तरिकाले गर्न सक्ने विचार उनले व्यक्त गरे र्नुभयो।

उक्त अवसरमा गृहसचिव प्रेम कुमार राईले राज्य संचालन संक्रमणकालीन अवस्थामा रहेको चर्चा गर्दै यस अवस्थामा देखिएका कमी कमजोरीहरुलाई निराकरण गर्न प्रभावकारी व्यवस्थापन र समन्वयको आवश्यकता रहेको बताए।

सीमित स्रोत साधनका आधारमा राज्यले अबलम्वन गरेको राज्य व्यवस्था विस्तारै सफलता प्राप्त गर्दै गएको चर्चा गर्दै गृह सचिव राईले सेवा प्रवाह र कार्यालय व्यवस्थापनमा सबै निकायले व्यावसायिक रुपमा दुरुस्त काम गरेमा सबै समस्या समाधान हुने बताए। राष्ट्रिय समृद्धिका लागि प्रदेश र स्थानीय तहबीच आपसमा प्रभावकारी समन्वय हुनुपर्नेमा उनले जोड दिए।

गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो ।

गोष्ठीमा सुरक्षाविद् प्रा.डा. ईन्द्रजित राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमूख गणेश अधिकारी, ३ नम्बर प्रदेशका मुख्य सचिव, गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु, ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमूख प्रहरी नायव महानिरीक्षक दिपककुमार थापा, नेपाली सेनाका प्रतिनिधिहरु, ३ नम्बर प्रदेश स्तरीय सुरक्षा निकायका प्रमूखहरू, उक्त प्रदेश अन्तर्गतका १३ जिल्लाका प्रमूख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमूखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्