चितवन, ४ बैशाख।भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको बुधबार शिलान्यास गरिएको छ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुई तला निर्माण गरिने भवनको शिलान्यास गरेकी हुन्।
शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख दाहालले बढ्दो सेवाग्राहीको चाप र कर्मचाहीहरुको कार्य व्यवस्थापनलाई प्रभावकारी बनाउन भवन निर्माण गर्न लागिएको बताइन्। महानगरपालिकाका विभिन्न महाशाखा बाहिर रहेको भन्दै उनले ती महाशाखालाई एकै ठाउँमा ल्याई व्यवस्थित र प्रभावकारी सेवा प्रवाह गर्नका लागि यो भवन बनाउन लागिएको जानकारी दिइन्।
भवन ३ महिनाभित्र सम्पन्न गर्ने गरी काम सुरु गरिएको भन्दै उनले निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीलाई समयमै गुणस्तरीय निर्माण गर्न आग्रह गरिन्। गुणस्तर कायम गर्न विशेष पहल गर्न उनले महानगरपालिकाका प्राविधकहरुलाई निर्देशन समेत दिइन्।
प्रमुख दाहालले महानगरपालिकाको अत्याधुनिक सुविधासम्पन्न भवनको आवश्यकता महसुस गरी त्यसको लागि समेत पहल भैरहेको बताइन्। व्यवस्थित कार्यालयबाट प्रभावकारी सेवा प्रवाह गर्दै सुशासन कायम गर्न सकिने उनको भनाइ थियो।



लाेकपाटी न्यूज

