एक नारायण पौडेल
काठमाडौं । निर्माण सम्पन्न हुन नपाउँदै कयौं पुल भत्किन्छ। सडकमा कालोपत्र हुन नपाउँदै पिच उप्किन्छ। शक्ति र पहुँचको आधारमा हत्यारा र बलात्कारी हात्ती जस्तो बढेमान हुन्छ तर निमुखाको नाम पोतिन्छ। यहाँ कमिसन लाखबाट हैन करोड, अर्ब र खर्बबाट शुरु हुन्छ । सरकारी संस्थान सबै घाटामा (विद्युत प्राधिकरण कुलमान आएपछि बाहेक) चल्छन्।
आवश्यकताभन्दा दश गुणा बढी खर्बौंको सरकारी गाडी खरिद गरिन्छ। पूरा प्रयोग हुन नपाई थन्किन्छ र केही बर्ष पछि कवाडीको मोलमा लिलामी हुन्छ। अधिकांश ठेक्कापट्टा दादागिरी र नोटले खल्तिमा बोकेर हिँडिन्छ । बालुवाटार, गुठी, मठ मन्दिर वा सार्वजनिक जग्गा वरिष्ठहरुले हड्प्छन्। मझौलाले सेटिङ मिलाएर केही पैसो दिए जस्तो गर्छन्। ट्रली बसहरुले, साझा यातायात बर्सेनि करोडौंको घाटा देखाएर हसुर्दैछन् । आयल निगमको त झन् के कुरो भो र धुलोपिठो पारिरहेका छन् । अदालत आफ्नै ससुराली बनाए जहाँ जति नै गल्ति गरेपनि ज्वाईं साब बन्न पाइन्छ, ईज्जत पाइन्छ ।
प्रहरी, प्रशासन केहीलाई नेताले आफ्नो वरिपरि घुमाउँछन् । केहीलाई पहुँचवालाले कुदाउँछन् र केहीलाई डनले भकुर्छन् त केहीलाई पैसोले हिडाउँछ । पूर्वदेखि पश्चिमसम्म कयौं आयोजना अलपत्र छ । खादाको भारी थेग्न नसक्ने गरी लाउन पाउने लोभमा हजारौं योजनाहरु बिना पुर्वाधार, बिना स्रोत र बिना रकम शिलान्यास गर्न तछाडमछाड हुन्छ । तर, आफैँले शिलान्यास गरेका योजना के भयो भन्ने न खादावालालाई हेक्का हुन्छ न त लगाइदिनेलाई नै पत्तो हुन्छ । सरुवा, बढुवामा कयौंको घर जग्गा जोडिन्छ त कयौंको बैंक ब्यालेस थपिन्छ ।
एकातिर इमान्दार राष्ट्रसेवकहरु भने छोराछोरी, श्रीमती र कोठा भाडा तिर्न कयौं रात भोकै सुत्नुपर्ने अवस्था छ भने अर्कोतिर शक्ति र पैसाको आडमा (केही आपवादबाहेक) राष्ट्रपतिलाई समेत गुमराहमा पारेर उनैबाट तक्माले कयौं अयोग्य राम थापाहरुको छाती नापिन्छ । कयौं बलात्कारी बचाउने सहासीहरुको घाँटी छोट्याउनुपर्नेमा उनीहरुकै घाँटी पुरस्कार र मेडलले भरिन्छ ।
लाखौं लाख बालबालिकाहरु सडकमा बोराको सिरानी हालेर सुतिरहँदा प्रधानमन्त्री र मन्त्रीहरु कोही बालबालिका स्कुल जानबाट बञ्चित हुँदैनन् भनी पुराण सुनाउँछन् अनि बोलाइएका र किनिएका निरीहहरु परर ताली पिट्छन् । हिजो राजालाई सामन्ती सत्तामा उभ्याएर निशाना ताक्नेहरु आज बाक्लो सुरक्षा कवचमा बाटो नै जाम गरी कहीले सिंहदरबार, कहिले बालुवाटार, कहिले शितल निवास त कहिले विदेश सयर गरिरहेका छन् । भूकम्पले ढलेका लाखौं घरहरुले अझै पनि हामीलाई गिज्याइरहेको छ । भूकम्पले ढलेका धेरै घर र मनहरु ठडिन नसके पनि भुकम्पले नछोएका केहिका भने बैंक भरिएको छ, भाग्य भरिएको छ र सुख भरिएको छ । भुकम्पले ढलेका, डुबानमा परेका बस्ती ठड्याउन घुर्मुस सुन्तली, स्वेता खड्का , रबि लामिछाने रातदिन जागा बस्छन् । तर, जसले अधिकार र साँचो समातेर बसेका छन् उनीहरु सधंै मस्त निन्द्रामा हुन्छन् ।
तराईका कयौं बस्तीहरु हैजाले सोत्तर हुँदा होस् वा कर्णालीका जनता सामान्य ज्वरोको औषधी नपाएर सुत्केरी हुन डोकोमा ५ दिन बोकेर सदरमुकाम पुर्याउनुपर्ने दुरावस्थामा न डाक्टर उपलब्ध छन् न औषधी न त अस्पताल नै । रबि लामिछाने र अन्य अभियन्ताहरु मागेर नै सही, अस्पताल बनाउन हारगुहार गरिरहन्छन् । उत्तम सञ्जेल जस्ता महामानव १०० रुपैयाँमा सरकारी जिम्माको भारी आफ्नो काँधमा बोकिरहेका छन् ।
हजारौंको बलिदानी, त्याग, तपस्या, क्षती र जेलनेलले ल्याएको खै कस्तो गणतन्त्र हो यो, जहाँ ठग र दलालको भण्डाफोर गरे बापत अर्जुनसेन गिरीजस्ता साहसिक पत्रकारलाई पुरस्कार हैन हातमा हतकडी लगाइन्छ । रसुवाली कवि (ठाकुर प्रसाद) जस्ता जनताको आवाज र गुनासो बहिराहरुको कानसम्म पुर्याउन सहयोग गर्नेको हात बाँधिन्छन् । पत्रकारिताको नाउँमा समाज काट्ने धमिराहरुलाई सजाय र जेलनेल कोच तर खोज पत्रकारिता र जनताको गुनासो सुनाउने लेखकलाई जेल हैन सम्मान गर । तब मात्र गणतन्त्रको उचाई बढ्नेछ र हामीले भनेको गणतन्त्र संस्थागत हुनेछ ।
सलाम यी दुई हस्तीहरुलाई !!!
एक नारायण पौडेल, भरतपुर महानगरपालिका वडा नं–१३, चितवन



लाेकपाटी न्यूज

