आजदेखि विद्यार्थी भर्ना अभियान शुरू, ९१ हजार बालबालिका विद्यालय बाहिर

students
लाेकपाटी न्यूज

काठमाडौं, २ बैशाख । सोमबारदेखि सरकारले विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ। शिक्षा मन्त्रालयले ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय र्पुयाऔँ’ भन्ने नाराका साथ सो अभियान शुरु गर्न लागेको हो ।

मन्त्रालयका अनुसार देशका ७ सय ५३ वटै स्थानीय तहमा घरदैलो अभियान गरेर पढ्ने उमेर भएका बालबालिकालाई स्कुल भर्नाका लागि आह्वान गरिनेछ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार यस वर्ष ९१ हजार बालबालिका विद्यालय बाहिर छन्। गएको वर्ष ६० हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेकामा बढेर यस वर्ष ९१ हजार पुगेको हो।

केन्द्रका अनुसार यो संख्या २०६८ को जनगणनाअनुसार निकालिएको हो। यसकारण अहिले विद्यालय जाने उमेर भएका तर भर्ना नभएका बालबालिकाको संख्या एक लाखभन्दा बढी भएको अनुमान छ। मन्त्रालयले स्थानीय तहसँग सहकार्य गरेर विद्यार्थी भर्ना अभियान सुरु गर्ने भएको हो।

तीनै तहका (स्थानीय, प्रदेश र संघीय) सरकार अभियानमा सक्रिय हुने भएकाले यस वर्ष विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सकिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्