मधेशमा सबै दल समाप्त गर्छौं : सिके राउत

CK raut
लाेकपाटी न्यूज

सिरहा, १ बैशाख। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मधेसवादी दलको पसल बन्द हुन लागेको बताएका छन्।

सिरहाको मिर्चैयामा शनिबार आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले मधेसवादी दलहरुप्रति लक्षित गर्दै सँधै जनतालाई भ्रममा राख्न नसकिने भन्दै उनीहरुको दुकान बन्द हुने बताएका हुन्। उनले केही तत्वहरुले आफ्नो दुकान बन्द हुने डरले भ्रम फैलाउन थालेको आरोप लगाए।

उनले भने, ‘जनतालाई भ्रममा राखेर सँधै मन्त्री बन्न पल्केकाहरु हाम्रो डरले भ्रम फैलाउने काममा लागेका छन्, हामी एक्कासी वार्तामा आएको होइन १० महिनादेखिको गृहकार्यपछि हामी यहाँ आएका हौं, अब संविधानलाई टेकेरै हाम्रो उद्देश्य पुरा हुन्छ।’

राउतले सरकारसँग भएको सम्झौताबारे प्रश्न गर्न मधेसवादी दलका नेताको औकात नभएको बताए। उनले केपी ओलीसँग नभई नेपाल सरकारसँग सम्झौता गरेको भन्दै उनले यसलाई वार्ताभन्दा विजयी हासिल गरेको दावी गरे। उनले मधेसी जनताको अधिकारका लागि आफू ज्यान दिन तयार रहेको बताए।

उनले भने, ‘स्वराज फाँसीको फन्दा लगाएर हिँडेका छन्, टाउकोमा कफन लगाएर लडिरहेका छन् ।’ उनले मधेसी दल जनताको हत्या गराएर आफू सधैं सत्तामा रमाइरहेको कुरा कसैबाट नलुकेको बताए। मन्तव्यको क्रममा उनले ‘स्वराज’ कुनै भूगोलभित्र नयाँ सीमाना कोर्नु मात्र नभएको बताए।

उनले भने, कुनैपनि अखण्ड मुलुकभित्र फेरी एउटा नयाँ सीमाना कोरेर ‘स्वराज’ प्राप्त हुने होइन, यही बसेर दलित, महिला, मधेसीले आफ्नो मुलुक पाउनु नै स्वराज हो, हामी त्यस्तै व्यवस्था भएको मुलुकको परिकल्पना गरिरहेका छौं।’ उनले २०७५ फागुन २४ गते भएको सम्झौतालाई विजयको संज्ञा दिँदै आफ्नो जनमत संग्रहभन्दा माथि गएर सम्झौता गरेको बताए।

उनले भने, ‘हामीले जनमतको माग राखेका थियौं तर हामीले ‘जनअभिमत’ प्राप्त गरेका छौं, यसको अर्थ हामी चुनाव अथवा जनताको जनविद्रोहवाट आफूले चाहेको व्यवस्था स्थापना गर्न सक्छौं ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्