काठमाडौं, २९ चैत । उच्च अदालतमा ८० जना न्यायाधीशको नियुक्तिका विरुद्धमा दुई वर्षअघि परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । रिटको खारेजसँगै तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको न्याय परिषद्ले उच्च अदालतमा नियुक्त गरेका ८० जना न्यायाधीशले वैधता पाएका छन् ।
वि.सं २०७३ पुसमा न्याय परिषद्ले पुनरावेदन अदालत, सरकारी वकिल, कानून सेवा, कानून व्यवसायी र न्याय प्रशासनबाट गरी ८० जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको थियो ।
उक्त नियुक्तिप्रति असन्तुष्ट व्यक्त गर्दै नायव महान्यायाधीवक्ता दुर्गाबन्धु पोखरेलसहित ४ जनाले नियुक्तिको एक महिनापछि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । प्रक्रिया मिचेर मध्यरातमा निर्णय गरिएको, ५ जना सदस्य हुँदाहुँदै ३ जना मात्र उपस्थित भएर निर्णय लिएको लगायतका कारण देखाउँदै उक्त नियुक्ति खारेज हुनुपर्ने जिकिर रिटमा गरिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजालसले नियुक्ति कानूनसम्मत् नै देखिएको ठहर गर्दै शुक्रवार उक्त रिट खारेज गरेका हुन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की रहेका छन् ।



लाेकपाटी न्यूज

