काठमाडौं, २८ चैत । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई नोर्फिन ५ सय ६७ एम्पुल, फेनारगन ६ सय १५ एम्पुल, डाईजेल्याव १ सय १८ एम्पुल, डाईजोपाम ४ सय ९१ एम्पुल र लुप्रिजेसिक ४९ एम्पुलसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सप्तरी शम्भुनाथ नगरपालिका–७ घर भएका २५ वर्षीय प्रमोदकुमार साह, सप्तरी बेल्ही चपेना गाउँपालिका–९ का ४३ वर्षीया गिता देबी र सुनसरी बर्जुताल–६ का ३० वर्षीया रन्भादेबी दास रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले राजबिराजबाट काठमाडौं आउँदै गरेको ना.७ ख ५७८४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कस्तुरीको वीना सहित पक्राउ
काठमाडौं महानगरपालिका–३ सामाखुशीबाट करिब २ सय २९ ग्रामको संरक्षित वन्यजन्तु हात्तीको दाह्रा जस्तो वस्तु १ थानसहित ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा धादिङ, थाक्रे गाउँपालिका–१० बस्ने २५ वर्षीय विकाश तामाङ, काभ्रे पनौती नगरपालिका–३ का ३२ वर्षीय कुमार तामाङ लामा, नुवाकोट ककनी गाउँपालिका–६ का ३८ वर्षीय राजकुमार लामा र खोटाङ बाह्रपोखरी गाउँपालिका–४ का ३१ वर्षीय फर्सुराम राई रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सोही ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ गोंगबु बसपार्कबाट संरक्षित वन्यजन्तु कस्तुरीको वीना जस्तो करिब २५ ग्राम सहित काठमाडौं गोकर्णेश्वर बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका–९ का ४० वर्षीय खिमबहादुर घर्ति मगरलाई गत चैत १७ गते पक्राउ गरेको छ ।
पक्राउ व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको सो ब्यूरोले जनाएको छ ।



लाेकपाटी न्यूज

