काठमाडौं,२८ चैत । आगामी बैशाख १ गतेदेखि बैशाख ४ गतेसम्म मनाउने गरिएको टोखा विस्का नखः (बिस्केट जात्रा) को तयारी पूरा भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै टोखा विस्केट जात्रा मुल व्यवस्थापन समितिले बैशाख १ गतेबाट बैशाख ४ गतेसम्म चल्ने जात्राको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
जात्राको बारेमा प्रचार–प्रसार गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै टोखा नगरपालिकाकी उप–प्रमुख ज्ञानमाया डंगोलले ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको जात्रा टोखा नगरवासीको मात्र नभएर देशकै गहनाको रुपमा रहेको स्पष्ट पारिन् । टोखालाई चाकुको राजधानीको रुपमा मात्र नहेरेर मौलिक परम्परादेखि चल्दै आएको नेपालकै सबैभन्दा पुरानो बिस्केट जात्राको रुपमा बुझ्न पनि आवश्यक रहेको उनले बताइन् । उनले जात्रा व्यवस्थापनको लागि मूल समिति तथा उप–समिति गठन भैसकेको समेत जानकारी दिईन् । उनले उक्त जात्रा सम्पन्न गराउन नगरपालिकाले बजेटको बिनियोजन पनि गरिसकेकोे बताइन् ।
सपनतिर्थ मन्दिर परिसरको त्रिवेणी र दूधबेनी खोलाको संगम स्थललाई थुनेर बनाइएको पोखरीमा स्नान गर्दा कुष्ठ तथा चिलाउनेजस्ता रोगहरुको पनि निराकरण हुने उनले विश्वास दिलाइन् । उनले थपिन्, ‘स्वयम् मैले पनि यसबारेमा महशुस गरेको छु ।’
वैभवशाली गर्विलो इतिहास बोकेको जात्रा भए पनि अहिलेको पुस्ताले जगेर्ना गर्न अग्रसर नभएकोमा उनले गुनासो पोखिन् । उनले टोखाले जस्तोसुकै अवस्थामा पनि आफ्नो मौलिक परम्परा, संस्कार, संस्कृति एवम् चलनलाई त्याग्न नहुने धारणा राखिन् । टोखाको बिस्केट जात्राको जगेर्ना गर्न, पर्यटकको सम्भावनालाई मध्यनजर गर्दै जात्रामा उल्लेखनीय सहभागी हुन र यस्ता परम्पराहरुलाई निरन्तरता दिनु आजको आवश्कता भएको पनि उनले उल्लेख गरिन् । त्यस्तै, उनले जात्रालाई शान्त र मर्यादित ढंगले सम्पन्न गराउनको लागि सबैमा सहयोगको आग्रह गरिन् ।
त्यस्तै कार्यक्रममा बोल्दै नेवा गुठिका सल्लाहकार गणेशमान श्रेष्ठले ऐतिहासिक नगरीमा मनाईने जात्राको आफ्नै महत्व रहेको बताए । बिस्केत जात्रा टोखाले पाएको मौलिक अधिकार रहेको भन्दै उनले जात्रालाई निरन्तरता र मौलिकता दिन सबैको दायित्व भएको धारणा राखे ।
उनले परापुर्वककालदेखि चल्दै आएको जात्रालाई आमा, बुवा र छोराबीचको जात्राको रुपमा पनि चित्रण गर्न सकिने स्पष्ट पारे । अहिलेको नयाँ पुस्तालाई आफ्ना मौलिकतामा रुचि हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । उनले अहिले जात्रा अवलोकन तथा निरन्तरतामा जाने युवाहरुमा कमि आएको भनाइ राखे ।
पुरानो मुल्य र मान्यतालाई अहिलेको नयाँ पीढीले सम्हाल्न नसकेको आरोप लगाउदै उनले युवा र बृद्धबीच बेमेल हुँदा जात्रामा किचलो अथवा द्वन्द्व पैदा हुनेपनि तर्क गरे । विगतमा हुने जात्राभन्दा यसपटकको जात्रालाई व्यवस्थित पार्न खोजिएको जानकारी गराउँदै उनले नेवा गुठिले यसको सम्पूर्ण जिम्मेवारी लिइसकेको प्रष्ट पारे ।
आफूहरुले मनाउँदै आएको जात्राहरु नेपालका मौलिक गहना भएको उनको भनाई छ । उनले भविश्यमा मौलिकता लोप हुन नदिन जात्रालाई जीवन्त र निरन्तरतामा सबैको लगाव रहन आवश्यक रहेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेवा गुठिका उपाध्यक्ष सत्यनारायण उपाध्यायले बैशाख ३ गते नेपाल सरकारका मन्त्री र काठमाडौं उपत्यकाका सम्पुर्ण मेयर तथा उप–मेयरहरुको सहभागिता रहने बारेपनि जानकारी दिए । त्यस्तै कार्यक्रममा बोल्दै रमेश नापितले जात्रा अवधिभर जाँड–रक्सी खाएर मेला ब्यवस्थापनमा अवरोध पुर्यानेलाई आवश्यक कारवाही गर्नेबारे पनि जानकारी गराए ।
यसपटकको बिस्केट जात्रामा दुई लाखले अवलोकन गर्ने अनुमान रहेकोे बताउदै उनले जात्रालाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न करिव तीन सयभन्दा बढि स्वय्मसेवक, नेपाल प्रहरी, स्काउट र गुठीका पदाधिकारीहरुको उपस्थिति रहने पनि उनले प्रष्ट पारे । पत्रकार सम्मेलनमा टोखा नगरपालिका वडा नम्वर २ का अध्यक्ष दिपकराज जोशी, वडा नम्बर ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।



लाेकपाटी न्यूज

