काठमाडौं, २८ चैत । युवाहरु माझ निकै लोकप्रिय पब्जी खेल बन्द हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य रोक्नका लागि पत्र पठाइएको बताए ।
दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले यो अनलाइन गेमको उत्पादन गरेको हो। यसको पूरा नाम ‘प्लेयर अननोस ब्याटलग्राउण्ड’ हो पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ। पब्जी मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने गेम हो। धेरै युवालाई यसको लत लागेको र धेरै समय यसमै खेर फालेकाे भन्दै आलोचना हुने गरेको छ।
८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन्। यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ। आइओएस र एन्ड्रोइड प्लेटफर्ममा मात्र पब्जी २४ करोड पटक डाउनलोड भएको छ । सन् २०१८ मा पब्जी गेमबाट कम्पनीले कूल १ अर्ब ३ करोड डलर आम्दानी गरेको तथ्यांक छ।
पब्जी गेमका मोबाइल प्रयोगकर्तामध्ये साढे २२ करोड चिनियाँ रहेका छन्। त्यस्तै अमेरिकी प्रयोगकर्ता ११ प्रतिशत र भारतीय प्रयोगकर्ता ८ प्रतिशत रहेका छन्।



लाेकपाटी न्यूज

