झोला बोक्ने क्यारियरमा नेपालीको लास

52501615_995762080617950_7824044079473229824_n
म एअरपोर्टको डिपार्चरनेर उभिरहेको थिएँ। त्यो भीड देख्दा एकछिन हेरिरहुँ जस्तै लाग्यो, एकछिन जताततै नियालें, कोही गाडीबाट सामान झार्दैछन्, कोही अङ्गालो मार्दै रुँदै, त कोही पीडा लुकाउन खोज्दै।
लाेकपाटी न्यूज

नवीन पौडेल

नेपालबाट दिनहुुँ विदेसिनेको संख्या बढ्दो छ। विदेश जाँदा एअरपोर्टसम्म छोड्न जाने बाबुआमा, लिन एअरपोर्ट जान नसकेका धेरै घटना छन्। व्यस्त त्रिभूवन विमानस्थलमा वैदेशिक रोजगारीका लागि जाने युवाहरुको भीड सामान्यजस्तै लाग्न थालेको छ।

बिहान करीब ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय एअरपोर्ट पुगियो। तर, अचम्मलाग्दो थियो एअरपोर्ट । एअरपोर्ट त कतै मेला महोत्सवमा गएजस्तै लाग्दै थियो। म एअरपोर्टको डिपार्चरनेर उभिरहेको थिएँ। त्यो भीड देख्दा एकछिन हेरिरहुँ जस्तै लाग्यो, एकछिन जताततै नियालें, कोही गाडीबाट सामान झार्दैछन्, कोही अङ्गालो मार्दै रुँदै, त कोही पीडा लुकाउन खोज्दै।

त्यो भीड अनि त्यही भीडमा हराइरहेको म भने स्तब्ध थिएँ। मेरा आँखा रसाइरहेका थिए। मसँग हेर्नुभन्दा अर्को कुनै विकल्प थिएन। विभिन्न देशमा रहनुभएका दाजुभाइहरु नेपालीहरूको महान चाडको अवसर परेर नेपाल पाल्नुभएको होला, त्यही फर्किने क्रमले गर्दा यस्तो अचाक्ली भीड भएको होला भन्ने अनुमान गरें।

एअरपोर्ट पुग्नुको कारण एअरपोर्टको अवस्था हेरेर त्यही भीडमा हराउनु थिएन। म आफ्नो काममा लागें। बिडम्वना ! मेरो काम पनि त्यही विदेश जाने आउने दुखसँगै जोडिएको थियो। घरको आर्थिक अवस्था सुधार्न विदेश पलायन भएका केही दाजुभाइहरु सकुशल होइन, किस काठको बाकसमा लास बनेर आएका छन्, हो म पनि त्यही एउटा लासको प्रतीक्षामा बस्नुभएका केही आफन्तलाई भेट्न गएको थिएँ।

११.२० मा हवाइजाहज अवतरण भयो भनेर त्यहाँ राखिएको डिजिटल बोर्डमा देखायो। लास लिन विभिन्न प्रकिया पूरा गर्नुपर्ने रहेछ। तिनै प्रक्रिया पूरा गर्दैगर्दा थाहा भयो बिहान ११.२० बजेसम्म विभिन्न देशबाट हवाइजहाजमा ४ जना नेपालीका लास नेपाल आइसकेका रहेछन्। यो कुनै काल्पनिक कुुरा थिए, तीतो सत्य थियो। कुरा सुन्दा मेरो आङ नै सिरिङ्ग भयो।

सबै प्रक्रिया पूरा गरियो। विमानस्थलले लास लिनका निम्ति भित्रैसम्म ४ जना जान पाउने प्रबन्ध गरेको रहेछ। झोला बोक्ने २ क्यारियरलाई जोडेर त्यसमाथि काठको बाकसमा बन्द गरिएको त्यो लास देख्दा यो मन थाम्न सकिनँ। बर्बर झरिरहेको आँशु पुछ्दै बाहिर निस्किए, सबै त्यो लास हेर्दै हात निदारमा लाँदै थिए, मन्दिरलाई टाढैबाट ढोगेजस्तै।

बाहिर निस्किसक्दा शव बोक्ने गाडी आइसकेको थिएन। नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले कुनै पनि देशबाट ल्याइएको लासलाई घर परिवारले लान चाहेको ठाउँसम्म निशुल्क पुर्‍याइदिने प्रावधानसम्म गरेको रहेछ। हामी त्यही लास बोक्ने गाडीको प्रतीक्षामा थियौं, नजिकै १ जना युवक र वृद्ध मानिस आउनुभयो। युवाले रुँदै सोध्नुभयो, ‘लास लिन के–के गर्नुपर्ने रहेछ ? मेरो पनि सानो भाइ साउदीमा बितेर आज लास आउँदैछ, के गर्ने कसरी लिने, केही थाहा छैन।’

हामीले प्रक्रिया बुझिसकेका थियौं, त्यसैले सोध्यौं, ‘कति बजेको फ्लाइट थियो, आउने कति बजे भनेको थियो ?’ उहाँहरुले भन्नुभयो, ‘चार बजे।’ लास ल्याइसक्ने समय भएको थिएन। तर, पनि उहाँहरुलाई प्रक्रिया थाहा नभएका कारणले हामीसँगै भएको एक जनालाई सबै प्रकिया बुझाइदिन पठायौं र उहाँहरु जानुभयो।

जिन्दगीको कोल्टो फेर्ने समय साँचेर अरब भासिएका नेपालीहरुको दुख देख्दा मन थाम्न सकिन्नँ। त्रिभूवन एअरपोर्टमा दैनिक पाँचदेखि सात नेपालको लास आउने रहेछ। हामी भने वैदेशिक रोजगारीमा गएर जिन्दगीको काँचुली फेर्ने सपना देख्छौं। यी सारा दृश्य देख्दा मन बेचैन भयो, विदेशको मोहप्रति नै ग्लानी महशुस भयो।

विदेशमा सुन फल्दैन, पैसाको रुख पनि छैन। ५० डिग्रीको गर्मीमा १६ घण्टा काम गर्नेको पीडा नेपालमा बसेर अनुभूति गर्न सकिँदैन। तर, हामी भने तिनै अरबमा भएका नेपालीसँग नानाथरि आशा राख्छौं, ईर्श्या र डाहा गर्छौं। आइफोन, टिभी अनेकथोकको डिमाण्ड गर्छौं। तर, उनीहरुका पीडाबारे कमै मात्र मतलव राख्छौं।

वैदेशिक रोजगार देशको प्राथमिकता बन्न हुँदैन, यो त हाम्रो बाध्यता मात्रै हो। राज्यले वैदेशिक रोजगारीलाई प्रवर्द्धन गर्ने होइन, अर्को व्यवस्था नभएसम्मका लागि व्यवस्थित गर्ने मात्र हो। शैक्षिक जनशक्तिलाई नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने हो। एअरपोर्टको दृश्य हेर्दा लाग्यो, ‘नीति निर्माणको तहमा दिमाग खल्बिलिने गरी बहस गर्नुपर्ने मुद्दा यही हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्