सगरमाथाको उचाइ घटेकै हो ? : प्रधानमन्त्री

KP sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बोच्च शिखर सगरमाथाको उचाइ घटेको कुरा आफूलाई विश्वास नलागेको बताएका छन् ।

सगरमाथाको उचाइ मापन गर्न जाने सरकारी टोलीलाई बिदाइ गर्ने क्रममा प्रधानमन्त्री ओलीले चार वर्षअघिको विनाशकारी भूकम्पले विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ घटेको कुरा विश्वास नलागेको बताएका हुन् ।प्रधानमन्त्री निवास बालुवाटारबाट नापी विभागको टोली विदाइ गर्दै उनले भने, ‘भूकम्पले सगरमाथाको उचाइ घटेको भन्ने छ । तर मलाई भरपर्दो लागेन । केही समयअघि ८,८५० मिटर पुग्यो भन्ने पनि आयो । त्यही आसपासमा होला, घटेको हुनु नपर्ने हो ।’

उनले विदेशीहरुले विभिन्न समयमा फरक(फरक उचाइ पेश गरे पनि आफूलाई भने विश्वास नलागेको बताउँदै विश्वको सर्वोच्च शिखर र नेपालको गौरव भएकाले यथार्थ उचाइ सार्वजनिक गरिने बताए । एक सेन्टिमिटर पनि फरक नपर्ने गरी सगरमाथाको उचाइ नाप्न निर्देशन दिँदै उनले भने, ‘सगरमाथाको टुप्पोमा स्केल राखेर एक सेन्टिमिटर पनि फरक नपर्ने गरी यथार्थ उचाइ नाप्नुहोला । तर आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नू, बलजफ्ति नगर्नू ।’

उनले मौसमले साथ नदिएमा वा स्वास्थ्यमा खराबी आउँदा आउँदै सगरमाथा आरोहण नगर्न सुझाव समेत दिए । अनुभवी गाइडहरुले दिएको निर्देशनअनुसार चल्न सरकारी आरोहण टोलीलाई उनको सुझाव छ ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने टोलीलाई दिइएको कार्यादेशबारे जानकारी गराइन् । सगरमाथाको उचाइ नाप्ने टोलीमा नापी विभागका प्रमुख खिमलाल गौतम, रविन कार्की, सुरज सिंह भण्डारी र युवराज धिताल रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्