पर्वत, २४ चैत। पर्वतको मोदी गाउँपालिका–२ देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी लेखनाथ प्रशारण लाइनको निर्माण कार्य शुरु भएको छ। दुई अर्ब २५ करोड लागतमा बन्न लागेको मोदी–लेखनाथ प्रशारण लाइनको आइतबार एक कार्यक्रमबीच राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शिलान्यास गरेपछि निमार्ण शुरु भएको हो।
पर्वत भएर बग्ने मोदी खोला र कास्कीमा बग्ने सेती नदी मर्दी खोलामा बन्ने विद्युत आयोजनाहरुबाट उत्पादित विद्युतलाई पोखरास्थित सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्न नयाँ प्रशारण लाइन निर्माण भएको छ। देउपुरदेखि कास्कीको पोखरा महानगरपालिका लेखनाथसम्म निर्माण हुने प्रशारण लाइन ४२ किलोमिटर लामो हुनेछ भने १ सय ३८ वटा टावर रहने छन्।
प्रशारण लाइनको शिलान्यास गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राज्यको नीति नै आर्थिक समृद्धिको पक्षमा भएकाले समृद्धि हासिल गर्न ठूला–ठूला आयोजना निर्माण कार्य शुरु भएको बताए। उनले विकासका आयोजनाहरु समयमा सक्ने परिपाटी विकास गर्न सक्दा मात्रै जनताले छिटो लाभ लिने धारणा राखे। सो अवसरमा आयोजना तोकिएको समयभन्दा कम्तीमा एक महिना अघि सम्पन्न गर्न आग्रह गरे।
प्रशारण लाइन डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको नयाँ मोदी पोखरा प्रशारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जानकारी दिए। प्रशारण लाइन निर्माणका लागि नेपाल सरकार र भारतको एक्जिम बैंकले लगानी गरेका छन्। ‘आयोजनाको जग्गा अधिग्रहण तथा वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका काम सक्न पाँच वर्ष लागे पनि अब डेढ वर्षभित्र निमार्ण सक्ने लक्ष्यसहित काम अघि बढाएका छौं,’ आयोजना प्रमुख अग्रवालले भने, ‘स्थानीयस्तरबाट सहयोग पाएमा तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेछौ।’
प्रशारण लाइनअन्र्तगत पर्वतको मोदी–२ देउपुर र कास्कीको माछापुच्छ्रे गाउँपालिका लाहाचोकमा गरी दुइवटा सवस्टेशन निर्माण हुने भएका छन्। देउपुरस्थित सबस्टेशनमा मोदीखोला र आसपासका नदीबाट उत्पादित विद्युत जोडिने छन् भने लाहाचोक सवस्टेशनमा सेती नदी र मर्दी खोलाबाट उत्पादित विद्युत जोडिने आयोजनाले जनाएको छ।
प्रशारण लाइन र सबस्टेशन निर्माणको जिम्मा भारतको कल्पयात्रु पावर ट्रान्समिशन लिमिटेडले लिएको छ। कम्पनीले नेपालका कोशी करिडोर लगायतका धेरै प्रशारण लाइन निर्माण गरिएको सो कम्पनीका कन्ट्री डाइरेक्टर शिव शंकर सिंहले जानकारी दिए।



लाेकपाटी न्यूज

