काठमाडौं, २४ चैत । बैज्ञानिकहरु नेपालको बारा, पर्सामा आएको विनासकारी आधीँ ‘टोर्नाडो’को नेपाली नाम खोज्नमा जुटेका छन् ।
‘टोर्नाडो’को नेपाली नाम राख्न विज्ञहरू बहसमा जुटेका हुन् । भूमरी जसरी सोली आकारमा आएकाले यसको नेपाली नामकरण स्थानीय परिचय दिने गरी राखिनुपर्ने बहस चलेको छ । जल तथा मौसम विज्ञान विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय स्थित वातावरण विभागलगायत मौसमको क्षेत्रमा काम गरिरहेका विज्ञहरू यसको नामकरणमा जुटेका छन् ।
वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले भने, ‘बारा, पर्सामा अध्ययन गर्न गएको टोलीले ल्याउने विवरणसँगै नामका बारेमा थप छलफल हुनेछ । स्थानीय पहिचान दिनेगरी नाम राख्न जरुरी हुन्छ ।’मौसमविद्ले सेन्टिनियल स्याटलाइटले १० मिटर ‘स्प्याटुअल रिजोलुसन’मा खिचेको तस्बिरको अध्ययनपश्चात् नेपालमा टोर्नाडो आएको पुष्टि गरेका थिए ।
‘स्प्याटुअल रिजोलुसन’ भन्नाले कुन क्षेत्र र कति विस्तृत विवरण देखायो भन्ने हुन्छ । एक पिक्सल बराबर १० मिटर लम्बाइ र १० मिटर चौडाइ क्षेत्रको विवरण तस्बिरमा थियो । त्यो विश्लेषणले टोर्नाडो आएको प्रस्ट पारेपछि नै टोली तत्काल बारा, पर्सा अध्ययनमा जुटेको विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए ।
टोर्नाडोबाट बारा र पर्सा जिल्लामा २९ जनाको मृत्यु हुनुका साथै झण्डै २५ सय घर क्षतिग्रस्त भएका छन् । नेपालमै पहिलो पटक यसरी अमेरिकामा आइरहने जस्तै टोर्नाडो यहाँ देखिएको वैद्यले बताए ।
अमेरिकी क्षेत्रमा बढी आइरहेको टोर्नाडो पछिल्लो समय दक्षिण एसियाली मुलुकको ङ्गलादेशबाहेक अन्यत्र देखिएको थिएन ।



लाेकपाटी न्यूज

