प्रहरी विद्यालय : कस्तो हुन्छ पढाइ, कति छ शूल्क ?

nepal police school
लाेकपाटी न्यूज

सुजिता हमाल/काठमाडौं। देशका प्रमूख ७ स्थानमा विद्यालय सञ्चालन गर्दै आएको नेपाल प्रहरीले चितवनको भरतपुर र सुर्खेतमा पनि थप २ विद्यालय सञ्चालन गर्ने भएको छ। प्रहरीले सातै प्रदेशमा प्रहरीका विद्यालय सञ्चालन गर्ने योजनाअन्तर्गत भरतपुर र सुर्खेतमा विद्यालय सञ्चालन गर्न लागेको हो।

यसअघि उपत्यकाका साँगा र सामाखुसीमा प्रहरी विद्यालय सञ्चालन हुँदै आएको छ। त्यसैगरि प्रदेश नं.–१ मा धरान, प्रदेश–२ मा रौतहट, प्रदेश–४ मा तनहुँको बेलचौतारा, प्रदेश–५ मा दाङ र प्रदेश–५ मा धनगढीमा प्रहरी विद्यालय सञ्चालित छन्। काठमाडौंको साँगामा उच्च माध्यामिक तहको पढाइ भए पनि अरु विद्यालयमा माध्यमिक तहको पढाइ हुँदै आएको छ। यी विद्यालय वि.सं. २०४० सालमा स्थापना गरिएका थिए।

प्रहरीले विकास क्षेत्रको संरचनाअनुसार विद्यालय सञ्चालन गर्दै आएको यस वर्षबाट सङ्घीय ढाँचामा जान लागेको हो। पाँच वटा क्षेत्रीय विद्यालयलाई प्रादेशिक विद्यालयमा रुपान्तरण गरेर थप २ प्रदेशमा विद्यालय स्थापना गर्न लागिएको नेपाल प्रहरीका आर्थिक प्रशासन महाशाखा प्रमूख एसएसपी दीपक थापाले जानकारी दिए। थापाका अनुसार चितवन र सुर्खेतमा विद्यालय सञ्चालन भएपछि नेपाल प्रहरीका सातै प्रदेशमा गुणस्तरीय विद्यालय हुनेछन्।

कस्तो छ शूल्क र शिक्षा ?

नेपाल सरकारको २७ जेठ २०७५ मा सम्पन्न मन्त्रीपरिषदको बैठकले सातै प्रदेशमा प्रहरी विद्यालय सञ्चालन गर्न सैद्धान्तिक सहमति दिएको थियो। त्यसै निर्णयअनुसार थप २ स्थानमा प्रहरी विद्यालय सञ्चालन गर्न लागिएको हो। विद्यालय सञ्चालनका लागि प्रहरीको कल्याणकारी कोषबाट बजेटको व्यवस्था गरिनेछ। विद्यालयले आवश्यकताका आधारमा अन्य सरकारी निकायसँग पनि समन्वय गर्न सक्नेछ।

प्रहरीले सञ्चालन गरेका विद्यालयमा प्रहरी सेवामा कार्यरत कर्मचारीका छोराछोरी ६०% र नागरिकका छोराछोरी ४०% विद्यार्थीलाई भर्ना गरिन्छ। विद्यार्थीका लागि लिइने शूल्कको मापदण्ड पनि अलगअलग रहेको छ। विद्यालयमा प्रहरी जवान र हवल्दारका बच्चाबच्चीलाई न्यूनतम् शूल्क, असई र सईका बच्चाबच्चीलाई मध्यमस्तरको शुल्कको व्यवस्था गरिएको छ। त्यसभन्दा माथिको दर्जाका लागि शूल्कमा सहुलियत छैन। उनीहरुले नागरिकका बच्चाबच्ची सरहकै शूल्क तिर्नुपर्ने हुन्छ। तर, त्यस्तो शूल्क पनि अन्य विद्यालयको तुलनामा सस्तो नै छ।

प्रहरीले शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रम नै पढाउँदै आएको छ। त्यसका अतिरिक्त विद्यालयमा गेम, आर्ट एण्ड क्राफ्ट लगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ। अतिरिक्त क्रियाकलाप छात्राबासमा रहने र नरहने विद्यार्थीअनुसार फरक पर्दछ। प्रहरीको आफ्नै बलियो अनुशासन हुने कारण विद्यालयमा अध्ययनरत विद्यार्थी सानैदेखि मेघावी र चरित्रवान् हुने एसएसपी थापाको दावी छ।

विद्यालयमा शिक्षकहरुको छनोट खुल्ला प्रतिस्पर्धाबाट हुँदै आएको छ। प्राथमिक तहका लागिसमेत अधिकांश विद्यालयमा स्नातकोत्तर उत्तीर्ण गरेका शिक्षकहरु कार्यरत छन्। प्रहरीले आवश्यकताअनुसार शिक्षक तालीमसमेत सञ्चालन हुँदै आएको छ। प्रशासनमा भने प्रहरी अधिकृतबाट नै खटाइने गरेको छ। त्यसैका कारण प्रहरीले सञ्चालन गर्दै आएका विद्यालयमा शैक्षिक प्रगति र अनुशासन आशालाग्दो देखिन्छ।

कस्तो हुनेछ चितवनको प्रहरी स्कूल ?

चितवन जिल्लाको भरतपुर–१४, शान्तिपुरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय सञ्चालनमा थियो। तर, उक्त विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मापदण्डमा विद्यालय ‘मर्ज’को सूचिमा पर्‍यो। विद्यालय मर्जरमा जाने भएपछि नेपाल प्रहरीले भरतपुर महानगरले चर्चेको उक्त विद्यालयमा नै प्रहरी विद्यालय बनाउन पहल थालेको थियो।

वि.सं. २०७५ फागुन २९ गते भरतपुर महानगरपालिका र नेपाल प्रहरीबीच चितवनको शान्तिपुरमा प्रहरी स्कूल सञ्चालन गर्ने सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भयो। सम्झौतामा महानगर प्रमूख रेनु दाहाल र वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाको रोहबरमा महानगरका तर्फबाट शैक्षिक महाशाखाका प्रमूख भूमिलाल सुवेदी र नेपाल प्रहरीका तर्फबाट प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले हस्ताक्षर गरेका छन्।

सम्झौता पत्रमा महानगरले शान्तिपुरमा रहेको उक्त ३ बिघा जमिन र उक्त क्षेत्रफलमा बनेका संरचनाको भोगाधिकार विद्यालय सञ्चालनका लागि नेपाल प्रहरीलाई दिने, पूर्वाधार निर्माणमा प्रहरीले महानगरको मापदण्ड स्वीकार गर्ने, प्रहरीले वडा कार्यालयको समन्वयमा रेखदेख, नियन्त्रण र व्यवस्थापनको काम गर्ने, विद्यालय सञ्चालनका लागि प्रहरीले आवश्यकताअनुसार पूर्वाधार विकास गर्नसक्ने, महानगरले जग्गाको स्वामित्व प्रहरी विद्यालयलाई हस्तान्तरण गर्ने उल्लेख छ।

त्यसैगरि, पूरानो विद्यालयमा अध्ययनरत ५९ जना विद्यार्थीले प्रहरी विद्यालयमा स्वतः पढ्न पाउने, यस वर्ष १ देखि ५ सम्म कक्षा सञ्चालन गर्ने, कक्षा सञ्चालन गर्दा ४०% विद्यार्थी स्थानीय नागरिकका छोराछोरीबाट लिनुपर्ने, त्यसका लागि प्रवेश परीक्षा लिने, स्थानीयलाई प्राथमिकतामा राखी विद्यालयले छात्रवृत्तिको व्यवस्था गर्ने, प्रहरी विद्यालयले तत्काल पाँच लाखको अक्षयकोष स्थापना गर्ने, शिक्षक नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्ने, विद्यालयले स्थानीयलाई सहभागी गराएर वार्षिक सार्वजनिक सुनुवाई गर्ने, पूर्ववत् विद्यालयको अभिलेखीकरणलाई सुरक्षित राख्ने लगायतका विषय सम्झौतामा समेटिएका छन्।

कसरी हुन्छ शान्तिपुरमा कक्षा सञ्चालन ?

भरतपुरको प्रहरी विद्यालय माध्यमिक तहसम्म सञ्चालन गर्ने लक्ष्य राखिएको छ। तर, यस वर्ष कक्षा ५ सम्म मात्र सञ्चालन हुनेछ। प्रत्येक शैक्षिक सत्रमा कक्षा थप्दै वि.सं. २०८१ सम्म माध्यमिक तहको कक्षाले पूर्णता पाउनेछ। यसै वर्षदेखि विद्यार्थी भवन, प्रशासन भवन, विद्यार्थी र शिक्षकका लागि आवास गृह, मेस र चमेना गृह, सुरक्षाका लागि प्रहरी चौकी लगायतका पूर्वाधार निर्माण हुनेछन्।

विद्यालयका लागि प्रहरीले सुरेन्द्र बुढाथोकीलाई प्रिन्सिपलका रुपमा खटाएको छ। उनी यसअघि साँगा विद्यालयमा शिक्षकका रुपमा कार्यरत थिए। बाँकी शिक्षकहरुका लागि खुल्ला प्रतिस्पर्धा गरिसकिएको छ। ६० जना शिक्षकहरु मध्येबाट ५ जना शिक्षक छनोट भएका छन्। छनोट भएका शिक्षकको शैक्षिक योग्यता, श्रेणी, अनुभव र पाठ्यशैलीले आफूहरु उत्साहित भएको थापा बताउँछन्।

विद्यालयमा प्रत्येक कक्षामा ३० जना विद्यार्थी रहनेछन्। विद्यालयमा पुस्तकालय निर्माणको काम पनि प्रारम्भ भइसकेको छ। विद्यालयले ९१ जना विद्यार्थी कोटामा प्रवेश परीक्षाका लागि १५० जनाभन्दा बढी विद्यार्थीले आवेदन दिएका छन्। उनीहरुको लिखित परीक्षा हुनेछ। प्रवेश परीक्षाबाट प्रहरी कर्मचारी र नागरिक दुवैका छोराछोरी तोकिएको प्रतिशतमा छनोट हुनेछन्। विद्यालयले प्रहरी कल्याणकारी कोषको १० करोड बजेटबाट बहुवर्षीय योजनाअन्तर्गत २५० जना विद्यार्थी अट्ने छात्राबासको निर्माण गर्दैछ।

विद्यालय र त्यस क्षेत्रका स्थानीयको समेत शान्ति सुरक्षाका लागि प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना प्रहरी खटिएका छन्। प्रहरी ब्यारेक निर्माणका लागि प्रदेश–३ सरकारसँग पहल गरिएको र सकारात्मक प्रतिक्रिया आएको एसएसपी थापा बताउँछन्। अहिले तत्कालका लागि प्रहरीले मासिक चालीस हजारमा घर भाडामा लिएको छ। ‘२/३ वर्षमा सबै संरचना तयार हुन्छ। त्यसका लागि प्रहरी प्रधान कार्यालयबाट कार्यक्रम र बजेट स्वीकृत भइसकेको छ’ थापाले भने।

हाल विद्यालयको आफ्नै विद्यार्थी बस छैन। पब्लिक बस भाडामा लिएर विद्यार्थी आवातजावातको व्यवस्था गर्न लागिएको थापा बताउँछन्। ‘चितवन नेपालकै केन्द्र पनि हो’ थापा भन्छन्, ‘यहाँको विद्यालय नेपालकै नमूना बन्न सक्छ। प्रारम्भमा देखिएको आकर्षण हेर्दा त्यो लक्ष्य टाढा छैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्