सुर्खेत, २३ चैत । कर्णालीका कारागार भित्र पुस्तकालय, साहित्यीक जमघट र अध्ययन प्रतियोगिता शुरु भएको छ ।
कारागारलाई सुधार गृह बनाउने उद्देश्यसहित कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेशका १० जिल्लामा रहेका कारागारमा पुस्तकालय स्थापना गरेको हो ।
कैदीबन्दीको सुधार र सामाजिक पुनस्र्थापनाका लागि कारागार व्यवस्थित पुस्तकालय स्थापना गरिएको छ । मंसिरदेखि पाठ्यपुस्तक संकलन थालेको प्रहरीले शनिबार पुस्तकालय उद्घाटन गरेको छ । कैदीबन्दीमा पुस्तक अध्ययन गर्ने बानीको विकास गर्न जिल्ला तथा प्रदेश कारागारमा बुक क्लव गठन गरिएको हो ।
‘भन्ने बित्तिकै पुस्तक अध्ययन गराउन सहज छैन, कैदीबन्दीलाई पुस्तकप्रति आकर्षित गराउन बुक क्लव गठन गरिएको छ’ प्रदेश प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले भने, ‘गठन भएका ती क्लवमा हरेक शनिबार पुस्तक अध्ययन प्रतियोगिता र समिक्षा गर्नेछन् । हप्ताभरी अध्ययन गरेका पुस्तकमाथि विचार विमर्श हुनेछ । त्यसमध्ये उत्कृष्ट अध्ययनकर्तालाई पुरस्कृत गरिनेछ ।’
महिनामा उत्कृष्ट हुने कैदीबन्दीलाई पुस्तक पढेवापत कारागारको चिनोका रुपमा पुस्तक नै उपहार प्रदान गरिने छ । सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, जुम्ला, डोल्पा, कालीकोट जिल्लामा कारागारभित्रै पुस्तकालय स्थापना हुनेछ । हुम्ला र मुगुमा भर्खरै निर्माण भएका कारागार भवन हस्तान्तरण नभएकाले हुम्लाको जिल्ला प्रशासनको कार्यालयभित्र र मुगुको जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिदैं छ ।
प्रहरीले प्रदेशमा कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी महेशविक्रम शाहको संयोजकत्वमा पुस्तक संकलन अभियान समिति निर्माण गरेको थियो । जिल्ला–जिल्लामा प्रहरी प्रमुखको संयोजकत्वमा गठित समितिले पुस्तक संकलन गरेको छ । प्रदेश र जिल्ला प्रहरीले आठ हजार तीनसय ८८ वटा पुस्तक संकलन गरिसकेको छ । चार हजार दुईसय ८८ र जिल्लागत समितिबाट चार हजार एक सय ६ पुस्तक संकलन भइसकेको कारागारमा किताव अभियानका संयोजक एवम् डिआइजी शाहले बताए ।
अभियानका क्रममा ९ लाख ६८ हजार ६ सय ७५ रुपैयाँ बराबरको प्रदेश पुस्तकालय र ११ लाख ४० हजार एक सय ९७ रुपैयाँ बराबरका जिल्ला कारागारको पुस्तकालयका लागि पुस्तक खरीद गरिएको छ ।यस्तै अभियानका क्रममा पुस्तक प्रकाशन गृह, पुस्तकालयबाट पनि आवश्यक पुस्तक सहयोग मागिएको थियो ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पुस्तक खरिदका लागि पाँँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त अभियानको परिकल्पना गरिएको थियो । पुस्तक संकलन भएसँगै अभियान सफल भएको डिआइजी शाहले बताए ।



लाेकपाटी न्यूज

