मोरङ, २३ चैत । मोरङको उत्तरी क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपालिका–९ स्थित मधुमल्लामा बनाइएको घर टहरा प्रहरीले हटाएको छ। सार्वजनिक जग्गा मिचेर बनाइएका ३०० टहरा प्रहरीले हटाएको हो ।
मावा खोला नदी किनारमा रहेको उकास जमिनमा रातारात बनाइएको ३०० टहरा प्रहरीले भत्काएको हो । केही दिनअघि कोशी टप्पु क्षेत्रको सरकारी जग्गामा यसैगरी रातारात टहरा बनाएको पाएपछि प्रहरीले भत्काएको थियो । कोशी टप्पुकै घटनासँग मिल्दो जुल्दो गरी मिक्लाजुङमा पनि रातारात अस्थायी टहरा बनाएर बसेको पाइएको हो ।
एक सातायता सार्वजनिक जग्गा छेकेर बनाइएका करिब ३ सय टहरा शुक्रबार दिनभर लगाएर भत्काएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सुकुम्बासीका नाममा अनाधिकृत रुपमा टहरा बनाएको पाइएपछि हटाएको मिल्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिए ।
टहरा इलाम, पाँचथर, ताप्लेजुङदेखिका व्यक्तिहरु आएर निर्माण गरेका हुन् । मधुमल्ला र दमकबाट आएकाहरुले पनि जग्गा ओगटेका थिए । सार्वजनिक जग्गा हड्पनेहरुमा अधिकांश घर जग्गा भएकै व्यक्तिहरु थिए । ठूलो संख्यामा टहरा हटाए पनि कसले बसाएको भन्ने केही खुलेको छैन् ।



लाेकपाटी न्यूज

