बल्ल खुल्यो विध्वंश मच्चाउने आँधीको नाम

hawahuri
लाेकपाटी न्यूज

काठमाडौं, २३ चैत्र। आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नाडो’ आएको पुष्टि विज्ञले गरेका छन्।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो आएको पुष्टि गरेको हो। श्रेष्ठले भने, ‘‘टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ, जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ, बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन्।’’ 

सुरुमा आँधीबेहरी भनेर पूर्वानुमान गरिए पनि त्यसभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणाली विकास हुँदा टोर्नाडो बन्छ। उनका अनुसार, टोर्नाडो आउँदा सुख्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जदै चट्याङ, असिना पर्ने सँगै कडा आँधीको सिर्जना हुन्छ। त्यसले फैलिएको आकारबाट खुम्चिदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गर्छ।

उनले भनेजस्तै बारामा वर्षेको विपत्तिले स्थानीयका पक्की घरसँगै रूख, ठूला सवारी साधन, भौतिक संरचना सबै उखेल्ने, उडाउने र सोहोरेर लगेको छ। भूउपग्रहबाट लिइएका तस्बिरको अध्ययन गर्दै गर्दा सेन्टिनियल नामको भूउपग्रहले त्यो बेला नेपालको बारा, पर्सामा विपत्तिको भोलिपल्ट १०मिटर उचाइँबाट खिचेका तस्बिरको अध्ययनपश्चात् ‘टोर्नाडो’ नेपालमा आएको पुष्टि भएको उनले बताए।

यो भूउपग्रह हरेक पाँच दिनमा नेपालको आकाशमा आइपुग्ने गर्छ। फोटो हेर्दा जहाँ जहाँ त्यो टोर्नाडोले छोएको छ, त्यहाँ त्यहाँका संरचना बिगार्दै आफ्नो बाटो बनाउँदै गएको प्रस्ट देखिन्छ। टोर्नाडोले आफू हिँड्ने बाटो बनाउँदा सबैभन्दा बढी बाराको फेटा गाउँपालिकास्थित मानव बस्तीमा ठूलो धनजनको क्षति पुगेको पनि तस्विरमा प्रस्ट देखिन्छ।

फेटा गाउँपालिका क्षेत्र भएर करिब ३० किलोमिटरको क्षेत्रलाई यसले बाटो बनाएर अघि बढेको तस्विरमा प्रस्ट देखिएको उनले बताए। उनका अनुसार, यात्रामा जे भेट्यो, सबै क्षतिग्रस्त बनाएको पनि देखिएको थियो। विज्ञ श्रेष्ठले भने, “अझ स्पष्ट देखिन अमेरिकाको भूउपग्रहले खिचेको तस्बिर किन्नुपर्छ, त्यसका लागि प्रक्रिया सुरु गरेर पत्र पठाएका छौँ। ”सरकारले अनुरोध गरेमा त्यो तस्बिर निःशुल्क पनि प्राप्त गन सकिन्छ। एक मिटरको दूरीबाट खिचिएका ती तस्बिरले कसरी टोर्नाडोले क्षति ग¥यो भन्ने पूर्ण निक्र्योल हुनेछ।

जल तथा मौसम विज्ञान विभागमा जस्तै नास्टमा पनि मौसमको अध्ययन गर्ने छुट्टै शाखा छैन्। जलवायु तथा वातावरणको क्षेत्रमा काम गरिरहेको संस्था द स्मल अस नेपालका अध्ययनकर्तासँग मिलेर उनले अध्ययनगरेका थिए। आजको गोरखापत्रमा चाँदनी हमालले समाचार लेखेकी छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्