विकासका लागि सपना र सङ्कल्प चाहिन्छ (बहस)

ramchandra sharma
पर्यटन व्यवसायी रामचन्द्र शर्मा
त्यो कल्पनामा विकास हुन्छ, विकासको चरम उत्कर्षले एक विचारको जन्म गराउँदछ, यही विचार नै समाज विकास मानव विकास र प्रकृति विकासको अभेद हतियार हुने हो। यसको सदुपयोग भयो भने अथवा प्रकृति र समाजलाई ठिक ढङ्गगले अध्ययन गरेर उपयुक्त निष्कर्ष निकालियो र उपयुक्त योजना बनाई प्रयोग गरियो भने प्रकृतिमैत्री, मानवमैत्री, समाजमैत्री, विकासका अवसरहरु र्सिजना हुन्छन्, अन्यथा मनोगत ढङ्गबाट प्रयोग गरियो भने समाज र प्रकृति तहसनहस हुन सक्दछ।
लाेकपाटी न्यूज

रामचन्द्र शर्मा

बाल्यावस्था निन्द्रामा हुन्थ्यो। रोमाञ्चक र गतिशील बनाउनका लागि प्रकृति र समाजका अवयवहरुले एक कथाको रुप लिएको हुन्थ्यो र यसकै मद्दतले बाल्यकालको चिर निन्द्राले प्रगति र विकासको साधनको रुपमा भूमिका निभाइरहेको थियो। बाल्यकाल जति विकसित हुदैँ गयो, त्यति नै निन्द्रा घट्दै जान्थ्यो, वयस्क अवस्थामा निन्द्रालाई व्यवस्थापन गर्ने योजना बनाउनु पर्छ नै। वृद्ध अवस्थामा त निन्द्रा हरणको नै अवस्था सिर्जना हुनेछ।

मानव सभ्यताको विकास आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग, पूजीँवादी युगसम्म आइपुग्दा निन्द्राको व्यवस्थापनबाट नै भएको देखिन्छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानको भनाई छ, “सपनाहरुका लागि सम्झौता गर्नुपर्दछ। तर, आफना सपनाको सम्झौता भने कहिल्यै गर्न सकिदैँन” यो भनाइले पनि पुष्टि गर्दछ कि निन्द्राको व्यवस्थापन नै सपना हो। सपनाको रोमञ्चकता शायद अन्य कुनै घटनासँग जोड्न मिल्छ। हाम्रा सपनाहरु मुर्छित छन्, तिनलाई ब्युझाऔँ। सपनाले कल्पनाको विकास गराउँदछ,कल्पनाको विकास प्रकृतिसँग घट्ने घटनाक्रमहरुबाट भएको हुन्छ।

सपना रोमाञ्चक हुन्छ, कल्पना दर्दनाक, क्रन्दन र प्रशव पीडायुक्त छ। यसबाट नै संसारको विकास भएको हो। कल्पनाको जननी नै सपना हो। आकाशमा चरा नउडेको भए जहाज, समुन्द्रमा माछा नपौडिएको भए पानीजहाज, घोडाहरुको दौड नभएको भए सवारी साधन, परेवाको व्यवहार नभएको भए अहिलेको सञ्चार जगतको परिकल्पना सम्भव थिए। आज हामी जुन ऐस–आराम, दुःख सुःख चरम विकास चरम विनास, पूरानोको विघटन र नयाँको संघटनको सिर्जना गर्नसक्ने तागत नै सपना हो। प्रकृति र समाजका प्रतिविम्बहरुले नै एक सपनाको रुपधारण गर्न बाध्य पार्छ।

त्यो कल्पनामा विकास हुन्छ, विकासको चरम उत्कर्षले एक विचारको जन्म गराउँदछ, यही विचार नै समाज विकास मानव विकास र प्रकृति विकासको अभेद हतियार हुने हो। यसको सदुपयोग भयो भने अथवा प्रकृति र समाजलाई ठिक ढङ्गगले अध्ययन गरेर उपयुक्त निष्कर्ष निकालियो र उपयुक्त योजना बनाई प्रयोग गरियो भने प्रकृतिमैत्री, मानवमैत्री, समाजमैत्री, विकासका अवसरहरु र्सिजना हुन्छन्, अन्यथा मनोगत ढङ्गबाट प्रयोग गरियो भने समाज र प्रकृति तहसनहस हुन सक्दछ।

आज हाम्रो देश गम्भिर सपनाको घनचक्करमा घुमिरहेको छ। मानव अंगमा सपनाको व्यवहार अनुभूत गर्ने अंग शीर त्यसमा पनि स्नायु प्रणाली मस्तिष्क हो। मस्तिष्कको विकास सपनाहरुको द्धन्द र रोमाञ्चकताबाट भएको हुन्छ। देशको सपनाको व्यवहार अनुभूत गर्ने अगं राजनीति त्यसमा पनि राजनेता ! राजनेताहरु सजिलो गरी उत्पादन हुने होइन, एउटा नेता जन्मनका लागि मानव समुदायको एक अध्यायले बृहत् कुर्वानी गरेको हुन्छ। त्यही नेतालाई सपना देख्ने हक हुन्छ, जसको विकास कल्पना हुदैँ विचारमा संश्लेषण गर्ने र व्यवहारद्धारा प्रदर्शन गर्ने क्षमता राख्दछ।

मुर्छित सपनाहरु सल्बलाउन थालेका छन्, हामीले देश विकास गर्नका लागि पानीजहाज, रेल, मोनोरेल, बुलेट रेल, एयरपोर्ट, स्मार्ट सिटी डिजिटललाइफ, उद्योगधन्दा, कलकारखाना, रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक सुरक्षा आदिको रुपमा एकै निन्द्रामा यति धेरै सपनाहरु देख्न थाल्यौँ ? के सपनाहरु देख्दैमा त्यसले कल्पनाको विकास गरेको हुन्छ त ? सपनाहरुको व्यवस्थापनले मात्र कल्पनाको विकास गर्न सक्छ, कल्पनाको व्यवस्थापनले मात्र विचारको विकास गर्ने हो। विचारको निर्देशनबाट मात्रै कार्यन्वयनको दिशा पकड्ने हो। सपनाहरुको व्यवस्थापन प्रकृतिसंगत प्रक्रियावद्ध हुनुपर्दछ। जसको कारण कल्पनामा अन्यौलता उत्पन्न नहोस।

यसो भन्नुको तात्पर्य के हो भने आज हामीले हाम्रो मस्तिष्क (हाम्रा नेता र सरकार) एकै निन्द्रामा धेरै सपनाहरु उद्घाटित गरेको छ। यो ठूलो अवसरको कुरा हो एकै निन्द्रामा यति धेरै सपनाहरु आउनु। तर, यसलाई थोरै मात्र तलमाथि व्यवस्थापनमा प्रक्रियावद्ध बनाउन सकेनौँ भने कल्पना अपाङ्ग जन्मन पुग्दछ। अपाङ्ग कल्पनाले विचारमा अन्यौलता र अराजकता सिर्जना गर्न सक्दछ, त्यसको परिणाम झन भयानक हुन जान्छ। तर, सपनाहरु राष्ट्रिय प्राथमिकताका आधारमा चिर अध्ययन सोचविचारसहित प्रक्रियावद्ध व्यवस्थापन गर्न सक्यौँ भने सुन्दर कल्पनाको जन्म हुन जान्छ। त्यसले सुन्दर वैज्ञानिक विचार संश्लेषण गर्दछ। र, चामत्कारिक कार्यान्वयनको गति पकड्न सक्दछ। अन्ततः समुन्नत समतामूलक मानव समाजको निर्माण गर्न सक्छ।

सपनाको प्राथमिककरण गर्नका लागि आधारभूत अन्तरिक वस्तुहरुमा विशेष अध्ययन गर्नुपर्दछ। अहिलेको पहिलो प्राथमिकता जनजीविका हो, जनताको दैनिकीलाई सुलभ, सरल र सुविधा सम्पन्न नबनाएसम्म जनतामा जागरण पैदा गर्न सकिँदैन। राज्यको विकास नै जनताहरुको आवश्यकताले हुने हो। जनजीविकाको सम्बोधन हुने खालका राहत प्याकेज, महङ्घी नियन्त्रणका लागि रासन कार्ड, सार्थक स्वास्थ्य बिमा एवं दुर्घटना बिमालाई सहुलियत रुपमा लागु गर्ने। यसले जनताहरु माझ राज्य छ भन्ने अनुभूत गराउँदछ, परिणाम त राष्ट्रिय एकता पैदा हुन्छ।

गाउँ-गाउँमा पुगेका जनतालाई पराधीन बनाउनका लागि भूमिका खेल्ने लघुवित्तलाई जनउद्यममैत्री बनाउनुपर्दछ। गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई पूर्णत गाउँबस्तीबाट अलग गराउनुपर्दछ। आर्थिक साक्षरता, उद्यम जागरण अभियान, विकास अभियान, स्थानीय मौलिक कार्यक्रमहरु सहकारीहरुको नेतृत्वमा गर्ने स्पष्ट नीति बनाएर सहकारीहरुको भूमिकलाई स्थापित गराउनु अपरिहार्य छ। शिक्षाको पहुँच आम समुदायमा पुर्‍याउ, जीवन उपयोगी शिक्षाको विकास गरौँ, श्रममा आधारित शिक्षाको प्रयोग गरौं, जसबाट ज्ञान र उत्पादन दुवै जनताले पाउन सक्दछन्।

गाउँघर र बजार जताततै जमिनहरु बाँझो भएर बसेका छन्। तिनीहरुको वैज्ञानिक उपयोग गर्नेबारे सोचौँ। राज्यले भूमि बैँक स्थापना गरी जग्गा लिजमा लिन, दिन र समुदायलाई सहकारीको माध्यमबाट सामूहिक कृषि उद्योगको रुपमा विकास गर्न सक्छ। त्यसो गर्दा वैदेशिक रोजगारीमा निरुत्साहित गर्ने अभियानको शुरुवात हुन सक्छ। सँगसँगै गाउँ शहरहरु आत्मनिर्भरताको बाटो पकड्न सक्छन्। राज्यले कृषिमा जति उत्पादन त्यति नै अनुदान दिने नीति लिनुपर्दछ। यसबाट कृषि क्षेत्रको विकासमा ठूलो जागरण सिर्जना हुन सक्दछ।

गाउँगाउँमा बाटोघाटो पुगेका छैनन्, पुगेका ठाउँमा पनि व्यवस्थित छैनन्। तिनीहरुको बारेमा गम्भिर समीक्षा गरौँ। नेपालको ग्रामिण बस्तीहरु प्रायः छरिएर रहेका छन्। विकासको मुख्य बाधक नै तिनै छरिएका बस्तीहरु हुन्। तिनको अन्त्य गरिदिनका लागि एकीकृत बस्तीहरुको निर्माण अभियान नै सञ्चालन गर्नुुपर्दछ। यसबाट पुरानाको बिघटन र नयाँको संघटनले मानव मष्तिस्कमा ठूलो कम्पन्न पैदा गराउँदछ। र, जनता स्वतस्फुर्त यो अभियानमा लाग्न अभिप्रेरित हुने, कार्यान्वयन समेत प्रभावकारी ढङ्गबाट स्वयं गर्नेछन्। यसबाट अनावश्यक बाटोघाटो खोल्ने घनचक्करको अन्त्य हुन्छ।

एकीकृत सुविधा सम्पन्न मार्गबाट बढीभन्दा बढी बस्तीलाई विकासको अनुकूल पर्यटनमैत्री बनाउन सकिन्छ। तुइनहरुको अन्त्य भई कष्टकर जीवनको समेत अन्त्य हुन्छ, रोजगारीको सिर्जना हुन्छ, प्रतिस्पर्धी क्षमताको विकास हुन्छ, सबैभन्दा महत्वपूर्ण त सपनाले कल्पनाको विशिष्ट रुप धारण गर्दछ। आज हामी स्वाधीनता, राष्ट्रवादका चर्को कुराहरु गर्दछौँ। तर, कसरी स्वाधीन हुने, राष्ट्रवादी हुने भन्ने सपनालाई कल्पनामा बदल्न प्रयास गरेका छौँ त ? भन्न सजिलो छ, गर्न गाह्रो छ।

कुनै पनि वस्तुको विकासको प्रधान पक्ष आन्तरिक हो, बाह्य पक्ष केवल सहयोगी मात्र हो। यो उल्लेख गर्नुको तात्पर्य के हो भने आजका दिनमा हाम्रो देशमा के–के उत्पादन हुन्छ, हामीले के–के उत्पादन गर्‍यौँ, के हामीले खाने चीजसम्म पनि पर्याप्त उत्पादन गर्न सकेका छौँ त ? उत्पादन कमजोर कसका कारणले ? हाम्रा कारण नै। अनि, हामी कसरी राष्ट्रवादी भयौँ ? राष्ट्रवादी अमुक देशलाई गाली गरेर भत्र्सना गरेर मात्र बन्न सकिदैँन। आफनो पाखुरामा पाइन हुञ्जेल सम्पन्न देशहरुमा गएर टाइसुट लगाएर विदेशी भूमिको प्रवर्द्धन गर्ने र देशलाई पाहुना घर बनाएर मेजमानी देखाएर मात्र हुँदैन।

गैरआवसीय नेपालीहरुले आर्जन गरेको त्यो सीप क्षमता र पूँजीलाई देश विकासमा केन्द्रित गरौँ न ! पहिला देश बनाउन लागौँ अनि मात्र “एकपटकको नेपाली सधैँको नेपाली” भन्ने नारालाई सार्थक बनाऔँ। आफनो देशलाई माया गर्न चाहदाचाहदै पनि देशको नीतिगत दलालीका कारण अघोषित रुपमा बेचिन पुगेका अरबका खाडीहरु, मलेसियाका झाडीहरुमा गएर आफनै पौरख बेच्ने तर स्वाभिमान नबेच्ने ति नेपाली युवायुवतीहरु राष्ट्रवादी हुन्, जसले बगाएको पसिनाको मूल्य प्रत्येक दिन रेमिटेन्सको रुपमा नेपाल पठाएका छन् र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। तिनीहरुलाई राष्ट्रिय उत्पादन र लगानी अभियानको सपना देखाऔँ।

हामी जहाँ छौं, जे छौं, आ–आफनो ठाउँबाट उत्पादन अभियान चलाऔँ, रेमिटान्सलाई संस्थागत रुपमा औद्योगिक लगानीको रुपमा विकास गरौँ। बढीभन्दा बढी उत्पादन गरौँ र आधारभूत वस्तुहरुको आयातमा पूर्ण रुपमा प्रतिस्थापन गर्ने बाटो बनाऔँ। यसले जनस्तरमा आय आर्जनको श्रोत बढ्दछ। श्रोतबाट बचेको पूँजी जुन पुर्वाधारयुक्त क्षेत्रमा नाफा कमाउने उद्देश्यले लगानी गर्न प्रोत्साहन गर्न सकिन्छ, यसबाट ठूला–ठूला पूर्वाधार र उद्योगहरु खोल्नका लागि प्राप्त तागत पैदा गर्दछ। यसरी देश आर्थिक रुपमा स्वाधीन हुन सक्दछ, आत्मनिर्भर हुन पुग्दछ। आफूलाई निर्यात गर्ने तहमा विकास गर्ने सामथ्र्य हासिल गर्न सक्दछ।

अर्को महत्वपूर्ण कुरा हाम्रो देशको व्यवसाय भनेका ट्रेडिङ विजनेश मात्र बनेको छ। ट्रेडिङ विजनेशबाट पनि राज्यले धेरै फाइदा लिन सक्नुपर्ने हो। तर, त्यो लिन सकेको देखिँदैन। मूल्य अभिवृद्धि कर व्यवसायको दर्ता र सेवा सुविधा झन्झटिलो प्रक्रियाका कारण राज्य लाभ लिनबाट चुकिरहेको छ। सबै खालका साना तथा ठूला व्यवसायीलाई सरल ढङ्गबाट कर प्रणलीमा सारथिको रुपमा सहभागी गराउनुपर्दछ। व्यवसायको वर्गीकरण गरेर कर छुटको व्यवस्था गर्नुपर्दछ। भन्सारबाट नै हुने अनियमितता रोक्नुपर्दछ। अण्डर विलिङ्गलाई अपराधको रुपमा व्याख्या गरिनुपर्दछ।

आर्थिक नियमावली सुधार गरी भ्याट निरन्तर बुझाउने वातावरण बनाउने, भ्याट बापत तिरेको रकम मध्येबाट कम्तीमा ३५% रकम ‘विजनेशम्यान प्रोभिडेण्ट फण्ड’को स्थापना गरी त्यसमा जम्मा गरिदिने व्यवस्था गर्नुपर्दछ। यसो गर्दा भविष्यमा करदाताले निवृत्तिभरण, पेन्सन र भत्ताको रुपमा त्यसको प्रतिफल पाउन सक्छ। र व्यवसायीले आफूले तिरेको कर मेरो भविष्यको सुनिश्चितताका लागि जम्मा गरेको हुँ भन्ने अनुभूति गराऔं। समुदायमा युवायुवतीलाई सहकारीमा गोलबद्ध बनाएर व्यापक रुपमा लघु उद्योगहरु खोल्ने नीति बनाऔँ। सहकारी, निजी, सार्वजनिक, संस्थागत, सामुदायिक क्षत्रको संयुक्त आर्थिक सहभागिता एवं लगानीमा ठूला–ठूला उद्योग, कलकारखाना, पर्यटन पूर्वाधार, यातायात लगायत आवश्यक संरचना बनाउन केन्द्रित गरौँ।

उद्योगधन्दा नाफामा नगइञ्जेलसम्म कर छुट, कच्चा पदार्थ, बजार, लगानीको सुरक्षा, क्षतिपूर्ति व्यवस्थाको सुनिश्चितता गरौँ। विस्तृत योजनासहित लगानीकर्ता उद्योगी संस्था र राज्यबीच दुईपक्षीय लगानी प्रवर्द्धन एवं सम्र्वधन सम्झौता गरी लगानीको नाफा र सुरक्षाको प्रत्याभूति गराऔं। यसले बृहत् उत्पादन क्रान्तिको रुपधारण गर्ने सम्भावना रहन्छ। जनस्तरमा ठूलो हौसला र जागरण पैदा गर्ने क्षमता अभिवृद्धि हुँदै बल्ल हामी आर्थिक रुपमा स्वाधीन र उत्पादनमा आत्मनिर्भर हुने वातावरणको निर्माण गर्न सक्दछौँ।

नेपालको आत्मनिर्भरताको मुख्य क्षेत्रहरु भनेका कृषि, पर्यटन र जलस्रोत नै हुन्। यिनीहरुको समुचित व्यवस्थापन र परिचालन नै राष्ट्र निर्माणको कोशेढुङ्गा साबित हुन सक्दछ। यसमा सम्पूर्ण ध्यान केन्द्रित गरौँ, निश्चित उपलब्धि हासिल गरी वैदेशिक लगानीकर्तालाई विश्वस्त पार्न सकिन्छ र आर्थिक रुपमा बलियो बन्न सकिन्छ।

प्राप्त सफलताको जगमा हामी रेल, बुलेट रेलहरु र ठूला–ठूला पूर्वाधारयुक्त आयोजनाहरु निर्माण गर्न केन्द्रित हुनुपर्दछ। एउटा रेल नेपालमा आएर भारत वा चाइना जानुले जीवनस्तरमा खासै परिवर्तन ल्याउन सक्दैँनथ्यो। तर, त्यो बेला हामीसँग निर्यात गर्ने वस्तुहरु हुनेछन्। ती वस्तुहरु अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने बिक्री वितरण गर्ने हैसियत राख्दछौँ। नेपालबाट खाली फर्कने रेललाई भरेर पठाइदिनेछौँ। यसले राष्ट्र र जनतामा ठूलो आशा र भरोसाको विकास गर्दछ। यसैमार्फत् राष्ट्रलाई चाहेजस्तो विकासको चरणमा आफनै मौलिकतामा प्रवेश गराउन सक्छौँ।

समाजवादी राज्य स्थापना गर्न जनता धनी हुनुपर्दछ। धन भनेको सत्ता हो, सत्ताको प्रयोग निरन्तर हर–हमेशा हुनुपर्दछ। यसबाट मात्र समाजको विकास हुनसक्छ। तपाईसँग काम छ, माम छ, दाम छ भने के–का लागि सङ्घर्ष ? सङ्घर्षको एउटा चरणको अन्त्य हुन्छ र नयाँ खालको सङ्घर्षको चरणमा प्रवेश गर्न सक्छौँ। त्यो सङ्घर्षमा बढीभन्दा बढी प्राकृतिक श्रोत र साधनहरुलाई मानव समुदाय अनुकुल कसरी प्रयोग गर्ने भन्ने विषयले प्रधानता पाउँछ, निरन्तर विकासका सिद्धान्तअनुसार अगाडि बढ्न सक्छौँ।

यही हाम्रो जीवन हो, संस्कार हो, दैनिकी हो, राष्ट्रिय अधिकार हो र मुर्छित सपनाहरु ब्युझाउने राष्ट्रिय व्यवहार हो। राष्ट्रलाई आर्थिक रुपमा स्वाधीन बनाउने हाम्रा लागि अवसर हो। एक जुगमा हामी एकपटक नै हौँ। देशलाई उलटपुलट पारौँ न त ! के यति पनि क्षमता हामीसँग छैन होला ?

(लेखक शर्मा पोखरा–पञ्चासे टुर एण्ड ट्राभल्सका अध्यक्ष हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्