चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबार भरतपुरमा रहेको जिल्ला कारागारको अनुगमन गरेकी छिन्।
अनुगमनका क्रममा प्रमुख दाहालले कारागारको वर्तमान अवस्था र सुधार गर्नुपर्ने वातावरणका बारेमा जानकारी लिएकी थिइन्। अनुगमनका क्रममा प्रमुख दाहालले कारागारलाई सुधार गृहका रुपमा विकास गर्नुपर्ने बताउँदै कैदी बन्दीहरुले पनि सोहीबमोजिम आफ्ना व्यवहारहरु सुधार गर्नुपर्ने बताइन्।
दाहालले भनिन्, ‘बिगतमा तपाईहरु जे–जस्तो गतिविधि गरेर यहाँ आउनुभयो। अब सबै बिर्सनुस् र अबका दिनहरुलाई सच्याउँदै अगाडि बढ्नुस्।’ अनुगमनका क्रममा कारागारभित्र क्षमताभन्दा बढी कैदी बन्दीहरुको पाएको भन्दै यसको क्षमता बिस्तारका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने बताइन्।
सो अवसरमा अग्नि नियन्त्रक उपकरण तत्काल महानगरले उपलब्ध गर्ने बताउँदै समस्याको रुपमा रहेको ढल निकासको व्यवस्थापनका लागि महानगरपालिकाले पहल गर्ने बताइन्। कारागारभित्र रहेका कैदी बन्दीहरुलाई सीप विकासका लागि महानगरपालिकाले सहयोग गर्ने समेत दाहालले बताइन्।
प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, प्रहरी प्रमुख सुशीलसिंह राठोरलगायतले महिला तथा पुरुष बन्दीगृहको अवलोकन गरेका थिए। भरतपुर कारागारमा ५०८ पुरुष र ५७ महिला कैदीबन्दी छन्। तीन जना आश्रित बालबालिका रहेका छन्।



लाेकपाटी न्यूज

