काठमाडौं, २१ चैत । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ तिनताप्केस्थित ना.३ च ३७६९ नम्बरको बोलेरो चालक महोत्तरी बर्दिवास नगरपालिका–१ बस्ने ३६ वर्षीय रामजस यादव र सहचालक १९ वर्षीय उज्वलबहादुर गुर्मछानेलाई अवैध लागूऔषध गाँजा करिब २ सय १२ केजीसहित प्रहरीले पक्राउ गरेको छ।
उनीहरुलाई बुधबार दिउँसो ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको सो बोलेरो जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पार्री पक्राउ गरेको हो ।
त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर चोकस्थित मलंगवा नगरपालिका–५ बस्ने २६ वर्षीय क्युमान अन्सारीसमेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब ८ सय ग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले मुसौली टोलबाट नवलपुरतर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सिराहाको धनगढिमाई नगरपालिका–१३ डंग्राहा टोलबाट करिब ८० केजी लागूऔषध गाँजा फेला पारी बुधबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीलाई देख्नासाथ ४ जना व्यक्तिले टाउकोमा बोकी ल्याउँदै गरेको ४ वटा बोरा फाली फरार भएपश्चात प्रहरीले बोरा जाँच गर्दा उक्त परिमाणको लागूऔषध बरामद गरेको हो । फरार ब्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।
लुटपाटमा संलग्न पक्राउ
धारिलो हतियार देखाई कुटपिट गरी लुटपाटमा संलग्न काठमाडौं बौद्ध बस्ने रामेछाप घर भएका २४ वर्षीय सौगात तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–५ कालोपुलस्थित प्रदेश नम्बर ३–०२–०००३ प १७९४ नम्बरको मोटरसाइकलमा सवार तामाङ र काठमाडौं बौद्ध बस्ने २३ वर्षीय लोपशन तामाङले बा.७२ प ४७६९ नम्बरको मोटरसाइकल रोकी मोटरसाइकलमा सवार दुई जना व्यक्तिहरुलाई धारिलो हतियार देखाई कुटपिटसमेत गरी उनीहरुको साथमा रहेको नगद ३१ हजार रुपैयाँ लुटी फरार भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई पक्राउ गरेको हो ।
कुटपिटबाट घाइते भएका दुवै जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । लुटपाटमा संलग्न लोपशन तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डेटोनेटरसहित पक्राउ
चिचिला गाउँपालिका–३ स्थित अरुण तेस्रो जलबिद्युत आयोजनामा काम गर्ने कामदार भोजपुर नगरपालिका–४ बस्ने २९ वर्षीय अर्जुन पाण्डेलाई डेटोनेटर ३ थानसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी बेस क्याम पिखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त डेटोनेटरसहित फेला पारी पक्राउ गरेको हो ।
चोरीका सामानसहित पक्राउ
चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ सडकमा सोही नगरपालिका–७ चेकपोष्ट बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपलिका–५ घर भएका २१ वर्षीय दिपेश गुरुङलाई चोरी गरिएका विभिन्न सामानसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चोरी गरिएका मोबाइल २ थान, मेमोरी कार्ड २ थान, एनसेलको सिम कार्ड १ थान र कागजपत्र नभएको बा।२६ प ३४३३ नम्बरको मोटरसाइकल लगायतका विभिन्न सामान सहित गुरुङलाई फेला पारी पक्राउ गरेको हो ।
जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ
भूमिकास्थान नगरपालिका–१ बस्ने १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान मल्लरानी गाउँपालिका बस्ने अन्दाजी ४५ वर्षीय रामचन्द्र घर्तीमगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालई जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी ढाकाबाङबाट खटिएको प्रहरीले घर्तीमगरलाई पक्राउ गरेको हो ।
प्रहरीलाई रड प्रहार गर्ने पक्राउ
डिउटीमा खटिएका २ जना प्रहरी कर्मचारीलाई रड प्रहार गरेको अभियोगमा सिन्धुली दुधौली नगरपालिका–७ घर भएका ४२ वर्षीय पदमबहादुर कार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका–९ स्युचाटार कमलपोखरी डाँडास्थित बाँसको झ्याङमा मादक पदार्थ सेवन गरी लुकेर बसेका कार्कीले फलामको रडले महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरी गस्ती टोलीलाई प्रहार गरेका थिए ।
रड प्रहारबाट घाइते हुनेमा प्रहरी हवल्दार र प्रहरी जवान गरी २ जना छन् । दुवै प्रहरी कर्मचारीको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।



लाेकपाटी न्यूज

