रिजल्ट राम्रो आउनेमा ढुक्क छु : करिश्मा मानन्धर

Karishma manandhar
लाेकपाटी न्यूज

काठमाडौं, २० चैत । नेपाली कलाकार क्षेत्रकी चर्चित अभिनेत्री करिश्मा मानन्धरले एसईईको रिजल्ट राम्रो हुनेमा ढुक्क भएको बताएकी छिन् ।

उनले समग्रमा सबै परिक्षा राम्रो भएको बताउँदै आफू नतिजाको व्यग्र प्रतिक्षामा रहेको बताएकी हुन् । ‘पास त पक्कै हुन्छु । तर ग्रेड के आउँछ । त्यो चाहीँ यकिन छैन । अहिलै कसरी भन्ने’ उनले भनिन्, ‘रिजल्ट ‘रामै्र आउनेछ । म ढुक्क छु ।’ आफूभन्दा धेरै साना उमेरको भाईबहिनीसँग एसईई दिँदा अलिकति पनि सङ्कोच नलागेको उनले बताइन् ।

‘परीक्षा बिहान थियो । जाममा परेर एक दिन ढिलो पुगेँ,’ करिश्माले परीक्षाबारे अनुभव सुनाउँदै भनिन्, ‘सामाजिक शिक्षाको जाँच थियो । त्यो मेरा लागि अप्ठ्यारो विषय थिएन । तर ढिलो भएकोले हतार–हतारमा परीक्षा दिनुपर्यो ।’ ‘पछाडि २ वटा प्रश्न रहेछन् । हतारमा त्यो हेरिन र उत्तर लेख्न पनि भ्याइएन,’ उनले परीक्षाका सबै विषयमध्ये यही विषय अलि बिग्रेको हुनुपर्ने अनुमान लगाइन् ।

परीक्षाका लागि भनेर उनले एक महिना घरमै बसेर तयारी गरेकोले राम्रो नतिजा आउने विश्वास गरेकी छिन् । अभिनेत्री मानन्धर अहिले फ्री छिन् । सोमबार एसईईको अन्तिम परीक्षा दिएकी उनले अहिले आफू पढाइको चापबाट मुक्त भएको बताएकी हुन् ।‘एसईई सकियो निकै आनन्द लागि रहेको छ,’ उनले भनिन्, ‘अहिले कपालमा तेल लगाएर आनन्दले घरमा बसिरहेकी छु । कहिले टिभी हेर्छु । कहिले सुत्छु । विन्दास भएकी छु ।’

तीन वर्षदेखिको नियमित स्कुले रुटिन सकिएकोले अहिले खुसी लागेको सुनाइन् । करिश्माले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट एसईई परीक्षा दिएकी हुन् । मैतिदेवीस्थित त्रिवेणी माविकी विद्यार्थी उनलाई सोही माविले विद्यालयको नियमित विद्यार्थीको रुपमा परीक्षामा सहभागी गराएको थियो ।

करिश्माले तीन बर्ष अगाडि मैतीदेवीमा रहेको त्रिवेणी माविमा कक्षा ८ देखि नियमित अध्ययन सुरु गरेकी थिइन् । उनी समान्य विद्यार्थीझैँ नियमित स्कुल जाने गर्थिन् । विद्यालयको हरेक कार्यतालिका पालना गर्थिन् । नेपाली चलचित्र क्षेत्रकी सदाबहार ‘ब्युटी क्वीन’को परिचय बनाएकी उनी अभिनयमा पनि व्यस्त रहँदै आएकी थिइन् । सुटिङ पर्दा स्कुलले उनलाई कहिले काहीँ छुट्टी पनि दिन्थ्यो । आफ्नो कामका लागि उनले प्रायः स्कुलको साप्ताहिक बिदाको दिन शनिबार र अन्य विदालाई सदुपयोग गर्दै आएकी थिइन् ।

‘बालबालिकाझैँ तीन वर्षको नियमित स्कुलको दैनिकी मेरा लागि कम चुनौती भने थिएन,’उनले अगाडि भनिन्, ‘अहिले स्कुले जीवन सकियो । स्कुल अनुभव रोमाञ्चक रह्यो । अहिले रमाइलो र आनन्द महशुस गरिरहेकी छु ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्