काठमाडौं, २० चैत । मौसमविद्को टोली विनासकारी आँधीबेहरीको अध्ययन गर्न बारा र पर्सा जाने भएको छ ।
मौसम विज्ञान विभागबाट वरिष्ठ मौसमविद्सहितको टोली बुधबार त्यसतर्फ जान लागेको हो ।
टोलीमा वरिष्ठ मौसमविदद्वय सुजन सुवेदी र अर्चना श्रेष्ठ तथा सहायक मौसमविद गोविन्द झा छन् ।सरकारले उनीहरुले स्थलगत अवलोकन गर्ने र टोलीले ल्याउने रिपोर्टका आधारमा थप अध्ययनको लागि अर्को उच्चस्तरीय टोली बनाउने(नबनाउने भन्ने निर्णयमा पुग्ने तयारी गरेको छ । मौसमविद्ले सानो क्षेत्रमा मात्रै क्षति र्पुयाउने गरी बारा र पर्सामा आएको हावाहुरी असामान्य रहेको र यो अध्ययनको विषय भएको बताउँदै आएका छन् । मौसमविद विभूति पोखरेलले भनिन्, ‘यो नेपालमा एक्सट्रिम केस हो । यसको अध्ययन जारी छ ।’
मौसमविद भन्छन् पूर्वानुमान थियो, यत्रो आउला भन्ने थिएन आइतबार बेलुकीपख आएको हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको मृत्यु भएको थियो । ३ सय ८४ जना घाइते भएको गृहमन्त्रालयको तथ्यांक छ । वायुमण्डलको माथिल्लो र तल्लो तहमा तातो चिसो हावा एकैचोटी बहदा हुरी आयो । तातो हावा माथि जान खोज्ने र चिसो हावा तल जान खोज्ने संघर्षले भूमरी आएको र त्यसमा स्थानीय वायु पनि मिसिँदा धेरै क्षति भएको प्रारम्भिक अनुमान मौसमविदले गरेका छन् ।
सो दिन बारा र पर्सामा ४८ नटको वेगले आँधी आएको मौसमविदले बताएका छन् । यसअघि नेपालमा ३० नटभन्दा शक्तिशाली आँधी आएको रेकर्ड थिएन ।



लाेकपाटी न्यूज

