सहकारीको संख्या ५०% ले घटाउँछौं : मन्त्री अर्याल

padma aryal
लाेकपाटी न्यूज

काठमाडौं। सहकारी दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अहिले भएका सहकारी संख्या पाँच वर्षभित्र ५० प्रतिशतले कम गराउने बताएकी छिन्।

६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै मन्त्री अर्यालले सहकारीको संख्या बढी हुँदा मन्त्रालयले मर्जरको अभियान थालेको बताएकी हुन्। ‘अब पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय अगाडि बढेको छ’ उनले भनिन्।

मन्त्रालयले सहकारीको मर्जर अभियान नियमावलीमा उल्लेख गरेर थालनी गरेको भन्दै सहकारीहरू मर्जर नभएमा सञ्चालन हुन नसक्ने बताइन्। सहकारी अब अझ बढी गाउँकेन्द्रित हुनुपर्ने भन्दै उनले सहकारी शहरमा बढी भए भन्ने आरोप आइरहेका बेला अब सहकारी गाउँकेन्द्रित भएर उत्पादनमा लाग्नुपर्ने बताइन्।

अब सहकारीलाई व्यवसायिक बनाउनुपर्ने अभियानमा मन्त्रालय लागेको भन्दै उनले सहकारी संस्थाको संख्या धेरै हुँदा गुणस्तरीयतामा कमी आएकोसमेत बताइन्। केही २÷४ संस्थाबाट भएको बदनामीका कारण सहकारीमाथि प्रश्नचिह्न खडा भएको बताउँदै मन्त्री अर्यालले अब सहकारीलाई यस्ता कुराबाट टाढा राखेर समृद्धिको अभियानसँग जोड्नुपर्ने बताइन्।

‘गाउँ, एक एक सहकारी’ भनेर सहकारीलाई समृद्धिको अभियानसँग जोड्नुपर्छ, मन्त्री अर्यालले भनिन्। मन्त्रालयले भर्खरै बजारीकरणको कार्यक्रम शुरू गरेको भन्दै उनले यसलाई काठमाडौं आसपास हुँदै देशैभर बिस्तार गरिने बताइन्।

सहकारीलाई उद्योगको लगेर गरिबी न्यूनीकरणका निम्ति प्रमुख कार्य गरिने भन्दै उनले सातै प्रदेशका सबैभन्दा बढी गरिब भएका स्थानीय तहहरूमा गरीब लक्षित कार्यक्रम सञ्चालन गरिने समेत बताइन्।

एउटा स्थानीय तहले एउटा सहकारीले जिम्मा लिने गरी समृद्धिको अभियान सञ्चालन गरिने भन्दै मन्त्री अर्यालले अबको समृद्धिको आभार भनेको सहकारी नै भएको बताइन्।