अल्जेरियाका राष्ट्रपति बोतेफ्लिकाले राजीनामा दिने

algeria
लाेकपाटी न्यूज

अल्जेरिया १९, चैत । अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिकाले आगामी अप्रिल २८ अघि नै राजीनामा दिने तयारी गरेका छन् ।

बुढ्यौलीका कारण अशक्त अवस्थामा पुगेका राष्ट्रपति बोतेफ्लिकाले आगामी अप्रिलमा राजीनामा दिने तयारी गरेकोे राष्ट्रपतिको कार्यालयले जनाएको छ । अशक्तताका कारण सार्वजनिक समारोहमा समेत उपस्थित हुन छाडेका ८२ वर्षीय राष्ट्रपति अब्देलाजीजले राजीनामा गर्नुपर्ने माग गर्दै केही समयदेखि देशव्यापी विरोध प्रदर्शनसमेत भएको थियो ।

देशव्यापी प्रदर्शन बढ्दै गएपछि राष्ट्रपतिका विश्वासपात्र उच्च पदस्थ व्यक्तिहरूले समेत राजीनामा दिएका छन्। विगत २० वर्षदेखि अल्जेरियाको राष्ट्रपति रहेका अब्देलाजीजलाई सन् २०१३ मा हृदयाघातसमेत भएको थियो।
‘केही महत्वपूर्ण निर्णयहरू गरेपछि राष्ट्रतिले राजीनामा गर्ने छन्’ अब्देलाजीजको कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । तर राष्ट्रपतिले के निर्णय गर्न खाजेका छन भन्ने केही खुलाइएको छैन । राष्ट्रपति अब्देलाजीजले गत फेब्रुवरीमा आफू पुनः राष्ट्रपतिमा उठ्न सक्ने बताएपछि राष्ट्रव्यापी प्रदर्शन तीव्र बनेको हो ।

उनी अहिले चौथो कार्यकालमा छन्। तर, राष्ट्रपतिले गत महिना राष्ट्रपतिमा नउठ्ने घोषणा गरेको तर अप्रिलका लागि तयारी गरिएको राष्ट्रपतिको चुनाव एकाएक स्थगित गरे । चुनाव स्थगित गरिएपछि राष्ट्रपतिमाथिको आक्रोश अझ बढेको छ । गत मङ्गलबार अल्जेरियाका सेनाप्रमुख जनरल अहमद सलाहले राष्ट्रपति स्वयंले राजीनामा गर्नुपर्ने अथवा संसदले राष्ट्रपतिलाई विस्थापित गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । सेनाप्रमुख सलाहलाई सन् २००४ मा राष्ट्रपति अब्देलाजीजले नै नियुक्त गरेका थिए । गत बुधबार हालै मात्र हटाइएका प्रधानमन्त्री अहमद औहाइयाले पनि राष्ट्रपतिको राजीनामा माग गरेका थिए ।

अल्जेरियाको संविधानअनुसार राष्ट्रपतिले राजीनामा बुझाएको अवस्थामा राष्ट्रियसभाका सभामुखले अन्तरिम राष्ट्रपतिका रूपमा कार्य गर्न सक्नेछन्। अन्तरिम राष्ट्रपतिले ९० दिनभित्र राष्ट्रपतिको चुनाव गराउनु पर्नेछ ।