हावाहुरी क्षेत्रमा ‘लभ स्टेशन’ टीम

Love station film
लाेकपाटी न्यूज

काठमाडौं। यही शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको अभिनेता प्रदीप खड्का स्टार फिल्म ‘लभ स्टेशन’ टिम यतिबेला समाजसेवामा पनि सक्रिय छ।

करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई एक लाख र ४५ जना अनाथ बालबालिकालाई पढ्नका लागि लाग्ने भर्नासहित तीन महिनाको मासिक शुल्क प्रदानपछि फेरि फिल्म टिमले बारा–पर्सामा गएको भीषण हावाहुरीबाट पीडितलाई सहयोग घोषणा गरेको छ।

हावाहरीबाट भएको क्षतीपछि उद्धार, उपचार, राहत र सहयोगमा आफूहरुको साथ रहने बताउँँदै अभिनेता खड्काले यस विपतको समयमा सहयोगको लागि सबैसँग आग्रह पनि गरेका छन्।

सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै ‘लभ स्टेशन’का प्रस्तुतकर्ता गोविन्द शाही र प्रदीपले बारा जिल्लाका हावाहुरी पीडितहरुलाई ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्।

‘बारा जिल्ला बिपद् ब्यवस्थापन कोष’मार्फत सो रकम पीडितहरुका लागि सहयोग गरिने अभिनेता प्रदीपले बताए। बाराका जिल्ला प्रशासन प्रमुखसँग सम्पर्क गरी पीडितहरुलाई राहत तथा अन्य सहयोगका लागि अभिनेता प्रदीपले अपिल पनि गरेका छन्।

निर्माता गोविन्द शाहीले पनि पीडितलाई सहयोगका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। फिल्म ‘लभ स्टेशन’मा प्रदीपले अभिनेत्री जसिता गुरुङसँग रोमान्स गरेका छन्। यसअघि यी दुईले फिल्म ‘लिलिबिली’मा पहिलो पटक स्क्रिन साझेदारी गरेका थिए।

फिल्मलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन्। प्रदीप र जसिताका अलावा फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल लगायतका कलाकारको पनि अभिनय छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्