बारा, १९ चैत । बारामा आइतबार राति आएको विनाशकारी हुरीबतासका कारण घाइते भएका पीडितहरू रातभर खुला आकाश मुनि बस्न बाध्य भएका छन् ।
बाराको फेटा गाउँपालिका वडा नम्बर १ भलुही गाउँका दलित बस्तिमा पीडितहरू रातभर खुला आकाश मुनि चाउचाउ र पानीको भरमा रात काट्न बाध्य भएका छन् । विनाशकारी हुरीबतासका कारण भलुही गाउँका दर्जनौं घरहरू भत्किएपछि त्यहाँका स्थानीयहरू खुला आकाशमुनि भाउचाउ र पानीको भरमा रात काट्न बाध्य भएका हुन् ।
६० बर्षीय राम सुरत दास ६० दिनको नातिनीलाई काखमा राखेर रातभर खुल्ला आकाशमा बस्न बाध्य छन् ।आइतवार साँझ आएको ठूलो हुरी बतासका कारण दासले आफ्नो श्रीमती मतिलेश्वर देबी र बुहारी रुना देबीलाई गुमाउनु परेको छ । सोमबार साँझ दाह संस्कार गरे पनि किरियामा बसेका दास आफ्नो छोरा भीम दाससँगै नातिनीलाई लिएर खुला आकाशमैं रात काट्न बाध्य छन् ।
चिउरा मिठ्ठा खाएर त्यहाँका स्थानीयले रात काटे । उनीहरूकै छेउमा अर्की ६० बर्षीय महिला कुन्ती देबी भत्किएको घर अगाडी एउटा चटाईमा रात भर बसिरहेकी थिइन् । उनको परिवारमा १२ जना सदस्य छन् । छोराहरू परमानन्द राउत, रामप्रसाद राउत, बिरेन्द्र राउत, जय कर्ण राउत, शत्रुघन राउत, राम शरण राउत, बुहारीहरू सुगन्धि देबी, सबिता देबी, अन्जु देबी, अनिता देबी, तेतरी देबी र नाती नातिनीहरू सहितको परिवारलाई सम्हाल्न गाह्रो भएको छ ।
‘१२ दिनको एक जना नाति अभिमन्यु र २० दिनको अर्को नाति बिरेन्द्रलाई छिमेकीको घरमा राखेकी छु,’ कुन्ती देबीले भनिन्, ‘रात कसरी काट्ने?’ घर भत्किदा परिवारका सबै जसो सदस्य घाइते भएको भन्दै उनले रात भर जागै बस्नु परेको र आज पनि रातमा जागेरै बस्नु पर्ने बाध्यता रहेको बताइन् ।
‘सरकारले राहतको नाउँमा चाउचाउ र मिनरल पानीको बोतल सोमबार बिहान दिएको थियो,’ परमानन्द राउतले भने, ‘सरकारले हामीलाई रात काट्न तत्काल एउटा पाल त दिएको भए हुन्थ्यो ।’ सोमबार दिनभर प्रदेश सरकारका मन्त्रीदेखि विभिन्न सांसद र नेताहरू आएपनि रातमा बस्नका लागि पाल भने कसैले नदिएको उनको गुनासो छ ।
अहिले उनीहरू घरबार बिहिन भएपछि रात काट्न ठूलो समस्या भएको छ । पाल पनि नहुँदा खुल्ला आकाशमा रात काट्दा बच्चाहरु बिरामी पर्ने खतरा बढेको र कतिपय बालबालिका त्यसै पनि बिरामी भई सकेको स्थानीय बताउँछन् ।



लाेकपाटी न्यूज

