काठमाडौं, १८ चैत। आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ। ५ सयभन्दा बढी घाइते भएका छन्।
हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ। ठूलो हताहती भएकाले मृतकहरुको पहिचान हुन सकेको छैन। धेरै मानिसहरु घाइते भएपछि उनीहरुको उपचारका लागि रगत अभावभएपछि नेपाली सेना तथा नेपाली प्रहरीका जवानहरु र सर्वसाधारण नै रक्तदानमा जुटेका छन्।
अस्पताललाई एकैपटक धेरै घाइतेहरुलाई रगत आवश्यक पर्दा रगत अभाव भएको जनाइएको छ। प्रदेश नम्बर २ मा मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले ट्वीट गर्दै रगत अभावका भएकोले रक्तदान गर्न आह्वान गरेका हुन्।
धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै सोमबार बसेको प्रदेश–२ को मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई रु. तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ। कलैया, वीरगञ्जलगायतका अस्पतालमा घाइते उपचार भइरहेको छ।
सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मी रातिदेखि उद्धारमा खटिइरहेका छन्। प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने बैठकले निर्णय गरेको छ।
ट्रक पल्टाउने हुरी
आइतबार साँझ बारा, पर्सा, रौतहट लगायतका जिल्लामा आएको हुरी यस वर्षकै शक्तिशाली भएको मौसमविदहरुले बताएका छन्। हावाहुरीले घरका छाना मात्र उडाएन, ठूलठूला रुखसमेत ढलेर सडक अवरुद्ध भएको छ। हावाहुरीका कारण मधेशको जनजीवन नै अस्तव्यस्त भएको छ।
हुरी यति शक्तिशाली आयो कि बाटोमा गुडिरहेका ट्रकसमेत एकाएक पल्टिए। आइतबार साँझको हावाहुरी २०७२ मा आएको महाभूकम्पभन्दा पनि शक्तिशाली थियो। भूकम्पका बेला पनि सडकमा गुडिरहेका सवारी साधन पल्टिएका थिए। आइतबार पनि त्यस्तै दृश्य देखियो।
मिलेन मौसमविद्को पूर्वानुमान
आइतबार बारा र पर्सामा ठूलो धनजनको क्षति हुने गरी भीषण हावाहुरी चल्यो। तर, मौसमविदले यति ठूलो हावाहुरी चल्छ भनेर पूर्वानुमान गरेका थिएनन्। मौसमविद मिनकुमार अर्यालका अनुसार प्रविधिको अभाव र भौगोलिक अवस्थाका कारण ठूलो हावाहुरीको पूर्वानुमान गर्न गाह्रो हुने बताए।
ठूलो हावाहुरी आउँदैछ भनेर पूर्वानुमान गर्न समस्या हुने गरेको मौसमविदको भनाइ छ। नेपालमा सबै खालका मौसमको पूर्वानुमान गर्ने क्षमता नभएकाले आइतबार तराईमा ठूलो हावाहुरी आउने अनुमान गर्न नसकिएको उनले बताए।
पूर्वानुमान गर्न नसक्दा नागरिकलाई पूर्वसूचना दिन नसकेको र त्यसैका कारण बढी मानवीय क्षति भएको महाशाखाको दावी छ।



लाेकपाटी न्यूज

