अवैध लागूऔषधसहित चार पक्राउ

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, १७ चैत । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–१ गागलफेदी बस्ने ५० वर्षीय रामशरण पौडेल र ४० वर्षीय बहादुर लामालाई करिब १२ केजी अवैध लागूऔषध गाँजासहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंकै चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित झापा गौरीदह नगरपालिका–३ घर भएका २५ वर्षीय समीर अधिकारीलाई नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ४७ एम्पुल, फेनरागन १ सय ४५ एम्पुल र नुर्फिन १ सय ४६ एम्पुलसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले भैरहवाबाट काठमाडौं आउँदै गरेको लु.१ ख ९२४२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार अधिकारीलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–२६ पकनाजोल डेरा गरी बस्ने सोही महानगरपालिका–३४ घर भएकी ३८ वर्षीया सुनिता गिरीलाई नियन्त्रित लागूऔषध प्रोनेथाजिन ९३ पिस, प्राजेलाद ४३ पिस, नुर्फिन ३३ एम्पुल, फेनारगन ३५ एम्पुल, नाईट्रोजेपाम ३४ एम्पुल र नाईट्राभेट १० ट्याब्लेट तथा नगद १ हजार ७ सय ५० रुपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्