काठमाडौं, १५ चैत । चाबहिलको मेडिकेयर अस्पतालबाट उपचार गरेर गोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल कारञ्जित ट्याक्सी चढे ।
अस्पतालबाट बुवालाई ट्याक्सी चढाएर छोरा प्रवीणचाहिँ मोटरसाइकलमा हिँडे र धेरै बरेसम्म बुवा घर नआएपछि निकै छटपटाए । ट्याक्सी चढेको केहीबेरमै गोपाल छट्पटाउन थाले । उनी चढेको बा १ ख ३८५१ नम्बरको ट्याक्सीका चालकले गति शून्य पारे । नजिकै हेल्पिङ ह्याण्ड अस्पताल थियो । त्यहीँछेऊ सडक किनारमा उनले गोपाललाई तानेर ट्याक्सीबाट झारे र ट्याक्सी हुइँक्याए ।
छोराले स्कुटरमा भन्दा ट्याक्सीमा सहज हुन्छ भन्ने सोचरट्याक्सीमा बुवालाई राखेर आफू स्कुटरमा घर गएका थिए । ट्याक्सीको अगाडिको सीटमा बसेका उनका बुवा गोपाललाई ट्याक्सी चढेको केही मिनेटमा नै असहज भयो । उनी बुरुक्क उफ्रिएर बेहोस भए । त्यसपछि ट्याक्सीका ड्राइभरले उनलाई अस्पताल लानुको सट्टा ट्याक्सीबाट निकालेर धुलाम्मे सडकमा छोडिदिए र भागे ।
सडकमा लडिरहेका गोपाललाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले गोपाललाई अस्पताल र्पुयाएको थियो तर त्यतिबेलासम्म उनको निधन भइसकेको थियो । यस्तो अमानविय हर्कत गरेपछि गोपालका छोरा प्रविणले प्रहरीमा उजुरी गरे । त्यसपछि प्रहरीले सीसी टिभी फुटेजको अध्ययन थाल्यो । हेल्पिङ ह्याण्डको सीसीटीभी फुटेजमा गोपाल चढेको ट्याक्सी र गोपाल बेहोस भएपछि लतार्दै ट्याक्सीबाट बाहिर निकालिएको दृश्य कैद भएको थियो ।
यसकै आधारमा प्रहरीले बिरामी यात्रुलाई सडकमै अलपत्र छाडेर भाग्ने बा १ ख ३८५१ नम्बरको ट्याक्सीका चालक कमल श्रेष्ठलाई पक्राउ र्गयो । पक्राउ परेका ट्याक्सी चालकले प्रहरीलाई दिएको बयान अनुसार मृतक गोपल अचानक उफ्रिएजस्तो गरे लगत्तै बेहोस भएपछि उनले अत्तालिएर ‘के गरौं, कसो गरौं’ भएर आफूले बाहिर निकालेर भागेको बताएका छन्।
परिवारको किटानी जाहेरीको आधारमा प्रहरीले ट्याक्सी चालकलाई सार्वजनिक शान्तिविरुद्धको अपराध गरेको भन्दै मुद्दा चलाउने प्रक्रिया अगाडि बढाएको छ ।



लाेकपाटी न्यूज

