मनहरि तिमिल्सिना
रवीन्द्रजी, नमस्कार। पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड अमेरिकी अस्पतालमा पुगेर फर्किएको विषयमा केन्द्रित रहेर यहाँले लेख्नुभएको आलोचनात्मक टिप्पणी पढ्ने अवसर मिल्यो। सर्वप्रथम यहाँको आलोचनात्मक टिप्पणीका लागि हार्दिक धन्यवाद। लेखमा यहाँले उठाउनुभएको सुशासन र समृद्धिको चिन्ताप्रति सहमत हुँदै केही विषयमा टिप्पणी गर्ने अनुमति चाहन्छु।
यहाँले पत्रमा प्रचण्डले अमेरिकामा मात्र होइन, नेपालका अस्पतालमा पनि उपचार गर्ने हैसियत राख्दैनन्, उनको यत्रो पैसा कहाँबाट आयो ? भन्ने सवाल उठाउनुभएको छ। यहाँको लेख जिज्ञासामा आधारित नभएर प्रचण्डको चिन्तन र निष्ठामा केन्द्रित देखिन्छ। प्रचण्डसँग नजिक रहेर काम गरेका कारण उनीबारे तपाईभन्दा म नै बढ्ता जानकार छु, म नै सत्यको नजिक छु भन्ने मेरो दावी छ। तसर्थ, मेरो टिप्पणी तपाईको जस्तो कल्पना होइन, धरातलमा उभिएको हुन्छ।
म कुनै कल्पनामा होइन, तथ्यमा उभिएर यहाँले उठाउनुभएका केही सवालहरुमाथि टिप्पणी गर्न चाहन्छु। म यहाँले लेखमा भनेजस्तो कुनै ‘अरिङ्गाल’ होइन। तर, गोला अर्थात् आफ्नो निवासमाथि आक्रमण गरेपछि घर जोगाउन प्रतिरक्षाको कदम चाल्नु अरिङ्गालको पनि बाध्यता हुन्छ। यसर्थ, यहाँले मलाई अरिङ्गालकै रुपमा लिनुभए पनि त्यसमा मेरो कुनै गुनासो रहने छैन।
म यहाँको लेखमा नै केन्द्रित हुन चाहन्छु। लेखमा यहाँले प्रचण्डको अमेरिका भ्रमणका बेला त्रिभूवन विमानस्थलमा देखिएका २ अलग परिदृश्यको उठान गर्नुभएको मात्रै छैन, त्यसलाई यहाँले यस युगकै शक्तिशाली कथाको संज्ञा दिनुभएको छ। यहाँले त्यसलाई युग भन्दा अत्युक्ति भए पुस्ताको कथा भन्न सकिने तर्क पेश गर्नुभएको छ। तिनै २ तस्वीरको तुलना गरेर यहाँले नेपाली समाजको अर्थ–राजनीतिक विश्लेषण गर्न खोज्नुभएको छ, जुन विश्लेषण पढ्दा मैले हाँसो थामिरहन सकिनँ।
प्रचण्डको बिदाइका लागि विमानस्थल पुगेका युवा र छोराको बिदाइ चिहाइरहेका बृद्धाको तस्वीरबीच कुनै संगति छ ? ती दुवै परिघटना नियोजित थिए कि आकस्मिक ? रवीन्द्रजी, यहाँ पनि राजनीतिक कामका लागि पटकपटक देश–विदेश शयर गरिरहनुभएको छ। के तपाई हिँड्ने बाटोमा, तपाई जाने बिमानस्थलमा सबै धनाढ्य मात्र भेटिन्छन् ? कि तपाई ती गरीब र निमूखाभन्दा अलग्गै बस्न रुचाउनुहुन्छ ? हुन त यहाँलाई सङ्घर्षको राजनीति अनौठो लाग्ला। यहाँको पार्टीमा पनि सुकिलामुकिलाकै हालीमुहाली छ। त्यस्तो पार्टीमा गरीबहरु भेट्न मुस्किल नै पर्छ। अनि, गरीब नै भेट्न नपरेपछि तपाईसँग उनीहरुको प्रसङ्ग जोडिन्नँ, जोड्न पनि आवश्यक रहेन।
यस सन्दर्भमा म एउटा प्रसङ्ग उल्लेख गर्ने अनुमति चाहन्छु। केही समय पहिला नेकपाका अध्यक्ष प्रचण्ड पार्टी कामको सिलसिलामा कास्कीको घान्द्रुक पुगेका थिए। बाटोमा उनलाई कार्यकर्ता र शुभेच्छुकले स्वागत गरे। खाना खाने ठाउँमा प्रवेश गर्नै लाग्दा एउटी बृद्धा भेटिइन्। प्रचण्डको गलामा माला थियो। ती वृद्धालाई प्रचण्डले नमस्कार गरे, सञ्चो–बिसञ्चो सोधे। त्यसपछि उनी अघि बढे। पत्रकारले उनको भलाकुसारीको फोटो लिएनन्।
प्रचण्ड वृद्धासँग बिदा मागेर अघि बढे। त्यतिञ्जेल ती वृद्धा प्रचण्डको पछाडि परिसकेकी थिइन्। त्यही बेला फोटो खिचियो। सोसल मिडियामा पोष्ट गरियो र भनियो, ‘सर्वहारा वर्गको नेता प्रचण्डले ती वृद्धाको वास्तै गरेनन्, अपमान गरे।’ प्रचण्डले भलाकुसारी गरेको नदेख्ने ‘विद्धान्’हरुका आँखामा उनी निर्दयी भए, गद्दार भए। अभिजात वर्गका नेताको दर्जामा उभ्याइयो। रवीन्द्रजीको तुलना पनि त्यसभन्दा पृथक छैन।
जहाँसम्म यहाँले नेता र जनताको जीवनस्तरको तुलना प्रस्तुत गर्नुभएको छ। तुलना पूर्वाग्रही भए पनि चिन्ता जायज छ। त्यही चिन्ताकै कारण नेपालमा जनयुद्ध भयो, जनआन्दोलन पनि भयो। आर्थिक–सामाजिक रुपान्तरणका गहन मुद्दा बहसका विषय मात्र बनेनन्, कार्यान्यवनको पाइपलाइनमा छिरे। देशमा गणतन्त्र, सङ्घीयता, समावेशी लोकतन्त्रजस्ता मुद्दाको मूख्य लक्ष्य समानता, विकास र समृद्धि थियो। जीवन नै जोखिममा राखेर त्यसको नेतृत्व प्रचण्डले गरे। आज तपाई प्रचण्डले ल्याइदिएको लोकतन्त्र र गणतन्त्रको अधिकारबाटै उनको निन्दा गर्दै हुनुहुन्छ।
यति ठूलो सङ्घर्ष र बलिदानीपछि देशमा पूर्वाधार विकास र जनताको प्रतिव्यक्ति आय वृद्धिको प्रयास भइरहेको छ। पूर्वाधार विकासका कामले गति लिएका छन्। १० वर्षको अवधिमा गरीबीको रेखामुनि रहेको जनसंख्यामा १९% ले कमि आएको छ। ४०% को गरीबी २१% पुगेको छ, सन् २०२० सम्म १५% मा झार्ने लक्ष्य राखिएको छ। सामाजिक सुरक्षाका विविध कार्यक्रम अघि सारिएको छ, जुन अपेक्षाकृत रुपले अघि बढिरहेको छ। यी सबै काम तपाईले चित्रण गरेका वृद्धा र उनीजस्तै नागरिकको मुहारमा कान्ति ल्याउने प्रयास नै होइनन् र ?
उर्जा क्षेत्रमा निकै उत्साहवर्द्धक काम भएको छ। अब विद्युतका लागि अन्तर्राष्ट्रिय बजारको समस्या छैन। पर्यटनका क्षेत्रमा निकै गुणात्मक प्रगति भइरहेका छन्। पोखरा, निजगढ, लुम्बिनी लगायतका स्थानमा अन्तर्राष्ट्रिय विमास्थल बन्दैछन्। आन्तरिक उडानका लागि थुप्रै विमानस्थल सञ्चालनमा आउँदैछन्। मधेशमा रेलमार्ग निर्माण कार्यले तिब्रता लिएको छ। ठूला आयोजनाको काम फटाफट अघि बढिरहेको छ। समृद्धिकै लक्ष्य हासिल गर्न लगानी सम्मेलनको आयोजना गरिएको छ। रवीन्द्रजी, यी सबै प्रयासका पछाडि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको कुनै योगदान छैन ? कि यी सबै प्रयासहरु तपाईको राजनीतिक सङ्घर्षका उपज हुन् ? अरुप्रति पूर्वाग्रही टिप्पणी गरिरहँदा देश निर्माणमा मैले के योगदान गरें, तपाईले त्यसको समीक्षा गर्नुपर्दैन ?
लेखमा तपाईले सीता दाहालको स्वास्थ्य लाभ र प्रचण्ड परिवारमा खुसीको कामना गर्नुभएको छ, त्यो तपाईको अन्तरहृदयको अभिव्यक्ति होइन, मानवीय संवेदनाको औपचारिक अस्त्रमात्रै हो भन्ने मेरो ठम्याइ छ। जहाँसम्म व्यक्तिगत सम्पत्ति नभएका प्रचण्डसँग उपचार खर्च कहाँबाट आयो भन्ने प्रश्न छ, त्यसमा तपाईले पूर्वमाओवादी र अहिलेको नेकपाको संगठनात्मक प्रणाली र आर्थिक व्यवस्थापनको यथार्थभित्र छिनुपर्छ। सतही रुपमा गरिने टिप्पणीको खास मूल्य र औचित्य रहँदैन।
नेकपाका सबै मन्त्री, सांसददेखि पार्टी सदस्यसम्मले मासिक १ दिनको वेतन बराबरको लेबी तिर्छन्। उक्त लेबी पार्टी कोषमा जम्मा हुन्छ, त्यही कोषबाट पार्टीका गतिविधि हुन्छन्, पार्टी कार्यालयका कर्मचारीको तलवभत्ताको व्यवस्था गरिन्छ। कतिपय शुभेच्छुकले पार्टीलाई चन्दा सहयोग दिन्छन्, त्यो पनि त्यही कोषमा जम्मा हुन्छ। नेताहरुको व्यवस्थापन पनि त्यसरी नै चल्दै आएको छ। प्रचण्ड आफै पूर्वप्रधानमन्त्री हुन्, बहालवाला सांसद हुन्। तथ्य यही हो। यसलाई कुनै अनैतिक आर्थिक स्रोतसँग जोडेर टिप्पणी गर्न खोज्नु पूर्वाग्रह मात्र हुन जान्छ।
दशाब्दीको कुरा होइन, एकाध वर्षअघिकै कुरा हो। बाहिरी मान्छे मात्र होइन, आफ्नै पार्टीका वैद्य–बाबुरामहरु पनि प्रचण्ड आलिसान महलमा बसेको टिप्पणी गर्थे। विरोधीहरु भन्थे, ‘लाजिम्पाट दरबार प्रचण्डको हो, त्यत्रो दरबार कहाँबाट आयो ? प्रचण्डको स्वीस बैंकमा अरबौं ब्यालेन्स छ। कर्पोरेट हाउसका नामअघि मुक्ति, प्रकाश, सीता, गंगा, रेनु जोडिएका कम्पनि जति प्रचण्डकै हुन्। मुक्ति टावर, प्रकाश टावर, सीता महल आदित्यादि। बाबूको नाम मुक्ति भएकाले मुस्ताङको मुक्तिनाथ मन्दिर र छोरीको नाम गङ्गा भएकाले कालीगण्डकी नदी मात्रै प्रचण्डको हो भन्न छुटाएका थिए उनीहरुले। बाँकी सबै प्रचण्डको सम्पत्ति थियो।
लाजिम्पाट प्रचण्डको घर थिएन, त्यो उनको भाडाको निवास थियो। त्यो दरबार पनि थिएन, लाजिम्पाटभित्र छिर्ने जो–कसैले उनी बस्ने घर कति सामान्य छ भन्ने अनुमान गर्न सक्थ्यो। तर, मान्छेहरुले बुझ पचाएरै प्रचण्डको भनी हल्ला गरे। प्रचण्ड तिनै मान्छे हुन्, जो चुनावमा चितवनका उम्मेदवार थिए। चुनावका क्रममा कार्यकर्तालाई चिउरा खुवाउन नसकेपछि २/४ लाखको ‘जोहो’ गर्न छोरा प्रकाशलाई काठमाडौं पठाए। कार्यकर्तालाई चिउरा ख्वाउने उपाय सोच्दासोच्दै छोराको मृत्यु भयो। स्वीस बैंकमा अरबौं भएका प्रचण्डले २/४ लाखका लागि यतिविघ्न सास्ती किन गरे ? रवीन्द्र र रवीन्द्रजीहरुलाई प्रश्न गर्न चाहन्छु, ‘उनीसँग डलरको स्रोत भएको भए त्यसो गर्नुपर्थ्यो ?’
रवीन्द्रजी, लेखमा तपाईले चेपाङ बस्तीका दर्दानाक कथा, गरीबी, कुपोषण र बेथितिका केही दृष्टान्त पेश गर्नुभएको छ। तपाईका दृष्टान्तमा म सहमत छु। तर, त्यसको समाधान के ? त्यसको मार्ग कस्तो हुने ? यो महत्वपूर्ण सवाल हो। २/४ जना असहायलाई दान दिएर वा करुणा देखाएर यस्ता बिकराल समस्याको सम्बोधन हुन सक्दैन। त्यसको एक मात्र बिकल्प जनमूखी राज्यसत्ता हो, सामाजिक सुरक्षा कार्यक्रम हो, त्यसअनुसारको नीति, कार्यक्रम र कार्ययोजना हो, तपाईले सोचेजस्तो विदेशी डलर ल्याएर २/४ थान कम्मल बाँड्नु होइन। यसो भनिरहँदा अरिङ्गालको आरोप लाग्छ भने त्यो स्वीकार्य छ।
राज्य संयन्त्र बदल्ने कुरा एनजिओले ‘चारो हालेर पासो’मा हाल्ने प्रश्न मात्र होइन, यो त आम नागरिकको जीवन पद्दतिमा कायापलट ल्याउने कुरा हो। प्रचण्डले एयरपोर्टमा भेटिएका वृद्धालाई १ जोर जुत्ता किनिदिएर नागरिकको मुहारमा कान्ति आउँदैन, जुन कुरा तपाईहरुको अपेक्षा छ। १ जोर कोट दिएर समानता आउने भए २०१६ सालमै देवकोटाले समृद्धि ल्याइसकेका थिए। त्यसका लागि रणनीति योजनामा दृढतापूर्वक काम गर्नुपर्छ, जुन अहिलेको सरकारले गरिरहेको छ। यद्यपि, नतिजा देखिन समय लागेकै छ।
तपाईले ओली, प्रचण्ड र देउवाहरुको योगदानको सम्मान गर्छु। तर, हिंसाको औचित्य पुष्टि हुन सक्दैन भन्नुभएको छ। त्यसबखत वातानुकूलित कोठाभित्र बसेर पाउण्ड कमाए पनि अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, भारत वा अरु कुनै मुलूकको स्वतन्त्रता सङ्ग्राम र पूँजीवादी क्रान्तिको इतिहास पढ्नुभएकै छ। सन् १८२८ को बेलायती क्रान्ति, १६८८ को संसदीय क्रान्ति, १७६३ र १८६० को अमेरिकी क्रान्ति, सन् १९४७ को भारतीय स्वतन्त्रता सङ्ग्राम हिंसापूर्ण क्रान्ति थिएनन् ? के तिनै हिंसापूर्ण क्रान्तिले नै दुनियाँमा लोकतन्त्रको जग बसालेका होइनन् ? क्रान्तिको चरित्र कस्तो भन्ने कुरा समकालीन शक्ति सन्तुलनले निर्धारण गर्ने कुरा हो, मूख्य कुरा हिंसाको लक्ष्य के ? त्यो पो हो।
चाहे पृथ्वीनारायण शाहको राज्य बिस्तार अभियान, चाहे राणाविरोधी आन्दोलन, चाहे पञ्चायतविरोधी आन्दोलन होस् वा राजतन्त्रविरुद्धको आन्दोलन, ती सबै आन्दोलन राजनीतिक चिन्तनका उपज थिए। ती सबै हिंसाको जगमा उभिएका थिए। बरु, यथार्थ यो हो, ‘हिजोको हिंसाले राजनीतिक–सामाजिक रुपान्तरण ल्यायो, अब हिंसाको जरुरी छैन।’ तिनै आन्दोलनको जगमा उभिएर तपाई स्वतन्त्र नागरिकको अभिमत राख्ने हैसियतमा हुनुहुन्छ। जसको यी सबै आन्दोलनमा कुनै भूमिका छैन, त्याग र बलिदानको अनुभूति र अनुभव छैन, त्यसले क्रान्तिको गुरुत्व बुझ्नै सक्दैन, बुझ्न सक्ने कुरा पनि होइन।
लेखमा तपाईले काठमाडौंको मेयरमा विद्यासुन्दरले जितेको र किशोर थापाले हारेको दृष्टान्त पेश गर्नुभएको छ। साथै प्रमाणका रुपमा थापाका शैक्षिक प्रमाणपत्र र अनुभवको सर्टिफिकेट पनि पेश गर्नुभएको रहेछ। शैक्षिक प्रमाणपत्रकै आधारमा मेयर, सांसद, मन्त्री छान्ने भए निर्वाचन किन चाहियो ? के तपाईले निर्वाचनको औचित्यमाथि प्रश्नचिन्ह उठाउन खोज्नुभएको हो ? के तपाई जनसहभागितामूलक लोकतन्त्रप्रति व्यङ्ग गर्दै हुनुहुन्छ ? प्रमाणपत्रकै आधारमा चुनाव जित्नुपर्ने दलिल पेश गरिरहँदा के तपाईले विश्वभरिका लोकतान्त्रिक निर्वाचन र नेताहरुको उदय भुल्नुभयो ?
नेतृत्व भनेको ज्ञान मात्र होइन, दृष्टिकोण र निर्णय क्षमता पनि हो। ज्ञान त विश्वविद्यालयले देला। तर, दृष्टिकोण र निर्णय क्षमता किताबमा खोजेर पाइँदैन, त्यो तपाई–हाम्रै जीवनमा खोज्नुपर्छ। जो सङ्घर्षका उतारचढावबाट आएको हुन्छ, त्यसले मात्रै कठिनभन्दा कठिन परिस्थितिमा पनि सुझबुझपूर्ण निर्णय लिन सक्दछ। तपाईले भनेजस्तै जागिर खाएर, पेन्सन पकाएर चुनाव लड्नेहरुले दुख नगरी निर्वाचन जित्नैपर्छ भने निर्वाचन आयोग खारेज गरिदिउँ, त्यसको ठाउँमा प्रमाणपत्र अभिलेख आयोग बनाऔं, आफ्नो शैक्षिक प्रमाणपत्र पेश गरौं, त्यसकै आधारमा मेयर, सांसद, मन्त्री, प्रधानमन्त्री बनौं। के हाम्रो लोकतन्त्रले यही भन्छ ?
राजनीतिका लागि नेताहरुको योग्यता चाहिन्छ, दक्षता चाहिन्छ। तपाईले उठाएको यो मुद्दामा म सतप्रतिशत सहमत छु। तर, शिक्षाले मात्र हुँदैन, प्रमाणपत्रले मात्र हुँदैन, त्यहाँ गतिशील जीवन चाहिन्छ, झुपडीसँगको सामिप्यता चाहिन्छ, ईच्छाशक्ति र निर्णय क्षमता चाहिन्छ। त्यो गुण नहुनेहरु दर्जनौं विषयमा विद्यावारिधि गरे पनि राजनीति, सुशासन र समृद्धिका लागि योग्य हुन सक्दैन। नेपाली माटो र धरातल भुलेर कल्पनामा राजनीति हुँदैन। राजनीति गर्न चाहनु र सक्नु अलग कुरा हो। तर, तपाईको चाहनाका लागि म सम्मान व्यक्त गर्दछु।
म तपाईलाई केही प्रश्न गर्ने अनुमति चाहन्छु। तपाईको विवेकशील साझा पार्टीको आर्थिक स्रोत के हो ? माइतीघर मण्डलामा दैनिकजसो गर्ने विरोध सभाको स्रोत कहाँबाट जुट्छ ? ती राजनीतिक एजेण्डा कुन शक्ति केन्द्रबाट निर्धारण हुन्छन् ? राजनीतिक क्रान्तिको औचित्य सकिएको निष्कर्ष निकाल्ने तपाईहरुले आर्थिक क्रान्तिका लागि के योगदान गर्नुभयो ? कि यी सबै प्रयत्न सत्तामा पुग्ने भर्याङका लागि हुन् ? हरेक ठाउँमा विरोधको राजनीति र अरुलाई गलत देखाएर आफू सही बन्न खोज्ने तपाईहरुको तरिकाले समाज रुपान्तरण होला, आर्थिक–सामाजिक प्रगति र सुशासन हासिल हुन सक्ला ?
तपाईका कार्यकर्ता सामाजिक सञ्जालमा सबैभन्दा उग्र देखिन्छन्। तिनीहरुलाई हामीले डलरको गुलियोमा भुलेका झिङ्गा भन्न मिल्ने कि नमिल्ने ? के उनीहरु सामाजिक सञ्जाल र सामाजिक जीवनमा भद्र हुनु पर्दैन ? उनीहरुलाई अरुलाई गाली गरेर होइन, आफै केही गरेर स्थापित हुने संस्कार र मूल्य सिकाउनु पर्दैन ? अनि, माइतीघरमा खर्चिएको उर्जा चेपाङ बस्तीमा लगाउन मिल्दैन ? मानवअधिकार, शान्ति, सुशासन र रुपान्तरणका नाममा विदेशबाट ल्याएको अनुदानबाट पार्टीका गतिविधि चलाउँदा आत्मसमीक्षाको महशुस हुँदैन ? कि यी प्रश्न तपाईहरुको बैकल्पिक राजनीतिको कार्यसूचिभित्र पर्दैनन् ?
अन्त्यमा, सार्वजनिक संस्थान, निकाय र नागरिक अगुवाहरु सुशासनप्रति प्रतिवद्ध हुनुपर्छ, त्यसका लागि उनीहरुको त्याग चाहिन्छ भन्ने तपाईको तर्कसँग म सहमत छु। सुशासनबिना विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन, यो पनि उत्तिकै सत्य हो। तर, प्रचण्ड, ओली, देउवा वा उनीहरुका समर्थकलाई धारे हात लगाउँदैमा त्यसको समाधान निस्कन्छ ? म चाहन्छु, विवेकशील साझाको कार्यभार के हो ? तपाईहरुले किन गर्नुभएन, किन सक्नुभएन ? यता पनि समीक्षा होस्।
रवीन्द्रजी, स्मरणरहोस्, अहिले तपाई खबरदारी गर्ने सञ्चारकर्मीको भूमिका हुनुहुन्नँ। नीति निर्माणको स्वामित्व लिने ठाउँमा हुनुहुन्छ। हिजो तपाईले अरुलाई गाली गरेर उम्कन मिल्थ्यो, अब मिल्दैन। एउटै डुङ्गामा चढेर त्यही डुङ्गामा प्वाल पार्न नलाग्नुस्, यो समाधान होइन। अहिलेलाई यत्ति, अस्तु !



मनहरि तिमिल्सिना

