सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली शुभारम्भ

सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली शुभारम्भ कार्यक्रमका तस्बिरहरू (9)
लाेकपाटी न्यूज

काठमाडौं, १४ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहबीच सडक दुर्घटना सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका छन्।

उक्त अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था बिभाग र नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा उक्त प्रणाली फलदायी हुने बताए। वर्तमान सरकारले सडक सुरक्षामा बिशेष ध्यान दिन सडक सुरक्षा काउन्सिल बनाउने पहल गरिरहेको पनि उनले बताए। ट्राफिक व्यवस्थापनलाई पेपरलेसमा लैजाने सरकारको चाहनालाई मूर्तरुप दिन ट्राफिक प्रहरीलाई प्रविधि सम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो

सम्माननीय प्रधानमन्त्रीले काठमाडौंको यातायात सुधार गर्न र जाम हटाउन बिशेष चासो राख्नुभएको उल्लेख गर्दै महासेठले यसका लागि वैकल्पिक प्राविधिक व्यवस्थापन गर्न कोटेश्वर, चावाहिल चोकमा अन्डरपास तथा आकाशे पुल निर्माण, माइतीघर–त्रिपुरेश्वर बेलिब्रिज डिजाईन लगायतका योजना बनाई आगाडि बढेको बताए। यातायात व्यवस्था विभाग र नेपाल प्रहरीले एकआपसमा समन्वय गरी आगाडि बढ्नुपर्नेमा उनले जोड दिए। काठमाडौंलाई व्यवस्थित गरे देशभर राम्रो हुने चर्चा गर्दै उनले यस कार्यमा सरोकारवाला निकायहरु, आमनागरिक, संचारकर्मी लगायतको सहयोग आवश्यक रहेको बताए।

समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले यस प्रणाली अत्यन्त उपयोगी भएको चर्चा गर्दै बिमा दाबी, प्रहरीलाई चाहिने डाटा उपलब्ध तथा अनुसन्धान जस्ता बहुप्रयोजन कार्यका लागि प्रणाली फलदायी हुने बताए। प्रणाली संचालनमा प्रहरीको ठूलो भूमिका हुने सन्दर्भमा यसलाई अझ व्यवस्थित बनाई अगाडि बढाउन अझै सक्रिय हुनपर्नेमा उनले जोड दिए।

समारोहमा धन्यवाद ज्ञापन गर्ने क्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आगामी दिनमा दुर्घटना र यसबाट धनजनको क्षति नहोस् भन्ने उद्देश्यकासाथ योजना निर्माण गर्न यो प्रणाली सहयोगी हुने बताए। सूचना प्रविधिमा नेपाल प्रहरी पुरस्कृत भइसकेको अवस्थामा नेपाल प्रहरीलाई विश्वास गरेर पेपरलेस पद्धतिमा आधारित यस प्रणाली जिम्मा दिएकोमा मन्त्रालयप्रति आभार व्यक्त गर्दै यसबाट नेपाल प्रहरीको मनोबल उच्च भएको र अझै बढी उत्साह थपिएको बताए। ट्राफिक व्यवस्थापनमा हुने दुःख हटाउन नेपाल प्रहरीकोतर्फबाट बिशेष योजना बनाई आगाडि बढ्ने उनले उल्लेख गरे।

यसअघि झापा जिल्लाबाट दुर्घटना न्यूनीकरण गर्ने महाअभियान थालनी भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई राम्रो बनाउन तथा जामबाट पीडितलाई धेरै हदसम्म मुक्ति गर्ने योजनाकासाथ सरोकारवाला पक्षसँग समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। लक्षित उद्देश्य प्राप्त गर्न र पीडितलाई न्याय प्रदान गर्न सूचना प्रविधिमा आधारित यो प्रणालीको भूमिका र योगदान महत्वपूर्ण हुने उनले उल्लेख गरे।

उक्त अवसरमा यातायात व्यवस्था विभागका प्राविधिक सल्लाहकार डा. पदमबहादुर शाहीले उक्त प्रणाली र यसको उपयोगिता सम्बन्धी जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयको सहकार्य तथा विश्व बैंकको अनुदानमा उक्त प्रणाली स्थापना गरिएको हो । प्रथम चरणको लागि काठमाडौं उपत्यकाका ३४ वटा ट्राफिक प्रहरी कार्यालय र काठमाडौंदेखि वीरगंजसम्मको करिडोरमा पर्ने ३० वटा ट्राफिक प्रहरी कार्यालयहरुलाई प्रहरी प्रधान कार्यालयको डाटा सेन्टरमा रहेको सर्भरमा कनेक्सन गरी सडक दुर्घटना भएपछि त्यस सम्बन्धी तथ्याङकहरु विद्युतीय प्रणाली मार्फत भण्डारण गरिने छ ।

२०७५ मंसिर ५ गतेदेखि यस प्रणालीको सुरुवात भएदेखि हालसम्म ५ सय ३२ वटा सवारी दुर्घटनाको पूर्ण विवरण यस प्रणालीमा भण्डारण भएको छ । जसले गर्दा सवारी दुर्घटनाको कारण, स्थान र क्षतिको विवरण लगायत सम्बन्धित सूचनाहरु आवश्यक परेको बेला उपलब्ध गराई अनुसन्धान तथा दुर्घटना न्यूनीकरणमा सहयोग मिल्ने छ ।
प्रणाली शुभारम्भ समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत लगायत विश्व बैंकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्