निन्द्रा किन आवश्यक छ ? यी हुन् निन्द्राका सात फाइदा

sleeping-deeply
लाेकपाटी न्यूज

काठमाडाैं । निन्द्रा हाम्रो लागि निक्कै उपयोगी कुरा हो । यसले हाम्रो दिमागदेखि शरीरलाई समेत विभिन्न फाइदा पुर्‍याइरहेकाे हुन्छ। यसले हामीलाई मुख्य गरेर देहायका फाइदा पुर्‍याउँछ ।

दिमागको सरसफाइ

सन् २०१३ मा युनिभरसिटी अफ रोचेस्टर मेडिकल सेन्टरमा गरिएको एक अध्ययनमा निन्द्राको समयमा दिमागको विकार हटाउने प्रणाली सुचारु भएको पाइएको थियो । निन्द्रालाई दिमागले आफ्ना धेरै विषाक्त विकारहरू सफा गर्ने समयका रूपमा प्रयोग गर्ने गर्छ । स्लिप साइन्सका अनुसार निन्द्राको समयमा दिमागभरीबाट सेरेब्रल स्पाइनल फ्लुड अत्यन्त छिटो बाहिर निस्किएर सफाइको कार्य हुने गर्छ ।

स्मरणशक्ति बलियो हुने

आँखा बन्द भएपछि दिमागले अल्पकालीन सूचना र हालसालैका घटनाहरूलाई दिमागको दीर्घकालीन स्मरण केन्द्रमा पु¥याउने क्रिया सुरु गर्छ । यही कारणले सिकाइमा निन्द्राको अत्यन्त महत्त्वपूर्ण भूमिका हुने गर्छ । यसले नयाँ सूचनालाई पछि सम्झनाका लागि सङ्ग्रह गरेर राख्छ ।

गाडी चलाउने, नृत्य र खेलकुदमा निपुणताको विकासमा सहयोग

आरईएम निन्द्राको समयमा हाम्रो दिमागले हामीले गरेका भौतिक कार्यका आवश्यक सूचनालाई सङ्ग्रह गर्ने प्रक्रिया सुरु गर्छ । यो अवधिमा अत्यावश्यक क्रियाहरू टेम्पोरल लोबतर्फ अघि बढ्छन् । एक पटक टेम्पोरल लोबमा सूचनाहरू सङ्ग्रहित भइसकेपछि यी कार्य गर्नका लागि सचेत रूपमा दिमाग पनि लगाइरहुन पर्दैन । यो स्वचालित कार्यमा बदलिन्छ ।

ठूला निर्णय गर्न सघाउँछ

करेन्ट बायोलोजी जर्नलमा प्रकाशित एक अध्ययनले निन्द्राको बेला दिमागले जटिल विषयमा काम गर्ने देखाएको छ । यसले जागिसकेपछि तपाईंलाई निर्णय गर्न सघाउँछ ।

सिर्जनशीलता बढाउन सहयोग

सन् २००७ मा छापिएको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेको एक अध्ययनले निन्द्राको समयमा दिमागले गाँजेको हामीले फरक फरक ठानेका सूचनाहरूबीच रहेको सुदूर सम्बन्ध पनि पहिचान गर्न सक्ने देखाएको छ । तथ्याङ्कलाई नै हेर्ने हो भने पनि ३३ प्रतिशत मानिसले निन्द्राको एक झप्कीपछि सिर्जनात्मक सम्बन्ध बनाउन सक्ने सम्भावना पाइएको छ ।

शरीर सन्तुलन र एकाग्रतामा वृद्धि

पर्याप्त निन्द्राले मानिसलाई जागेको समयको बेला आवश्यक सतर्कता वृद्धि गराउँछ । सवारी साधन चलाउने कार्यजस्तो सानो बेहोसीले पनि गम्भीर असर पर्ने कार्यमा निन्द्रा अपुगले गम्भीर दुर्घटना निम्ताएका थुप्रै उदाहरणहरू छन् । यसका साथै निन्द्राले शरीरको सन्तुलन कायम गर्न पनि सघाउँछ ।

निरोगिता

अल्जाइमर्स रोग जस्तो गम्भीर रोगसँग सम्बन्धित विकार जागेको समयमा दिमागमा जम्मा भइरहेको हुन्छ । निन्द्राको समयमा उत्सर्जित हुने सेरेब्रोस्पानल फ्लुडले यी विकारलाई पखाल्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्