ग्यास सिलिण्डर पड्किँदा चारको मृत्यु

gas
लाेकपाटी न्यूज

सिन्धुपाल्चोक, १२ चैत । सिन्धुपाल्चोकको भोटेकोसीमा ग्यास सिलिण्डर पड्किँदा चार जनाको ज्यान गएको छ ।

भोटेकोसी गाउँपालिका वडा नम्बर ४ स्थित निर्माणाधीन शिवश्री हाइड्रोपावरको कामदार बस्ने कोठामा सिलिण्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको हो । उक्त हाइड्रोपावरमा काम गर्ने कामदारले भान्सा कोठामा खाजा पकाउने बेला सोमबार साँझ ग्यास सिलिन्डर विस्फोट भएको प्रहरीले जनाएको छ ।

घटनाको खबर आएलगत्तै बाह्रबीसेस्थित इलाका प्रहरी कार्यालय र फूलटिमकट्टीस्थित प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा गएको र अहिले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले मृतकमध्ये दुई जनाको सनाखत भएको बताएका छन् ।

मृतकमध्ये दोलखा सिपाश्वरका २३ वर्षीय भाइकाजी शेर्पा र हुम्लाका २४ वर्षीय सञ्जुक लामाको सनाखत भएको उनले बताए । मृतकका ठेगाना पूरै खुल्न सकेको छैन् । शवहरू चिन्नै नसकिने गरी क्षतविक्षत अवस्थामा रहेकाले टाउकाका आधारमा व्यक्ति पहिचान गरिएको डीएसपी काफ्लेले बताए । स्थानीयले अन्य दुई जना पनि हराइरहेको बताएकाले उनीहरूको पनि सोही घटनामा मृत्यु भएको अनुमान गरिएको छ ।

‘दुई जनाको नाम छ तर अहिल्यै नलेखौं होला, परिवारलाई चोट पर्नसक्छ,’ डीएसपी काफ्लेले भने, ‘तर उनीहरू नभेटिएकाले मृत्यु नै भएको अनुमान छ, शव छरपस्ट भएकाले पहिचान गर्ने काम भइरहेको छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्