जग्गाको निस्सा माग्दै ७५ वर्षीया कान्छीमाया मिडियामा

Kanchhimaya
लाेकपाटी न्यूज

काठमाडौं, ११ चैत । चितवन भरतपुर–१० निवासी ७५ वर्षीय कान्छीमाया लामाले लामो समयदेखि आफूहरुले भोगचलन गर्र्दै आएको जमिनको निस्सा पाउनुपर्र्नेे माग गरेकी छिन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूहरुले २०२७ सालमा अस्थायी जोताहा पुर्जा प्राप्त गरेको जमिन अरुले हडपेको सुनाइन् । उनले भनिन्, ‘तर, उल्टै हामीले त्यो जग्गा हडेपेको आरोप लागेको छ, हामीमाथि ठूलो अन्याय भएको छ, न्यायको लागि धेरै ठाउँमा ढक्ढकायौं । तर, कतैबाट पनि अहिलेसम्म न्याय प्राप्त भएको छैन।’

सत्तारुढ दल नेकपाका नेता एवम् चितवनबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य कृष्णभक्त पोखरेलको आडमा ‘लब्ली’ भनिने कृष्ण न्यौपाने र उनका सहोदर दाइ भोजराज न्यौपानेले बारम्बार आफूहरुलाई धम्की तथा दबाव दिँदै आएको पनि लामाले गुनासो पोखिन् ।

राजनीतिक शक्तिको आडमा न्यौपाने दाजुभाइले आफूहरुलाई पटक–पटक दुःख दिएको उनको आरोप छ । उनले न्यायको लडाईं लड्न सर्वाेच्चबाट निस्सा पाउन नसकेको दुःखेसो समेत पोखिन् ।

श्रीमानको निधन भएदेखि नै आफूहरुले पटक–पटक परिचालित मान्छेहरुबाट मानसिक तथा शारीरिक रुपमा पीडा पाइरहेकोे उनले सुनाइन् । उनले भनिन्, ‘त्यो जग्गा मैले नै जंगल काटेर खेतियोग्य बनाएको हो । २०४४ सालमा जग्गा दर्ताको समयमा पनि मेरै नाममा दर्ता गराएको जग्गा कसरी र कहिले अन्य ब्यक्तिको नाममा दर्ता भयो, यसबारेमा मलाई कुनैै जानकारी छैन।’

उनकाअनुसार जोताहा पुर्जा आफ्ना स्वर्गीय पति बिकु लामाको नाममा जारी थियो । उनले भनिन्, ‘त्यसको प्रमाण हामीसँग अझैपनि सुरक्षित छ ।’ हाल आफ्नो घरको ‘कम्पाउण्ड’भित्र रहेको जग्गा १३ जनाले किनबेच गरिसकेको बताउँदै २०७० सालमा बिपक्षीहरुले आफू र आफ्नी छोरीमाथि २ कठ्ठा १७ धुर जग्गा जबरजस्ती कब्जा गरेको आरोपमा उल्टै मुद्दा चलाएको उनले सुनाइन् ।

आफूले निस्सा प्राप्त गरी पाँउ भनेर सर्वाेच्च अदालतमा निवेदनसमेत दिएकोमा सर्वाेच्चले पनि निस्सा नदिँदा आफू न्यायको लडाईं लड्नबाट बञ्चित भएको उनको गुनासो छ ।

सर्वोच्चबाट मुद्दा जितेको भन्दै विपक्षी न्यौपानेले आफूहरुले भोगचलन गर्दै आएको जग्गा मागेको पनि उनले सुनाईन् । तर, अहिलेसम्म विपक्षीहरु सर्वोच्च अदालतमा नआएको उनको दाबी छ । उनले भनिन्, ‘सर्वोच्च अदालतबाट अहिलेसम्म हामीले भोगचलन गर्दै आएको जग्गाबाट हट्नको लागि कुनै लिखित आदेशपत्र आएको छैन । उनीहरुले हामीलाई हटाउनको लागि यस्तो प्रपञ्च रचेका हुन् ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्