जुवातास खेल्ने १६ पक्राउ

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, १० चैत । काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध फुलबारी टोलबाट ७ जना, सोही महानगरपालिका–१४ बल्खुबाट ५ जना र भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ राधेराधेबाट ४ जना गरी १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं बौद्ध फुलबारी टोल डेरा गरी बस्ने तेन्जिङ शेर्पाको डेराकोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले अवैध रुपमा मज्याङ तथा जुवातास खेलिरहेको अवस्थामा आरुबारी बस्ने ६६ वर्षीय तासी छाप्टेल लामा समेत ७ जनालाई शनिबार साँझ पक्राउ गरेको हो । उनीहरुबाट नगद २ लाख ९८ हजार रुपैयाँ, युरो २ सय ५०, चाइनिज युआन १ हजार १ सय ५२, भारतीय रुपैँया १ हजार १ सय १०, भुटानी मुद्रा १ सय ६६, कोरियन मुद्रा १ हजार, मलेसियन मुद्रा ३, इङ्गल्याण्ड पाउण्ड १०, सिंगापुर डलर ४, मज्याङ खेल्न प्रयोग हुने गोटी १ हजार ४६ वटा, कौडा ६४ थान, तास १७ बुक र जुवातास खेल्न प्रयोग हुने अन्य सामान प्रहरीले बरामद गरेको छ ।

यसैगरी काठमाडौंको बल्खुस्थित जमुना थापाको घरमा जुवातास खेलीरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बल्खु बस्ने नुवाकोट बेलकोटगढी–५ का २९ वर्षीय हर्कबहादुर गुम्बा समेत ५ जनालाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख २५ हजार ७ सय ५० रुपैयाँ र १ बुक तास सहित शनिबार साँझ पक्राउ गरेको छ ।

यसैगरी भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ राधेराधे बस्ने ३४ वर्षीय राजन भासिमाको कक्टेल नेवारी खाजा घरमा जुवातास खेलीरहेको अवस्थामा राजन समेत ४ जनालाई नगद १ लाख ७५ हजार ५ सय रुपैयाँ र ६ बुक तास सहित महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्