काठमाडौं । बिल गेट्स् विश्वचर्चित धनाढ्य हुन्। माइक्रोसफ्टका संस्थापक गेट्सको सम्पत्ति २० वर्षपछि पुनः १ खर्ब डलर नाघेको छ। यसअघि सन् १९९९ मा गेट्सले यो सफलता हासिल गरेका थिए।
यो सफलता पाउने संसारमा केवल २ जना व्यक्ति मात्र छन्। एमजनका जेफ बेजोसले यसअघि नै यो सफलता पाइसकेका छन्। एकैपटक २ व्यक्तिको सम्पत्ति १ खर्ब डलरभन्दा माथि रहेको यो पहिलोपटक हो।
ब्लमवर्गको अर्बपतिको सूचकका अनुसार एमजनका संस्थापक तथा सीइओ जेफ बेजोसको सम्पत्ति १ खर्ब ४६ अर्ब डलर छ। उनी विश्वको सबैभन्दा धनी व्यक्ति हुन्। गेट्स दोस्रो स्थानमा छन्।
यस वर्षको अहिलेसम्म बेजोसको सम्पत्ति २० अर्ब ७० करोड डलरले बढेको छ। यो अवधिमा गेट्सको सम्पत्ति भने ९ अर्ब ५० करोड डलरले बढेको थियो। सन् १९९९ मा गेट्सको सम्पत्ति १ खर्ब डलर पुग्दा बेजोसको सम्पत्ति केवल ८ अर्ब ९० करोड डलर थियो।
गेट्सले अहिले आफ्नो बिल एण्ड मेलिन्डा संस्थाको माध्यमबाट अहिलेसम्म ३५ अर्ब डलर दान गरिसकेका छन्। गत वर्षबाट बेजोसले पनि यो काम शुरु गरेका थिए। सन् २०१८ मा उनले २ अर्ब डलर दान गरेका थिए।
अबको केही समयमा गेट्स र बेजोस दुवैको आधा सम्पत्ति घट्नसक्ने बताइएको छ। गेट्स आफ्नो आधा सम्पत्ति दान गर्ने सोचमा छन् भने बेजोसले गत जनवरीमा आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गरिसकेका छन्। यस्तोमा उनको आधा सम्पत्ति उनको पत्नीको नाममा जानेछ।
यदि यसो भएको खण्डमा उनकी पत्नी मेकेन्जी विश्वको सबैभन्दा धनी महिला बन्नेछिन्। अहिले वालमार्टकी उत्तराधिकारी एलाइस वाल्टन विश्वकी सबैभन्दा धनी महिला हुन्। उनीसँग ४६ अर्ब डलर सम्पत्ति छ।



लाेकपाटी न्यूज

