४० केजी प्लास्टिक खाएर ह्वेलको मृत्यु

image
लाेकपाटी न्यूज

एजेन्सी । फिलिपिन्समा ह्वेल माछाले ४० केजी प्लास्टिक खाएको छ । ४० केजीभन्दा बढी प्लास्टिक खाएर उक्त ह्वेलको मृत्यु भएको हो ।

गत शनिबार सिटियो एसनानस्थित किनारामा मृत ह्वेल फेला परेको थियो । समुद्री विशेषज्ञका अनुसार उक्त ह्वेल मानिसले फालेको प्लास्टिकका कारण मरेको हो ।

गत शनिबार ह्वेलको मृत्युको कारण पत्ता लगाउने क्रममा ह्वेलको शरीरबाट ४० केजीभन्दा बढी प्लास्टिक निकालिएको नेसनल जियोग्राफीले जनाएको छ । प्लास्टिकका कारण सामुन्द्रीक जीव मरेको यो सबैभन्दा खराब घटना भएको बताइएको छ । अहिलेसम्म यस परिमाणको प्लास्टिक सामुन्द्रीक जीवको शरीरमा नदेखिएको जनाइएको छ ।

४० केजी प्लास्टिक पेटमै अड्किएपछि ह्वेल खानाको अभावले मरेको जनाइएको छ । विशेषज्ञहरुका अनुसार ह्वेलको पेटमा चामलका बोरा तथा अन्य प्लास्टिकको झोलाहरु रहेका छन्। डि’बोन कलेक्टर म्युजियमका संस्थापक ड्यारेल ब्लाचेलीले भने,‘ह्वेल भित्रको प्लास्टिक मेरो कल्पनाभन्दा बाहिरको थियो ।’

त्यस म्युजियमले सरकारसँगको सहकार्यमा वितेको १० वर्षमा ६१ ह्वेल र डल्फीन माछालाई विभिन्न परिस्थितीबाट जोगाएका छन्। उपचार गराएका छन्। ब्लाचेलीका अनुसार यस घटना अहिलेसम्मकै खराब हो। फिलिपिन्स चीनपछि प्लास्टिकको फोहोर उत्पादन गर्ने देशको दोस्रो सूचीमा रहेको जनाइएको छ ।

यस घटनासँगै विश्वभरका वातावरणविदहरु निराश बनेका छन्। समुद्रलाई प्लास्टिकरहित बनाउनुपर्ने आवाजहरु उठेका छन्। वर्षेनी प्लास्टिकको कारण कैयौं सामुन्द्रीक जीवको ज्यान गरेको छ । प्लास्टिक समुद्रमा फ्याँक्नाले समुद्रको पर्यावरण विग्रिने वातावरणविदहरु बताउँछन्।