‘प्रहरीलाई आधुनिक प्रशिक्षण दिन्छाैं’ : सर्वेन्द्र खनाल

Sarbendra khanal
लाेकपाटी न्यूज

काठमाडौं, ५ चैत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनका लागि समयसापेक्ष दक्ष जनशक्ति उत्पादन गर्न आगामी प्रशिक्षण प्रणालीलाई थप परिष्कृत गर्दै लैजाने बताएको छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा गत शुक्रबारदेखि शुरु भएको २०७६÷०७७ को वार्षिक तालिम योजना निर्माण सम्बन्धि गोष्ठीको मंगलबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रमको समापन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

नेपाल प्रहरीको प्रशिक्षण प्रणालीमा सुधार ल्याउन गोष्ठीको निष्कर्ष महत्वपूर्ण र फलदायी हुने चर्चा गर्दै खनालले ती निष्कर्ष र योजनालाई उच्च प्राथमिकता र सान्दर्भिकताका आधारमा लागू गर्दै जाने बताए ।

प्रहरी सेवाप्रति निष्ठावान् जनशक्ति उत्पादन गर्न तालिम प्रदायक निकायहरुले तालिमको सामग्री, पाठ्यक्रममा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले खुसीकासाथ तालिममा सहभागी हुने वातावरण निर्माण गरी प्रशिक्षार्थीले स्वअनुशासित भएर तालिममा सहभागी हुने अवस्था बनाउनुपर्नेमा जोड दिए । उनले नियमित गतिविधिलाई थप परिमार्जन गरी नयाँ रचनात्मक विषयवस्तुको समावेश गरी वार्षिक तालिम योजना निर्माण गरी प्रशिक्षण प्रदान गरिएमा प्रशिक्षार्थीहरु थप लाभान्वित हुने उल्लेख गरे ।

तालिम केन्द्रहरुले आवश्यक्ता अनुसार इ–लाइब्रेरी, तालिमका लागि सहयोग सामग्री, भिडियो कन्फ्रेरेन्स लगायतलाई उचित प्रयोग गरी तालिम दिनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले नागरिक समाजमा प्रभाव पार्न सक्ने जनशक्ति उत्पादन गर्ने खालको प्रशिक्षण दिइनुपर्ने बताए ।

सो अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले गोष्ठीको सारसंक्षेप प्रस्तुत गर्दै मुलुकको बदलिँदो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आत्मबलयुक्त, निर्भिक बनाउने प्रशिक्षण एवं प्रहरी युक्ति तथा कारवाही र तालिम संचालन गर्नुपर्ने बताए । समुदाय–प्रहरी साझेदारी कार्यक्रमको लागि दक्ष प्रशिक्षक तयार गरी प्रशिक्षण संचालन गर्नुपर्ने समेत उनको जोड छ ।

कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठीमा भएका छलफल र निष्कर्षले आगामी वर्षका लागि उपलब्धिमुलक तालिम योजना निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चार दिवसीय उक्त गोष्ठीमा तालिम प्रदायक संस्थाका निर्देशक, प्राचार्य, समादेशक, प्रहरी प्रधान कार्यालयका विभिन्न निर्देशनालय, महाशाखा, शाखाका प्रमूख तथा प्रतिनिधिहरु, उक्त प्रतिष्ठानका सहभागीहरु एवं प्रतिष्ठानको तत्वावधानमा तालिम संचालन हुने प्रहरी कार्यालयका प्रतिनिधिहरुले आ–आफ्नो संस्था तथा कार्यालयको तालिम आवश्यकता तथा आवश्यक स्रोत व्यवस्थापन सम्बन्धि विषय उठान, प्रस्तुतीकरण तथा छलफल गरेका थिए ।

गोष्ठी समापन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रदेशस्थित तालिम केन्द्रका प्रमूखहरु, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रमूख, प्रहरी युक्ति तथा तालिम महाविद्यालयका प्रमूख, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्