मस्तिष्क र विचारको शक्ति

Ashok Soki
बेन्जामिन फ्राङ्कलिनले सन् १७५२ मा ब्याट्री अविष्कार गरेका हुन्। एकचोटि अञ्जानवश बिजुली छुन पुग्दा उनलाई बिजुलीको धक्का लाग्यो। बिजुलीले धक्का लाग्नु र आकाशमा बिजुली चम्किएर चट्याङ पर्नु एकै किसिमको हो भन्ने उनलाई लाग्यो।
लाेकपाटी न्यूज

अशोक शोकी

मनले कुनै विषय अर्थात् समस्यालाई म यसो गर्छु भनी गरेको निर्णय वा सोचलाई विचार भनिन्छ। अमेरिकाका एक विद्वान्को भनाइअनुसार प्रकाशको गति प्रतिसेकेन्ड १,८६,००० माइल हुन्छ। त्यस्तै विचारको गति प्रवाह ४०,००० देखि ७०,००० नील माइलसम्म हुन्छ। विचार बिजुलीभन्दा पनि वेगवान् हुन्छ। दिनमा सूर्यका किरणले खण्ड–खण्ड पारिदिने भएकाले दिनमा भन्दा रात्रिमा विचारको शक्ति तीव्र हुन्छ। त्यसैले रात्रिमा सानो स्वर पनि धेरै परसम्म फैलिन्छ। बिजुलीले एक सेकेन्डमा पृथ्वीको परिक्रमा सात पटक गर्न सक्छ। विचारका परमाणु बिजुलीभन्दा सूक्ष्म छन्। पदार्थ जति सूक्ष्म हुन्छ, त्यति शक्ति हुन्छ।

त्यसैले विचारको क्षमता बिजुलीको भन्दा अधिक हुन्छ। त्यसैले यसको चैतन्य गति प्रबल हुन्छ। विचारलाई उचित तरिकाले प्रयोग गर्न सक्यो भने परमानन्दमय जीवनयापन गर्न सकिन्छ। विचारका शब्दहरु वाणका रुपमा प्रवाह गरिन्छ। शक्तिअनुसार यसले अरुको मनमा असर पार्छ। कुनै शब्दवाण उछिट्टिएर फर्की आफैंलाई घात गर्ने पनि हुन्छ।

असारमा किसानले धान रोपेसरि नै चेतनाले मनमा सोच रोपिरहेको हुन्छ। चेतनाको कार्य मस्तिष्कबाट भएको हुन्छ। मस्तिष्क टाउकोमा दुई गोलाद्र्धका रुपमा बनेको छ। यो श्वेतवर्णको पदार्थले बनेकोे हुन्छ। यो रक्तवाहिनी नसाहरुको जालीले ढाकिएको हुन्छ। प्रत्येक नसा इन्द्रीयसँग सम्बन्धित हुन्छ। नाक, कान, आँखा, जिब्रो यी सबै अङ्गले तरिकाबद्ध नीति–नियमसँग क्षमताअनुसार काम गरिरहेका हुन्छन्।

जसरी ऐनाले बाहिरी प्रकाश लिएर बाहिर फ्याँकिदिन्छ त्यसैगरी मस्तिष्कले पनि इन्द्रीयहरुका माध्यमबाट बाहिरको दृश्य हेरेर, सुनेर त्यसको प्रत्युत्तर दिन्छ। मस्तिष्कले प्रत्युत्तर दिन उब्जने भावनालाई सोच–विचार भनिन्छ। सोच–विचार शृङ्खलाबद्ध सिर्जना हँुदै यात्रामा लम्किने गर्दछ। आकाशमा उड्ने चरो बाटोबिना आफ्नै चाहनाअनुरुप उड्छ। यस्तै विचारले पनि चराले जस्तै यात्रा गर्छ।

शरीर गाडी हो भने मस्तिष्क गाडीको स्टेरिङ हो र विचार चालक हो। जीवन यी सबैको दृश्य हो। यही अनुरुप समयले जीवनलाई यात्रा गराइरहेको हुन्छ। मनमा उब्जने विचारले पनि सोही अनुरुप मनभित्रको ब्रह्माण्डमा यात्रा गरिरहन्छ। विचार राम्रो र नराम्रो दुवै हुन सक्छ। विचारले सत्कर्म र दुष्कर्म दुवै गर्न प्रेरित गर्न सक्छ। विचार अत्यन्तै शक्तिवान् पनि हुन्छ। व्यक्ति समाज र देशको मुहारलाई परिवर्तन गर्ने क्षमता विचारमा हुन्छ। विचारले सुन्दरतालाई असुन्दरतामा र असुन्दरतालाई सुन्दरतामा परिणत गर्न सकिन्छ। रिसाएको मान्छेलाई खुसी बनाउने र खुसी भएको मान्छेलाई रिसाउने बनाउने क्षमता विचारमा हुन्छ।

अपराधी, धर्मात्मा, महापुरुष, जो व्यक्ति जुन स्थानमा पुगेको छ, त्यो विचारले नै पुर्‍याएको हो। कालीदासजस्तो मूर्ख मानिस पनि विचारकै कारणले महाकवि बन्न सके। दुनियाँमा जे–जति बने विचारकै कारणले बनेका छन्। दुनियाँ नै विचारले अगाडि बढेको छ। विचार अनेक प्रकारका हुन्छन्। समय, परिस्थिति एवं घटनाअनुुसार क्षण–क्षणमा पृथक् विचार पैदा हुन्छ। महत्वपूर्ण सामान पाउँदा, कुनै सामान गुमाउँदा, आफ्नो प्रियतम भेट हुँदा, प्रियतमसँग भेट नभई पर्खेर बस्दा, आफूलाई सम्मान गर्दा, मान्यजनबाट गाली गर्दा यी पृथक् अवस्थामा मौसमझैँ आफ्नो मनस्थिति पनि बदलिरहन्छ। त्यसैले विचार मौसमजस्तै परिवर्तनशील मानिन्छ।

विचारले युवायुवतीमा प्रेम हुन्छ। विचारको परिवर्तनले तिनै युवायुवती सबन्धविच्छेद पनि गर्छन्। विचारले समाज, राष्ट्र, नीति, कानून, धर्मलाई स्थापित अझ आफूलाई ईश्वरसमेत बनाउन सक्छ। यसको उदाहरण गौतम बुद्धलाई लिन सकिन्छ। रामायण, महाभारतमा जुन घटना घटे, त्यसको विवेचना गरेर लेख्नु पनि विचार नै हो। मूर्ख हुनु, विद्वान् बन्नु, देश बन्नु, देश बिग्रनु, यी अक्षर बन्नु, मैले यो लेख्नु, तपाईंले पढ्नु, यो सबै विचार नै हो।

विचार शक्तिवान् हुन्छ। विचारले नै संसारको गतिविधि सञ्चालन गर्दछ। यहाँ भइरहेका गतिविधिअनुसार पनि विचार सिर्जना हुने र परिवर्तन हुने हुन्छ। जस्तैः भोकले तड्पिएको एक व्यक्तिले एक छाक मीठो खाना खान पायो भने उसको मुहारमा सन्तोषको लहर झल्किन्छ। एकछिन अगाडि दुःखको विचार पलाएकोमा खान पाएपछि उसमा सुखको विचार जागृत हुन्छ। विचारले मानसिक शान्ति मिल्छ। मानसिक शान्ति रोगको उत्कृष्ट औषधि पनि बन्न सक्छ।

समय परिस्थितिअनुसार आफ्नो मनस्थिति खस्किन सक्छ। त्यस बेला दिन–दशाले थिचिन सक्छ। त्यस बेला उच्च भावनाले निराशालाई जलाउन सक्नुपर्छ। उच्च विचार जागृत गराउने कोसिस गर्नुपर्छ। गीतामा पनि उल्लेख छ– उठ, ’दृढ निश्चयले पुरुषार्थपूर्वक आफ्नो अभीष्ट सिद्ध गरेर निराशालाई समूल नाश गर।’ आत्मविश्वासबाट शास्त्रको नियमलाई चिनेर आफ्नो निराशालाई निवारण गर्न सकिन्छ।

इन्द्रीयहरुलाई आफ्नो वशमा राखी पूर्ण स्वामित्व जमाउनुपर्छ, अनि मात्र इन्द्रियहरु सेवक भई सेवा गर्न थाल्छन्। बदलिँदो परिस्थतिमा गल्ती हुँदा तनावले आवेगको पहाड बनाउँछ, जसबाट अप्रिय घटना निम्तिन सक्छ। यस्तो अवस्थामा तनावको आवेगलाई बाहिर पठाउने उपाय गर्नुपर्छ। नयाँ पहिरन लगाएर ऐनामा नियालेझैँ नयाँ विचारले ज्ञान र धर्ममा दृष्टि लगाउनुपर्छ। यसो गर्न सके रिस बिलाएर यथास्थितिमा आउँछ। यसो गर्दा रिसको आवेग साम्य भयो भने दैवी शक्ति भएको मान्नुपर्छ।

आज यो भौतिक संसारमा जे–जति विकासका प्रविधिहरु देखा परेका छन्, यो सब विचारकै करामत हो। रेल, हवाइजहाज, पानीजहाज, रकेट इत्यादिको निर्माण विचारबाटै भएको हो। बेन्जामिन फ्राङ्कलिनले सन् १७५२ मा ब्याट्री अविष्कार गरेका हुन्। एकचोटि अञ्जानवश बिजुली छुन पुग्दा उनलाई बिजुलीको धक्का लाग्यो। बिजुलीले धक्का लाग्नु र आकाशमा बिजुली चम्किएर चट्याङ पर्नु एकै किसिमको हो भन्ने उनलाई लाग्यो। त्यसैले बिजुलीलाई जम्मा गर्न सकिन्छ भन्ने विचारले उनी ब्याट्रीको आविष्कार गर्न सफल भए।

आज इन्टरनेटको अन्तर–जालोको माध्यमबाट विश्वको कुनाकन्दराको खबर थाहा पाउन सकिने भएको छ। यसकै माध्यमबाट लेख–रचना, समाचार आदानप्रदान प्रसारण गर्न सहज भएको छ । आफ्नो मनको कुरा दूरदराजसम्म पठाउन सकिने भएको छ। कम्प्युटर स्क्रिनबाट मुद्रण गर्न, डीभीडी हेर्न, सीडी सुन्न सकिने मात्र होइन, टाढाका आफन्तसँग अनुहार हेरेरै कुराकानी गर्न सकिने भएको छ। यो सब हुनु विचारकै करामत हो।

विचार मस्तिष्कबाट सिर्जना हुन्छ। मस्तिष्क कमजोर भयो भने मन दुर्बल हुने र विचारमा नैराश्य आउने हुन्छ। यसले गर्दा नीच विचार उत्पन्न हुन्छ। यसबाट मानसिक तनाव भई व्याकुलताले जीवन व्यतीत गर्नुपर्ने हुन्छ। त्यसैले जीवन सुखदायी बनाउन मस्तिष्कलाई प्रबल बनाइराख्नुपर्छ। यसका लागि सात्विक खानपान, असल सङ्गतका साथै सकारात्मक सोचको आवश्यकता पर्दछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्